अर्जुनधारामा पनि एचपीभी खोप लगाइने « Yalambar Times
२८ माघ २०८१, सोमबार

अर्जुनधारामा पनि एचपीभी खोप लगाइने


यलम्वर टाइम्स
१४ माघ २०८१, सोमबार १८:१४

अर्जुनधारा । नेपाल सरकारले अभियानको रुपमा सञ्चालन गरेको महिलाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अर्जुनधाराका किशोरीहरुमा पनि लगाइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आज सोमबार पालिका खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरु बीच अभिमुखीकरण गर्दै माघ २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा अर्जुनधाराले बताएको छ ।

शाखा प्रमुख मुकुन्द बस्नेतले कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने बताए ।

अभिमुखिकरण कार्यक्रममा प्रमुख बस्नेतले एचपीभी संक्रमण, कसरी सर्छ, संक्रमणका लक्षणहरुको बारेमा जानकारी गराउँदै खोप अभियानको औचित्यबारे जानकारी गराएका थिए ।

उनले अभियानलाई सफल बनाउन स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि र सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने हुँदा आ–आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरे ।

नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा महिलाहरुका लागि भीआईए परीक्षण लगायतको शिविरहरु सञ्चालन गर्नुपर्ने सहभागीहरुले माग राखेका थिए ।