खुदुनाबारीमा प्रदेश स्तरीय ‘लिम्बूनी ठूली स्मृति कप’ नकआउट फुटबल हुने « Yalambar Times
१६ माघ २०८१, बुधबार

खुदुनाबारीमा प्रदेश स्तरीय ‘लिम्बूनी ठूली स्मृति कप’ नकआउट फुटबल हुने


यलम्वर टाइम्स
१५ माघ २०८१, मंगलवार १७:०७

खुदुनाबारी । च्यारिटी युथ क्लब खुदुनाबारीको आयोजनामा प्रदेश क्लब स्तरीय ‘लिम्बूनी ठूली स्मृति कप–२०८१’ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

अर्जुनधारा–३ कैदेले स्थित प्राकृतिक रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

छोरा बाबी सुब्बासँगै अमेरिकाको न्युयोर्कमा बस्दै आएकी आइतमाया सुब्बा सुहाङको एक वर्षअघि निधन भएपछि उनको सम्झनामा बाबीसँगै सुब्बा परिवारले प्रतियोगिताका लागि टाइटल प्रायोजन गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

खेलकुदललाई विकाससँग जोड्दै प्रस्ताविक प्राकृतिक रंगशालालाई व्यवस्थित बनाउने उद्देश्यसहित हुने प्रतियोगितामा प्रदेश भरीका ८ टिमको सहभागिता रहने खेल टिम व्यवस्थापन संयोजक दिपक दुलालले बताए ।

उनका अनुसार रेडहर्स फुटबल क्लब इलाम, एपीएफ क्लब पकली, रोलिङ क्लब धुलाबारी, बुट्टाबारी युनाईटेड क्लब झापा, पथरी–११ फुटबल क्लब मोरङ, बेलडाँगी फुटबल क्लब, जलथल फुटबल क्लब झापा र आयोजक च्यारिटी युथ क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

आयोजक समितिका संयोजक सूर्य इम्बुङले प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५५५ सहित ट्रफि मेडल प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा प्लेयर अफ द म्याचले नगद ३ हजार, बेष्ट डिफेन्स, फरवार्ड, स्ट्राईकर, बेष्ट गोलकिपर र हाइस्कोररले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सो अवसरमा प्रतियोगिताको गोलाप्रथाबाट टाइसिट समेत ‘ड्र’ गरिएको थियो । प्रतियोगिताको उद्घाटन खेल माघ २७ गते रेडहर्स क्लब इलाम र बुट्टाबारी युनाइटेड क्लब बिर्तामोडबिच खेल हुनेछ ।

दोस्रो खेलमा २८ गते आयोजक र एन्ट्र पथरी ११ एफसी मोरङबिच, २९ गते बेलडाँगी एफसी दमक र जालथल एफसी झापा, ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरीबिच खेल हुनेछ ।

आयोजक समिति सचिव मदन गिरीले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. ३ का अध्यक्ष सीताराम भट्टराई, जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने स्वागत र औचित्यमाथि प्रकाश च्यारिटी युथ क्लबका अध्यक्ष लीलाबल्लभ खतिवडाले गरेका थिए ।