बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ ।
अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गरिने भएको हो ।
झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका सुब्बालाई पुरस्कार छनौट समितिको सिफारिसमा निर्णय गरिएको फोनिज झापाका अध्यक्ष भूमिका फियाकले बताइन् ।
पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको फोनिज झापाको पाँच सदस्यीय पुरस्कार छनौट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । सुब्बा राष्ट्रिय समाचार समिति (रासस)का सम्वाददाताका रूपमा कार्यरत छन् ।
त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए ।
योञ्जनका अनुसार फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनौट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि २ जना प्रतिभा छनौट गरिएको हो ।
स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ रहेको फोनिज झापाले जनाएको छ भने उदीयमान पत्रकारिता पुरस्कारको राशि ५–५ हजार रूपैयाँ रहेको छ ।
३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।