[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]
२०४८ सालपछिको स्थानीय चुनाव पश्चात बनिएको जनप्रतिनिधिहरुको कार्य परिधि कति थियो ? कुन धरातलमा टेकेर कति कार्य गरेका थिए त्यो मेरो आंकलनमा छैन । मलाई यति थाहा छ त्यस समय २ कार्यकाल स्थानीय सरकारको मातहतमा गाविस सञ्चालनमा थियो । त्यस समय श्री ५ सरकारको प्रत्यक्ष मातहतमा देश चलिरहेको थियो । सीमित बजेट, गाविसको सीमित वडा । तत्कालिन सरकारले कति बजेट स्थानीयस्तरमा पठाउँथ्ये त्यो मलाई जानकारीमा नरहे पनि हिजोआज कहिकतै एउटा गाविसमा २४ देखि ५० हजारसम्म विनियोजित हुन्थ्यो भन्ने कथा सुनेको हो । तर, सौभाग्य भनौं या दुर्भाग्य २०५२ सालबाट माओवादी जनयुद्धको झिल्को सल्कन थाले पश्चात स्थानीय तह पंगु भएको थियो । बिना स्थानीय जनप्रतिनिधि केवल कर्मचारीको भरमा गाविसबाट स्थानीयस्तरको कार्यहरु सञ्चालनमा आइरहेको अवस्थामा गाविस भरी भौतिक पूर्वाधारका कार्यहरु ठप्प थियो । यदाकदा छिटफुटको रुपमा विकासको कार्य भइरहे पनि जनताको अपेक्षा अनुसार पूर्वाधारको काम नगन्य नै थियो ।
कहिकतै विकासका कार्य सञ्चालनमा रहे पनि माओवादीको तर्फबाट अवरोध भइरहेको थियो । कहिकतै निर्माण सम्पन्न भएका पनि माओवादी र तत्कालिन शाही सेनाको मुडभेठका कारण ध्वस्त पनि भएका थिए । यस्तो लाग्थ्यो ५२ देखि ६२ सालसम्म देश एकै ठाउँमा उभिरह्यो । त्यस अवधिमा न देशले विकासको लहर देख्यो न जनताहरुले विकासको अनुभूति पायो । १० वर्षे जनयुद्धको प्रतिफल भनौं या देशका सम्पूर्ण जनताहरुले १९ दिन सडकमा उत्रिएर गरेको आन्दोलनले हो देशले निकास पाए जस्तो भान भयो । राजाले गद्धी छाड्न विवश भए । संविधानसभाको चुनाव भयो । तर, पनि देश अझै उन्मुक्त पाराले खुल्न सकेको थिएन । जब दोस्रो संविधानसभाको चुनाव भयो तब मात्र देशले आफ्नो प्वाँख फैलाउने वातावरण बन्यो ।
त्यसको प्रतिफल जनताहरुले प्रत्यक्ष तरिकाले स्थानीय सरकार छान्ने मौका पाए । फलस्वरुप ०७४ सालमा स्थानीय चुनावका लहरका साथ नेपाली जनताले स्वतः स्फूर्त रुपमा चुनावमा भाग लिएर हाम्रोलाई भन्दा राम्रोलाई चुनेर प्रत्येक वडामा पठाए । ति जनप्रतिनिधिहरु मध्येमा म पनि एक वडाको जनप्रतिनिधिको रुपमा चुनिएको हो । देशमा त्यतिका वर्ष विकासे कार्य ठप्प भएर जनतामा काकाकुलको अवस्था रहेको समयमा देशमा आएको गणतन्त्रको पहिलो स्थानीय सरकारको सामुन्ने विकासका चुनौतिहरु सगरमाथाझै चुलिएको थियो । त्यस्तोमा स्थानीय सरकार सञ्चालनका लागि अपरिहार्य चाहिने कानुन बन्न आवश्यक थियो । स्थानीय सरकारको मातहतमा बनाउनुपर्ने विधेयकहरुको रित्तो बाकसले पहिलो जनप्रतिनिधिहरुलाई चुनौतिको रुपमा तेर्सिएको थियो । यस्तोमा हामी जनप्रतिनिधिहरु बिना हिचकिचाहट नआत्ती आफ्नो कर्म निभाइरहेका थियौं । चुनौति त्यो मात्र थिएन, वर्षौदेखि शुन्य रहेका पूर्वाधारका कार्य लगायत संघबाट तोकिएका स्थानीय सरकारले गर्नुपर्ने अनेकौं विषयगत समस्याहरुतर्फ पनि निर्मूलका लागि निरन्तर अगाडि बढीरह्यौं ।
गणतन्त्र प्राप्ति पश्चातको पहिलो स्थानीय जनप्रतिनिधिको रुपमा चुनिए पनि हामीमा दम्भको हावाले छोएन । हामी एक राजनीति पार्टीबाट प्रतिनिधित्व गरेर गएको भए पनि हामीले राजनीति रंग छरेनौं । किनकी जनप्रतिनिधि भनेको नगरपालिकाभित्रका जनताको एक प्रतिनिधिमात्र भएर कार्य गरेका थियौं । जनप्रतिनिधिमा संयम, धैर्य र शालिनता हुनुपर्दछ । वडाका प्रत्येक नागरिकका लागि हामी निमित्त कार्यकर्ता मात्र हुनपर्दछ । राजनीतिक विभेदबाट टाढा बस्न सक्नुपर्दछ । जनप्रतिनिधि कुनै जागिर होइन, यो त जनताहरुले आफ्नो लागि एक अभिभावकको रुपमा मात्र निर्वाचित गरेको हो भन्ने हेक्का राख्नुपर्दछ । तर यो दोस्रो स्थानीय चुनावबाट चुनिएका केही जनप्रतिनिधिहरु मध्ये केही मात्राका जनप्रतिनिधिहरुमा दम्भ र शासकको छायाँ देखिएको छ । वडाका जनताका प्रतिनिधि हुनुपर्नेमा उनीहरु आफ्नो पार्टीको कार्यकर्ताका लागि मात्र अभिभावकको रुपमा कार्य गरिरहेको देखिन आएको छ । उनीहरुले भौतिक पूर्वाधारका कार्यहरुलाई दिइरहेका छन् तर भेदभाव तरिकाले कार्य क्षेत्र तोकेर निर्माण कार्य भइरहेको जगजाहेर छ । हुन सक्छ उहाँहरुको दृष्टिकोण सही होला, मूल्याङ्कन सही होला, तर नगरभरी सुनिएको गुनासोलाई पनि नजरअन्दाज गर्न सकिदैन नि !
अब उहाँहरुले बुझ्ने प्रयास गर्न जरुरी छ कि जनप्रतिनिधि पद कुनै जागिर होइन । यो त नगरपालिका भरिका जनताले प्रतिनिधित्व गर्न मात्र जनप्रतिनिधिको रुपमा चुनेर पठाएको पात्र हो । सरकारी कार्यालयमा जागिर खाने कर्मचारी र जनप्रतिनिधिमा आकाश जमिनको अन्तर हुन्छ । कर्मचारीहरु जीवनभर आफ्नो जागिर पश्चात निश्चित समयमा सेवा निवृत्त हुन्छन् । तर, जनप्रतिनिधि भनेको सीमित समयका लागि करारमा रहेको सरह मात्र हुन्छन् । सीमित समयभित्र राम्रो कार्य गरेपछिको परिणाम सुखद हुनुपर्दछ । आफ्नो कार्यकालमा सम्मान दिने व्यक्तिहरुले आफ्नो कार्य अवधि समाप्त भए पश्चात पनि सम्मान दिइरहने वातावरण बनोस् । न कि कार्य अवधि पश्चात हिजो सम्मान गर्ने व्यक्तिले आँखा तरेर भुईंमा प्याच्च थुक्न नपरोस् । अनि गाउँका जनता चौतारामा भेला भएर आयु नै घट्ने गरी आलोचना गर्ने वातावरण बनोस् ।