अर्जुनधारा । अर्जुनधारा–११ सालबारी स्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव बुधबारदेखि सुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा भएको वार्षिकोत्सवको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख पराजुलीले यस क्षेत्रको शैक्षिक विकासमा महारानीगञ्जको महत्वपूर्ण भूमिका रहेको बताइन् । विद्यालयले समयमै सरोकारवालाहरुको उपस्थितिमा समाजिक परीक्षण गरी आर्थिक रुपमा पारदर्शी बनेकोमा प्रशंसा गरे ।
तीन दिनसम्म हुने वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समयमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए ।
यसरी सम्मानित हुनेहरुमा पूर्व शिक्षक–अभिभावक संघ अध्यक्ष प्रेमराज इङ्नाम, सदस्य इन्दिरा गिरी रहेका छन् । उनीहरुलाई उपप्रमुख पराजुलीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेकी थिइन् ।
यस्तै रोहितकुमार भट्टराईद्वारा स्थापित सूर्य–देवी उत्कृष्ट शिक्षा पुरस्कारबाट कक्षा ५ मा अध्ययनरत छात्र सौगात गौतमलाई नगद तीन हजार एक सयसहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । पुरस्कार भट्टराईका बुबा सूर्यप्रसाद भट्टराई र आमा देवीमाया भट्टराईले प्रदान गरेका थिए ।
यस्तै शिक्षा सेवाबाट स्वेच्छिक अवकाश लिएका शिक्षक खगेन्द्र चौहान बिदाइ गरिएको थियो ।
यसरी नै सोही अवसरमा विद्यालयले व्यवस्थित मञ्च निर्माणका लागि शिलान्यास गरेको छ । उपप्रमुख पराजुलीले विधिवत् रुपमा भूमि पुजन गर्दै मञ्चको शिलान्यास गरेकी थिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रोहितमान ढकाल, लभकुश गौतम, शिक्षक अभिभावक संघ अध्यक्ष सूर्यप्रसाद भट्टराई, पुण्य सुवेदी, लक्ष्मी तामाङ, शिक्षा शाखाकी समिरा दाहाल, चन्द्रप्रसाद सुवेदी लगायतको आतिथ्य रहेको थियो ।
विद्यार्थीले स्वागत नृत्य, पीटी प्रस्तुत गरेको कार्यक्रममा शिक्षक सूर्यप्रसाद सापकोटा स्वागत तथा सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चम्लगाईले गरेका थिए ।