शहीदको सपनाको बाधक सामन्ती सोचः दर्लामी « Yalambar Times
१० फाल्गुन २०८१, शनिबार

शहीदको सपनाको बाधक सामन्ती सोचः दर्लामी


यलम्वर टाइम्स
२ फाल्गुन २०८१, शुक्रबार १८:३२

सालबारी । पूर्व राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामीले अझै पनि सामन्ती राज्य व्यवस्थाकै कारण शहीदहरुले देखेका सपना पूरा हुन नसकेको बताएका छन् ।

शुक्रबार अर्जुनधारा–९ र ११ बीचमा रहेको सालबारी स्थित नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको १४८ औं स्मृति दिवसमा प्रमुख अतिथि समेत रहेका दर्लामीले लखन थापाले सामन्ती शासकसँग लडेको कथा केशव सूर्यवंशीबाट थाहा पाएपछि त्यसबेलाको सत्ता र वर्तमान दुई ठूला दलबाट सञ्चालित सत्तामा कुनै फरक नपरेको प्रस्ट्याउँदै त्यसका विरुद्ध एक जुट हुनुपर्ने बताए ।

कृषि राज्यमन्त्री समेत भएका दर्लामीले शहीद थापाले गरेको त्याग, समान विचार, समान अधिकार भएको हुँदा सामन्ती सोच बोकेका दलहरुप्रति सचेत रहनुपर्ने धारणा राखे । कार्यक्रममा विशेष अतिथि हरिकुमार रानाले हामी समान व्यवहार र समान अधिकारका कुरा गर्छाैं तर, बुर्जुवा विचार बोकेकाहरु सम्पत्ति कसरी आर्जन गर्ने भन्ने दाउमा रही आएको हुँदा नेपालमा भ्रष्टाचार बढेको बताए ।

कार्यक्रममा विशेष अतिथि मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीले प्रथम शहीद लखन थापाले गरेको संघर्षको विषयमा आफ्ना भनाइ राखेका थिए । सूर्यवंशीले लखन थापाले जहानीय राणा शासनसँग टकराव गर्दा गोरखामा लगेर झुण्ड्याइएको मर्मस्पर्शी कथा सुनाएपछि सभानै सुनसान बन्यो ।

कार्यक्रममा लखन थापा को हुन् ? किन प्रथम शहीद घोषणा गरियो ? र उनले देखेको सपना के थियो ? भन्ने विषयमा प्रखर वक्ता तथा मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीले प्रस्ट्याएका थिए ।

विशेष अतिथिका रुपमा आमन्त्रित सूर्यवंशीले संगठित भएर शहीद थापाको स्मृति दिवस मनाउन पाउँदा हामी गौरवान्वित छौं तर, राज्य सत्ता हिजो पनि बहिरो थियो र आज पनि बहिरो भएको कारण प्रथम शहीद थापाको स्मृति दिवसमा राज्यले सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए ।

कार्यक्रममा मगर संस्थाको गरिमा उच्च पार्नका लागि खेलेका अर्जुनधारा–७ निवासी लालबहादुर अस्लामी मगर, अर्जुनधारा–२ निवासी अम्बरबहादुर समाल मगरलाई प्रमुख अतिथि झलकसिंह दर्लामीको हातबाट सम्मान प्रदान गरिएको थियो ।

यसरी नै क्याप्टेन लखन थापाको शालिक निर्माणका लागि आर्थिक सहयोग गरे वापत बिनिता–केशव तामाङ र कमला खपाङ्गीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम गर्नुअघि प्रमुख अतिथि झलकसिंह दर्लामी र विशेष अतिथि पूर्व नगर प्रमुख हरिकुमार रानाले क्याप्टेन थापाको शालिकमा पुष्प अर्पण गरेका थिए ।

बृहत सहभागिताका साथ भएको स्मृति दिवसमा वडा नं. ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, मगर महिला संघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए भने चन्द्र राना ‘लाफा’ ले व्याज सौजन्य गरेका थिए ।

मगर संघ झापा जिल्ला अध्यक्ष विकास थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मनोज रैका मगरले गरेका थिए भने कार्यक्रमको बीच–बीचमा आकर्षक नृत्य प्रस्तुत भएको कार्यक्रम सञ्चालक सुनिल थापाले बताए ।