अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न टोल स्तरीय एक दिवसीय यू–१३ नकआउट फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर टोलले जितेको छ ।
लक्ष्मीपुर बिहीबारे बजार पूर्व खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा २ नम्बर टोललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
जितसँगै उसले नगद रु. ७ हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको टोल नं. २ ले नगद रु. ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको ८ औं मिनेटमा टोल नं. ७ का आकाश मणिले गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित समयसम्म दुवै टिमबाट थप कुनै गोल नहुँदा मणिको गोल नै निर्णायक बनेको थियो ।
प्रतियोगितामा म्यान अफ दि सिरिज सन्देश लिम्बू भए भने म्यान अफ दि म्याच आकाश मणि भए ।
यस्तै सोही दिन आधारभूत विद्यालय कञ्चनबारीको खेल मैदानमा भएको टि–१० खुला क्रिकेट प्रतियोगिताको उपाधि १ नम्बर टोलले कब्जा गरेको छ ।
उसले ६ नम्बर टोललाई फाइनल खेलमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधि जितेसँगै टोल नं. १ ले नगद रु. १० हजारसहित आर्कषक ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
उता उपविजेतामा सीमित बनेको टोल नं. ६ ले नगद रु. ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
खेलकुद विकास समितिका संयोजक विद्यानन्द चौधरी ‘बाबा डीआर’ को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष गीताराज खड्का रहेका थिए ।
अर्जुनधारा वडा नम्बर ५ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा वडा सदस्यहरु लक्ष्मी खनाल, अर्जुन कडेल, बक्सिङ संघ झापाका अध्यक्ष युवराज खड्का, टोल संयोजकहरुको आतिथ्य रहेको थियो ।
समितिका सचिव राम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुवास घिमिरेले गरेका थिए ।