नेपाली समाजमा जनयुद्ध भन्ने शब्द सुरुसुरुमा कहाली लाग्दो शब्द भएतापनि यति बेला सुनौलो र परिवर्तनको मुख्य द्वार भएको शब्द भनेर परिभाषित हुँदै गएको छ । मुलुकमा प्रजातन्त्र त आयो तर नेपाली जनताले अझै पनि भनेको जस्तो अधिकार सत्तामा समान सहभागिता, दलित, महिला, आदिवासी जनजाति, सुकुम्बासी र अल्पसंख्यकहरुलाई अगाडि बढाउने नीति नभएकै कारण आजभन्दा ३० वर्ष अगाडि जनयुद्धबाटै सबैथोक प्राप्त हुन्छ भन्ने संकल्पबाट जनयुद्ध प्रारम्भ भयो । फलतः नश्लीयत चिन्तन बोकेका सत्ता र जीवित राजतन्त्रलाई फ्याँकेर लोकतन्त्रीक गणतन्त्रको उदय गरायो ।
जनयुद्धमा हजारौं युवाहरुले आफ्नो जीवन कुर्वानी गरेरै गणतन्त्रको उदय गराउने ती महान शहीदहरुप्रति राज्यले अझै सम्मान र सहयोग गर्न सकिरहेको देखिदैन । कतिलाई जनयुद्ध भन्ने शब्द पनि पच्न सकिरहेको पाइदैन तर गणतन्त्र स्थापनामा पछि सत्तामा नेकपा एमाले, नेपाली कांग्रेस लगायत दलहरुलाई रमाउने र सत्ता सञ्चालन विधिमा पुर्याउने खुड्कीलो जनयुद्धबाटै प्राप्त फल हो भन्न नसक्नु दुर्भाग्य बन्दै गइरहेको छ । अधिकार युद्धबाटै स्थापित हुन्छ । चाहे सोभियत संघको भिषण आन्दोलन भनौं चाहे कुनै पनि देशमा भएको परिवर्तन कै आन्दोलन भनौं । नेपालमा पनि परिवर्तनका लागि नेपाली जनताका सन्तानले टाउकोमा कपन बाँधेर बन्दुक नउठाइ दिएका भए आज सत्तामा न दलित पुग्न सक्थ्यो न त मधेस, जनजाति र महिला नै ?
परिवर्तनको जग जनयुद्ध नै हो भन्ने सबैको मनसपटलमा बस्दै गएको हुँदा नेपाली जनताले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा लैजान सक्नुपर्छ । एकता दिवस, प्रजातन्त्र दिवस लगायत थुप्रै दिवस मनाउन सक्ने नेपाली जनताले जनयुद्ध दिवस सहज रुपमा पचाउन सक्ने तागत छ । त्यसलाई जो कोही सत्तामा रहेका दलहरुले राष्ट्रिय दिवसको रुपमा लैजान सक्नुपर्छ । यो नै गणतन्त्रको सम्मान हो । तर, गणतन्त्र दिवस रमाउन सक्ने जनयुद्ध दिवसलाई अपहेलना गर्नु भनेको जन्म दिने ममताप्रति अपहेलना गरेको भन्ने भान पैदा हुन्छ । त्यसो हुन दिनुहुँदैन ।