बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट पुरस्कार यस वर्ष भारत कालेबुङका राजेन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।
बिर्तामोडस्थित संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा २०८० सालमा प्रकाशित वर्षोत्कृष्ट कृतिमध्ये उत्कृष्ट कृति सिर्जना सन्दर्भका कृतिकार भण्डारीलाई वर्षोत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । उनीसँगै विभिन्न चार विधाका चार जनालाई पुरस्कार प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विष्णु चन्द्र पद्मा प्रतिभा पुरस्कारबाट बहुप्रतिभावान व्यक्तित्व बिर्तामोडका लीला उदासी, धनमाया वर्षोत्कृष्ट पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र कलम–पर्शु पुरस्कारबाट दृष्टिविहिन खेम रेग्मीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
पुरस्कृत व्यक्तित्वलाई प्रमुख अतिथि भण्डारी, अतिथिहरु खगेन्द्र प्रसाई, संस्थाका अध्यक्षसहितले सम्मान पत्र, दोसल्ला र नगद राशीद्वारा सम्मान गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।
वर्षोत्कृष्ट कृति, विष्णु चन्द्र पद्मा सम्मान तथा धनमाया पत्रकारिता पुरस्कारको राशी जनही २५–२५ हजार रहेको छ भने कमल–पर्शु पुरस्कारको राशी ११ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि प्रसाई, पुरस्कृत व्यक्तिहरु लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सम्मानित प्रतिभाहरुको सम्मान पत्र केशव आचार्य, गौतम शर्मा शिवाकोटी, जोस्ना श्रेष्ठ र खिलप्रसाद शिवाकोटीले वाचन गरेका थिए ।
पुरस्कृत प्रतिभाबारे संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले प्रकाश पारेको कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गरेका थिए भने कार्यक्रमको सञ्चालन गौतम शर्मा शिवाकोटीले गरेका थिए ।
सो अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले कविता वाचन गरेका थिए ।