प्रधानमन्त्री ओली आत्तिनु भयोः नेता वर्षमान « Yalambar Times
१० फाल्गुन २०८१, शनिबार

प्रधानमन्त्री ओली आत्तिनु भयोः नेता वर्षमान


यलम्वर टाइम्स
९ फाल्गुन २०८१, शुक्रबार १८:४५

अर्जुनधारा । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीको नाइके भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् ।

शुक्रबार माओवादी नेता हरिकुमार रानाको निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । हालै पार्टी अध्यक्ष प्रचण्डले ओलीको गृह नगर दमक पुगेर पाँच सयभन्दा बढी पार्टी प्रवेश गराएको खबर सुनेपछि प्रधानमन्त्री ओली पश्चिममा पुगेर बर्बराउँदै माओवादीहरु राजावादी भए भन्नु गलत भएको तर्क दिँदै ओली राजा बोक्ने पार्टी राप्रपाबाट विजय भएको हुँदा उनी राजावादी कि माओवादी ? प्रतिप्रश्न राखे ।

‘प्रधानमन्त्री ओली एमाले पार्टीको अध्यक्ष भएपछि उनको कार्यकर्ता नै रणभूल्लमा पुगेका छन्’ नेता पुनले भने, ‘ओली भन्छन् एउटा, गर्छन् अर्कै ।’

उनले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै हिजो गणतन्त्र ल्याउनुपर्छ, मिलेर लडौं भन्दा बयल गाडामा चढेर अमेरिका पुग्न सकिदैन भन्ने अनि राम जानकीको फोटो बोकेर चितवन तिर अयोध्या खोज्दै हिडेको व्यक्ति भएकाले छोटो समयमा ओली जीलाई राम्ररी पहिचान गरेका छौं । त्यसैले प्रधानमन्त्री ओलीको बोलीमा दम नभएको बताए । माओवादीलाई राजावादीको ट्याग लगाएर बर्बराउनु शारीरिक रुपमा निको नभएको नेता पुनले थपे ।

पूर्व अर्थमन्त्री समेत रहेका पुनले पछिल्लो समयमा नेकपा माओवादी केन्द्र जनताको आशाको रुपमा देखिएको बताउँदै छोटो समयमा भ्रष्टाचार, नातावाद र राज्यको सम्पत्तिलाई रोक्न पार्टी सरकारमा हुँदा गरेको प्रयासको प्रतिफल भएको बताए ।

उनले जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै माओवादीलाई साथ दिन पूर्व सहयोगीहरु, स्वतन्त्र नागरिक र सच्चा देशझक्तहरु माओवादी केन्द्रमा जोडिदै जानु भएको छ । त्यसका साथै पहिचान पक्ष र दलित, आदिवासी, मधेसी र महिला हकको भरोसा पनि माओवादी केन्द्र भएकै कारण ०८४ मा यो पार्टी जनताको पार्टी बनाउन जनता आफै जुटेको बताए ।

नेता पुनले ताप्लेजुङको केवलकार बनाउने विषयमा पार्टीको धारणा अध्यक्ष प्रचण्डले नै संसदमा बोल्नु भएको बताउँदै स्थानीय पहिचानलाई संरक्षण गर्नुपर्छ । मुकुम्लुङ हजारौं लिम्बू किरातीहरुको आस्थाको धरोहर भएको हुँदा एउटा जातिको आस्थालाई तोडमोड गरेर एउटा व्यापारी रिझाउने काम राम्रो होइन । त्यसलाई इतिहासले धिकार्ने बताए ।

अर्जुनधारा–११ स्थित राना निवासमा नेता पुनसँग केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी, माननीय दुर्गा चम्लगाई, ज्योतिसिंह दर्लामी, प्रदेश सहइन्चार्ज रोशन कन्दङ्वा, पार्टी अर्जुनधारा अध्यक्ष नारद तामाङ, प्रदेश सदस्य मणि राई, बिरेन्द्र बस्नेत लगायत उपस्थित रहेका थिए ।

सोही दिन नै नेता वर्षमान पुनले गौरीशंकर खड्काको १४ औं स्मृति दिवसलाई सम्बोधन गरेका छन् । नेता पुनले झापाबाट माओवादी केन्द्रलाई स्थापित गर्न गौरीशंकर खड्काले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

यसरी नै शुक्रबारै नेता पुन दमक नगरका पार्टी नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्न पुगेका थिए ।