मुकुम्लुङ शिरमा चढेर पैसा कमाउने सपना बन्द गर « Yalambar Times
१० फाल्गुन २०८१, शनिबार

मुकुम्लुङ शिरमा चढेर पैसा कमाउने सपना बन्द गर


यलम्वर टाइम्स
१० फाल्गुन २०८१, शनिबार ०८:५६

वास्तवमा यतिबेला पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा सरकार र जनता बीच केवलकारको विषयलाई लिएर दैनिक जसो झडपसँगै अश्रु ग्यास र गोली चल्न थालेको छ । सरकारको विपक्षमा रहेको प्रतिपक्ष दलले जनताको भावनालाई सम्मान गर्न भनी सरकारलाई सुझाव दिइरहेको बेला सुझावलाई पैतालामा राखेर केवलकारसँगै निर्माणकर्ता चन्द्र ढकाललाई रिझाउँदै प्रहरी प्रशासन तैनाथ गरिएको देखिन्छ । हिमाली भेगमा बसोबास गर्ने आदिवासीहरुले आफ्नो मुन्दुमभित्र रहेको आस्थाको धरोहरलाई पैसा कमाउने बहानमा शिरमा चढेर लत्याएको हो भन्दै केवलकार मुकुम्लुङमा नभई अर्को क्षेत्रमा लैजान आग्रह गरिरहेको देखिन्छ ।

मुन्दुममा उल्लेख भए अनुसार श्रृष्टिकर्ताको छोरा जेठा सिकारीको शरीरबाट मुकुम्लुङ, फक्तालुङ, सेसेलुङ बनेको हुँदा यो हाम्रो संस्कारभित्र पर्छ सरकार भन्दै आदिवासी जनजातिको सभ्यता र पहिचानका साथै धार्मिक आस्था भएको हुँदा दमन नगर्न र केही व्यक्ति र व्यापारीको पक्षमा नभइ जनताको भावनामा लाग्न आग्रह गरिरहेको देखिन्छ । तर, जनताको आग्रह र चित्कारलाई मोटो रकमले ढपक्क छोपोको हुँदा यतिबेला ताप्लेजुङको काफ्ले पार्टी तनाव ग्रस्त बन्दै गएको पाइन्छ ।

धार्मिक दृष्टिकोणले ताप्लेजुङको मुकुम्लुङ (पाथीभरा) एसियाकै उत्कृष्ट गन्तव्य मध्ये एक हो । उच्च पहाडमा देवीको बास हुनु धार्मिक दृष्टिकोणले उत्तम र शुभ मान्छि । ऐतिहासिक मुन्दुमी धार्मिक थलो भएको हुँदा जो कोही मानिस पुग्न र रमाउन चहान्छन् । विशेषगरी भारतीय नागरिकहरुको गन्तव्य धार्मिक स्थल हुन पुगेको छ । त्यसैले छोटो समयमा थुप्रै भेटी संकलन हुने गरेको छ । यस्तो रकम संकलन हुने ठाउँमा व्यापारीहरुको गिद्धेदृष्टि हुनु स्वभाविक नै हो तर सरकार पनि व्यापारी शैलीमा प्रस्तुत हुँदै जनताको भावना विरुद्ध एकोहोरो लाग्नुले सरकारप्रति नै शंका–उपशंका उब्जाएको छ । यदि त्यसो हो भने समाधानको बाटोमा पुग्न सकिदैन । ०७२ को संविधानले नै संरक्षित क्षेत्रलाई अझ संरक्षण गर्दै लानुपर्ने उल्लेख हुँदाहुँदै आदिवासीको भावनालाई कुल्चिएर समाधान हुँदैन । बेलैमा सचेत हुन जरुरी छ सरकार ।