सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)
यो मेरो बाघे झाप्पुका कारण जन्मिएको निर्माण मजदुरहरुको हितको लागि स्थापना भएको संगठन आजको मितिसम्म मजदुरहरुको हौसला र अर्थ सहयोगले निरन्तरता पाइरहेको छ । त्यसैको प्रतिफल माघ २५ गते क्यूपेक नेपाल अर्जुनधारा नगर कमिटिले छैठौं अधिवेशन सम्पन्न गरेको छ । अझ थप हौसला र जाँगरका साथ नयाँ–नयाँ मजदुरहरु यस कमिटिमा आवद्ध भइ नगरभरीका निर्माण मजदुरहरुका हक हितका लागि केही गरौं भन्ने अठोट लिइ नयाँ कमिटि चयन गरिएको छ । अरु कुरा समयले बताउला तर आजको मितिमा यस नयाँ समितिलाई हौसलाका साथ कार्य गर्न सकोस् र यस नगर क्षेत्रभित्र रहेर कार्य गर्ने निर्माण मजदुरहरुले संविधानमा उल्लेखीत भए बमोजिमको हक, अधिकार प्राप्त गर्न सकोस् भनी शुभकामना दिन चाहन्छु ।
प्रसंग यहाँबाट प्रारम्भ हुन्छ, नेपालमा प्रजातन्त्र बहाली पश्चातको सरकार बनिएसँगै भुटानबाट गैर नेपालीहरुलाई विस्थापित गरिएपछि पहिलो चरणमा कनकाई नदीको बगरमा राखियो । जब वन राज्य मन्त्री बीरमणि ढकाल ज्यूले खुदुनाबारीको कैदले जंगलमा पुनर्वासको लागि बाटो खोलिदिनु भयो । त्यस पश्चात भुटानबाट शरणार्थीहरुको लर्को लागेर आयो । एवम् रुपले टिमाई, गोलधाप, बेलडाँगी र पथरीमा पनि शरणार्थी क्याम्पमा त्यस समय वैदेशिक सहायताका लागि कैयौं एनजीओ र आईएनजीओहरु त्यसमा आवद्ध भए । त्यसमा खाना, बसोबास, शौचालयदेखि शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउँदै आएका थिए । यतिभन्दा उपयुक्त होला कि शरणार्थीहरु आफ्नो जन्म घरको आँगन र आफ्नो देश छाड्नुको पीर बाहेक अन्य केही अभाव थिएन । अरु केहीको अभाव थियो त के भने दुई छाक मासु भात खानका लागि मात्र ।
उनीहरु पुनर्वासको केही महिनासम्म क्याम्पभित्रबाट बाहिर गाउँतर्फ निक्लिएका थिएनन् । गाउँतर्फ रोजगार र मेलापातका लागि बन्देज थियो । तर त्यसको केही समय पश्चात उनीहरु फाट्टफुट्ट रुपमा गाउँतर्फ कृषि क्षेत्रमा रोजगार गर्न निस्कन थाले । विस्तारै विस्तारै उनीहरुको संख्या बढ्दै गयो । स्थानीय कृषि मजदुरहरुले प्राप्त गर्ने रकमभन्दा आधा रकममा नै उनीहरु काम गर्न थाले । त्यसकारण स्थानीय कृषि मजदुरहरु अन्य पेशातर्फ पलायन हुन थाले । एवम् प्रकारले उनीहरु निर्माण क्षेत्रमातर्फ पनि कदम चाल्न थाले । हामी स्थानीय निर्माण मजदुरहरुभन्दा आधा ज्यालामा उनीहरु काम गर्न थाले । कृषि मजदुरहरु जस्तै हामी निर्माण मजदुरहरु पनि विस्थापित हुने अवस्थामा आउन थाल्यौं । उनीहरुलाई बाटोमा रोकेर ‘हाम्रो बराबरको ज्यालामा काम गर’ भनेर धेरैलाई सम्झायौं तर, उनीहरुले एउटै जवाफ दिन्थे ‘हामी खान लगाउनका लागि होइन आफ्नो बालबच्चाको लागि दुईछाक मासु खुवाउन लागि मात्र काम गरेका हौं ।’ जब हदले सीमा नाघ्छ तब आक्रोश बढ्छ । त्यसैको फलस्वरुप सबैभन्दा पहिला मेरो पहलमा ३०–४० जनाको गालामा मेरो पञ्जाको बाघे झाप्पु पर्यो । अनि तिनीहरुले बेच्न ल्याएका दाल, लसुन र तेल पनि त्यसैको कोप भाजनमा पर्यो । यस्तै कार्य केही महिना चले पश्चात यसको समस्याको हल गर्ने हेतुले २०५२ सालमा हामी स्थानीय निर्माण मजदुरहरुको सानो भेलाबाट नजरु सेखको घरमा सानो आकारको मजदुर संगठनको जन्म भयो । त्यस संगठनको नाम ‘स्वतन्त्र निर्माण मजदुर संगठन’ नामाकरण गरियो ।
हामी निर्माण मजदुरहरुको हकहित र कार्यस्थल सुरक्षा सम्बन्धि ज्ञान र कार्यालय अनि संगठन सञ्चालन सम्बन्धि जानकारी दिन दमकबाट अन्तलाल धिमाल भन्ने व्यक्ति आउनुहुन्थ्यो । उहाँबाट धेरै ज्ञानगुनका आवाज पोखियो । खुला आँगनको कार्यालयमा भाषण धेरै गुञ्जियो । त्यसको परिणाम त्यो ‘स्वतन्त्र निर्माण मजदुर संगठन’ क्यूपेक मा परिणत भयो । हामीलाई थाहा भएन कि त्यो नाम किन र कसरी परिवर्तन भयो । हामीले पनि नयाँ नाम ‘क्यूपेक’ लाई सहर्ष स्वीकार्यौ ।
‘क्यूपेक नेपाल’ को अस्तीत्वको बारेमा हामी अनभिज्ञ थियौं । गाउँ समितिसम्म त ठीकै थियो । तर, केही समय पश्चात म ‘क्यूपेक’ को क्षेत्रीय कमिटिमा चयन भएँ तब मात्र मलाई पूर्ण जानकारी भयो कि यो ‘क्यूपेक’ भन्ने संगठन एउटा राजनीति पार्टीको भातृ संगठन रहेछ भनेर । तर पनि हामी निर्माण मजदुरहरुको हक, हित र अधिकारको प्राप्तिका लागि केही वर्षसम्म त्यहि संगठनमा रहेर कार्य गरियो । जब एक समय आयो चौबाटोमा उभिएपछि एक दिन आफ्नो घर फिर्नैपर्छ । त्यही अनुरुप म क्यूपेकबाट अलग भएर वैदेशिक रोजगारका निम्ति खाडीतर्फ लम्किएँ ।
यहाँ लेख्न खोजिएको विषय पार्टीगतका भातृ संगठनको विषयमा मात्र होइन । भातृ संगठन भन्ने बित्तिकै कुनै न कुनै पार्टीको संगठन मान्नु पर्दछ । हरेक क्षेत्रमा आ–आफ्ना पार्टी अनुसारको भातृ संगठनको कार्यालय खोलिएको छ । तर देशभर आफ्नो आफ्नो भातृ संगठन खोलिए पनि सबै क्षेत्रको आफ्नै छाता संगठन पनि छ । मैले यहाँ हामी सबै निर्माण मजदुर संगठनको महानुभावहरुलाई आग्रह गर्न चाहान्छु कि हाम्रो असंगठित निर्माण क्षेत्रको पनि एउटा बलियो छाता संगठन निर्माण गर्न आवश्यक ठानेको छु । हामी अर्जुनधारा नगरभित्रका निर्माण मजदुर संगठनका भातृ संगठनहरु मिलेर २०७५ साल ताका एउटा छाता संगठन सरह ‘संयुक्त निर्माण मजदुर संगठन’ गठन गरेका थियौं । त्यसमा ‘काउन’, ‘क्यूपेक’, ‘एन्डिफन’ र अखिल मिलेर गठन भई स्थानीय सरकार समक्ष दोहोरो वार्ता गथ्र्यौं । त्यसले अर्जुनधारा नगरपालिकाभरी सीमित नियम लागू गरेर आफ्नो कार्य क्षेत्र सुरक्षित गरेका थियौं । तर संगठनका लागि हामी मध्ये कोही कसैलाई यो कार्य पचेन जस्तो लागेछ र त्यो संगठनलाई तुहाइदिने कार्य गर्यो । त्यो दिन र यो दिनको मजदुरहरुको अवस्था देख्दा त्यो दुष्कार्य हामी निर्माण मजदुरहरुका लागि दुर्भाग्यको कारण बन्यो ।
सायद मेरो यो लेख कसै–कसैलाई नपच्न सक्छ तर वास्तविक कुरा के भने यसरी मजदुर संगठन बनाएर कुनै अमुक पार्टीको भोट बैंक मात्र बन्नु हो भने हामी मजदुरहरुको सौभाग्यको दिन सायद कहिले आउला । संगठन चलाउनु राम्रो हो तर सगठनको नाममा पार्टीको झोला र झण्डा बोक्नु दुर्भाग्य मात्र होइन आफूले आफैलाई गुलाममा परिणत गर्नु हो । राजनीतिमा लाग्नु आफ्नो आस्था हो तर, आँखा भएर पनि अन्धो झैं त्यसै संगठनको हात समाएर डोहोरिनु भनेको बिरालोले आँखा बन्द गरेर खाँदा आफू संसारबाट लुकेको अनुभव गर्नु मात्र हो ।
त्यसैले अन्त्यमा यति भन्न चाहन्छु कि अझै समय छ, आउनुहोस् हामी असंगठित क्षेत्रमा काम गर्ने निर्माण मजदुरहरु हातेमालो गरौं । पार्टी एकातर्फ हामी निर्माण मजदुर एकातर्फ बसौं । देशमा भएको मजदुर संगठनको विधान संशोधन गरौं र एउटा मजबुद छाता संगठन निर्माणका लागि पहल गरौं । फुटेर होइन जुटेर लडौं । अनि हाम्रो आवाज स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघ सरकारसम्म पुर्याएर आफ्नो अधिकार मागौं । यदि अधिकार माग्दा नपाए खोसेर लिऔं ।