मुकुम्लुङः अस्तित्व रक्षाको यो अन्तिम लडाई हुनसक्छ « Yalambar Times
२६ फाल्गुन २०८१, सोमबार

मुकुम्लुङः अस्तित्व रक्षाको यो अन्तिम लडाई हुनसक्छ


यलम्वर टाइम्स
१३ फाल्गुन २०८१, मंगलवार १३:०१

[देशु वनेम]

आज लिम्बूवान क्षेत्रमा संकटकालको जस्तो स्थिति राज्यले सिर्जना गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सशस्त्र प्रहरी खटाएर खानतलासी गर्ने, बाटो छेक्ने, माथिको आदेशभन्दै त्रसित बनाउने कार्य भइरहेको छ । पक्कै पनि लोकतन्त्रका लागि यो शोभनीय कार्य होइन । सत्तासीनहरु जसरी भए पनि मुकुम्लुङमा केबलकार बनाएर लिम्बू समुदायको मुन्दुमी स्थललाई कब्जा गर्ने सोंचमा रहेको छ भने मुकुम्लुङ रक्षाका लागि पनि सचेत नागरिकहरु संघर्षका निम्ति आन्दोलित भइरहेका छन् ।

वि.सं. १८३१ भन्दा अघि यो क्षेत्र स्वतन्त्र लिम्बूवान थियो । गोर्खा राज्यको विस्तारको क्रममा युद्धबाट जित्न नसकेपछि कुटनैतिक षड्यन्त्रबाट सन्धि गरि नेपालमा गाभिएको थियो । त्यसपछि पनि सयौं पटक गोर्खाली षड्यन्त्रको प्रतिकार भएको थियो । केही लिम्बू बिकाउ नाइकेहरुलाई हातमा लिएर विद्रोहहरु दबाइएको थियो । तैपनि लिम्बूवानको आगो पूर्ण रूपले निभेन, भूभिगत रुपमा भए पनि लिम्बूवानका गतिविधि जिवतै रह्यो । अझ २०६२–६३पछि त खुला रुपमा सतहमै देखा प¥यो ।

राजा महेन्द्रले लिम्बूहरुको भूमिमाथिको अधिकार छिन्दा होस् वा लिम्बूहरुको सांस्कृतिक विनाशका लागि चालिएका सयौं कदमलाई लागू गर्दा होस्, केही लिम्बू अगुवाहरुलाई विभिन्न पद र पैसाको लालचमा पारेर गरिएको तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।

लिम्बूहरुको यो मनोविज्ञान बुझेका शासकहरु हरेक कुरामा यही अस्त्र प्रयोग गर्छन् । लिम्बू विद्रोह दबाउन लिम्बू सेना, प्रहरी नै उपयोग गर्छन् । आफ्नै दाजुभाइलाई लडाउँछन् र स्वार्थ सिद्ध गर्छन् । लाटा लिम्बूहरुलाई पत्तै हुँदैन । यसका बारेमा धेरै लिम्बू इतर व्यक्तिहरु पनि खुलासा गरेका धेरै उदाहरण छन् ।

ताप्लेजुङमा अवस्थित लिम्बूहरुको अन्तिम मुन्दुमी स्थल कब्जा गर्न पनि यही अस्त्र प्रयोग गरिएको छ । केही आफूलाई लिम्बू विद्वान् भन्न रुचाउने व्यक्तिहरुको प्रयोग गरेर लिम्बू किरात होइन भन्ने भ्रम छर्न लगाएर लिम्बूहरुको आधिकारिक जातीय सङ्गठनलाई विभाजित गर्न सफल भएका छन् । नेपालका सबैभन्दा बलियो जातीय संगठन कियाचु थियो, जसले राज्यलाई समेत चुनौती दिनसक्थ्यो । यो विषय शासकहरुका लागि टाउको दुखाइको विषय बनेको थियोे । यसलाई कमजोर बनाउन विभाजित बनाउनु नै थियोे र शासकहरुको ग्राइन्ड डिजाइनमा आज विभाजित भएको छ । बिचरा लिम्बूहरु मक्ख छन्, आफ्नोे धोती खुस्केको पत्तै छैन । एकअर्कालाई सिध्याउन टोपी खोलेर न्वारान देखिको बल लगाइरहेका छन् ।

अध्ययनमा आलाकाँचा, आफूलाई मात्र ज्ञाता ठान्ने अरुको कुरा सुन्दै नसुन्ने स्वनामधन्य आफूलाई पण्डित मान्ने कथित् विज्ञहरूको अहंकारले धार्मिक रुपमा लिम्बूहरुलाई कहिल्यै जोडिन नसक्ने गरि फुटाइसकेको छ भने भाषामा समेत अनावश्यक बखेडा उत्पन्न गराएर टुक्राइसकेको छ । कसैलाई कम्निस्टको नसा पिलाएर अर्धचेत बनाइएको छ भने कसैलाई कांग्रेसको खोङ्गीमा हालेर आफूले आफूलाई नचिन्ने अधमरो चेतनाको सिल्ली जस्तै बनाएको छ अनि कोही राजावादी बनेर आफ्नै आँगन खनेर भँडार पुर्ने जोकर बनाएको छ । यसरी हरेक कुरामा लिम्बूहरुलाई विभाजित बनाउन सफल भएपछि पछिल्लो समय मुकुम्लुङमाथि नियोजित रुपमा विकासे ललिपप बाँडेर आक्रमण गरिंदै छ । अपुङ्गी लिम्बूहरुलाई आफ्नो खुट्टामा आफैं बन्चरो हानिरहेको चेत नै छैन ।

नेपालका अनुदारवादी नश्लीय शासकहरु सधैं चुनौती दिइरहने लिम्बू शक्तिलाई सदाका लागि नामेट पार्न अन्तिम लडाइँ जित्न खड्गप्रसाद ओलीको नेतृत्वमा मुकुम्लुङलाई घेराबन्दीमा पार्ने रणनीति बनाएर साम, दाम, दण्ड, भेदको प्रयोग गरिरहेको छ । यो लिम्बूहरुलाई थाहै छैन । मानवअधिकारवादीहरु, वातावरण विद्हरु, संस्कृति विद्हरु, पत्रकारहरु, आफूलाई अभियन्ता भन्नेहरु किन चुँ बोल्दैनन् ? किनकि ती सबैमा उनीहरुकै पकड छ । एनजीओ बनेर उनीहरूले डलर कमाउने मात्र हो । वास्तविक जनअधिकार त उनीहरुको देखाउने दाँत मात्रै हो ।

एक नम्बर प्रदेशको नामांकनको आन्दोलनलाई कमजोर बनाउन होस् वा पहिचानको स्वरलाई दबाउन होस्, शासकहरुले लिम्बू, राई, मगर, गुरुङ, राजवंशी, आदिवासी जनजातिलाई नै हतियार बनाइएको तथ्य छर्लङ्ग छ । लिम्बूहरुलाई समाप्त गर्न पनि अमिर मादेन, पदम चेन्जी माबो, इन्द्र केदेम, लिला बोखिम लगायतका लोभीपापी लिम्बूको अनुहार परेका व्यक्तिहरुको प्रयोग गरिएको छ ।

यसमा केही काठमाडौंमा डलरको खेती गर्ने लिम्बू अनुहारका व्यक्तिहरुको पनि संलग्नता छ । शासकहरुलाई लागेको छ मुकुम्लुङमा लिम्बूहरुलाई परास्त गर्नसके नेपालमा आदिवासी जनजाति आवाजलाई कहिल्यै पनि शिर उठाउन नसक्ने गरि मटियामेट गर्न सकिन्छ । यो सत्य पनि हो । तसर्थ यो मुक्कुमलुङ रक्षाको लडाइँ लिम्बू अस्तित्वको अन्तिम लडाइँ हुनसक्छ । फुटाएर शासन गर्ने रणनीतिमा शासकहरु माहिर छन् । लिम्बूहरुले हगी सकेपछि मात्रै आँखा देख्ने छन्, त्यसबेला पुर्पुरोमा हात राखेर पछुताउनु सिवाय अरु कुनै चारो रहन्न, समय बितिसकेको हुनेछ । त्यसैले समय छँदै घैंटामा घाम लगे राम्रो ।