पशुमा संगीनी सुई मानव जीवनमा खतरा « Yalambar Times
२६ फाल्गुन २०८१, सोमबार

पशुमा संगीनी सुई मानव जीवनमा खतरा


यलम्वर टाइम्स
२६ फाल्गुन २०८१, सोमबार १४:४०

अर्जुनधारा । मानिसलाई लगाउने संगीनी सुई पशुलाई लगाएर लाभ लिँदै छु भन्ने मानसिकता खराब भएको बताइएको छ ।

अर्जुनधारा नगरपालिकाको रेविज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाले आयोजना गरेको समापन कार्यक्रममा सर्जन विशेषज्ञ डा. सिजन सैजुले संगीनी सुई पशुहरुमा प्रयोग गर्दा क्षणिक लाभ देखिए पनि त्यसको असर मानव जीवनमा विषादीभन्दा कडा हुने बताए ।

महिलाहरुमा गर्भ निवारणका लागि स्वास्थ्य मन्त्रालयले संगीनी सुई प्रयोगमा ल्याएको हो । त्यसले मानिसलाई प्रयोग गर्दा राम्रो होला तर पशुमा प्रयोग गर्दा अत्याधिक हानिकारक हुने तथ्य सहित बताए ।

संगीनी सुई बढी बंगुर, बाख्रा, कुकुरलाई लगाएको रिपोर्ट छ । बंगुर र बाख्रामा लगाएपछि मासु बढ्ने फैलिने हुनसक्छ तर, मानवले त्यस्ता मासु सेवन गर्दा नपुंसक हुने, चाडो रजस्वाला हुने, डिप्रेशन हुने बताए । त्यस्तै प्रेसर, सुगर हुने, चाँडो रिस उठ्ने जस्ता लक्षणहरु पाइएको डा. सैजुले बताए ।

यदि कतै त्यस्तै कार्य पशु प्राविधिकहरुले गर्दै हुनुहुन्छ र गराउँदै हुनुहुन्छ भने क्षणिक लाभको पछाडी दौडिएर मानव जीवनमा खेलवाड नगर्न र नगराउन उनले सुझाव दिए ।

डा. सैजुको त्यो भनाई आइरहँदा उपस्थित सर्वसाधारण तथा अतिथि महानुभावले ध्यानपूर्वक सुनेका थिए । डा. सैजुले सन् २०३० सम्ममा रेविज रोग पूर्ण नियन्त्रणमा राज्य लागेको बताए । रेविज रोगलाई चानचुने रोगको रुपमा नलिन पनि सुझाव दिए ।

कार्यक्रममा पशुपंक्षी शाखाका प्रमुख पदमलाल राईले तीन दिने निःशुल्क सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा १६० वटा पोथी र ५४ वटा भाले सहित २१४ वटा कुकुरको बन्ध्याकरण गरिएको बताए ।

ती मध्ये ८७ वटा घरपालुवा रहेको छ । उनले अर्जुनधाराको वडा नं. ३ र ६ बाहेक बाँकी सबै वडामा पुगेर एक हजार ८९६ कुकुरलाई रेविज खोप दिएको जानकारी दिए । उनका अनुसार खोप लगाउन बाँकी रहेको वडा नं. ३ र ६मा पनि चाँडै सुरु गरिने बताए ।

बिर्तामोड–५ स्थित हाम्रो भेटेनरी सेवा सहकारी संस्थाको सहआयोजक रहेको शिविरमा अध्यक्ष डा. दीलिप सापकोटा र डा. सैजुलाई कामको प्रशंसा गर्दै सम्मान गरिएको थियो ।

नगर उपप्रमुख खड्गमाया पराजुलीले नगरको जनतासँगै पशुपंक्षीलाई स्वास्थ्य राख्न यस्ता खाले कार्यक्रमलाई प्राथमिकता दिँदै लैजाने बताए ।

कार्यक्रममा नगरपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक गौरीमाया चिमरियाले शिविरको औचित्यमाथि प्रकाश पार्दै रेविज रोगको रोकथाममा यो कार्यक्रम प्रभावकारी हुने बताइन् ।

उनले सबै वडाले वडा–वडामा बन्ध्याकरण कार्यक्रम लगे मानव र पशु दुवैको बाँच्न पाउने अधिकार सुनिश्चितता हुने बताइन् ।