इलामले पाएको अर्को ‘अ’ हो अञ्जिला « Yalambar Times
२६ फाल्गुन २०८१, सोमबार

इलामले पाएको अर्को ‘अ’ हो अञ्जिला


यलम्वर टाइम्स
२६ फाल्गुन २०८१, सोमबार १४:४७

[रविकिरण वान्तवा राई]

कुरा केही वर्ष अगाडिको हो । राष्ट्रिय महिला टिमकी दुई खेलाडी, जो देशको लागि खेलिसकेपछि पनि काठमाण्डौमा बाँच्न र फुटबलप्रतिको लगाबका कारण संघर्ष गरिरहेका थिए । निश्चित पैसाको दायराभित्र रहेर राजधानीबाट सपना साकार गर्नु थियो उनीहरुले । त्यसैले दुवै जना एउटै डेरामा बस्न थाले । वर्षातको समयमा टिनको छानाबाट पानी चुहिएर उनीहरुलाई गाह्रो पाथ्र्यो ।

एक दिन श्रीलंकन राष्ट्रिय महिला टिमकी खेलाडी साथीले भिडियो कल गर्दै राज्यले आफूहरुलाई फ्ल्याट दिएको समाचार सुनाउँछिन् र नेपालकी ती दुई खेलाडी मित्रहरुको पनि फ्ल्याट हेर्ने इच्छा गर्छिन् । तर, यताबाट आफूहरु महलमा भएको बहाना गर्दै डिस्कनेक्ट हुन्छिन् उनीहरु ।

संघर्षको त्यो दौडानमा भविष्यको संरचनाहरु अन्धकारमय हुँदै गरेको उनीहरुले महसुस गरिरहेका थिए । राष्ट्रिय खेलाडी मात्र भएर के गर्नु पारिवारिक जिम्मेवारीको भार थियो । गाउँ समाजमा आफ्नो अस्तीत्वको जग मजबुत बनाउनु पनि थियो । राज्यले राष्ट्रिय खेलाडीहरुलाई गम्भिरताका साथ नलिई दिँदा धमाधम खेलाडीहरु विदेश पलायन भइरहेका थिए । त्यही समय सेकुरेटी गार्डको रुपमा खाडी मुलुकको मार्ग रोज्न पुगिसकेका ती दुई महत्वपूर्ण खेलाडीहरु थिइन्, सावित्रा भण्डारी साम्बा र एन्जिला अर्थात अञ्जिला तुम्बापो सुब्बा । भाग्यवस उनीहरुले त्यो मार्ग हिड्नु परेन ।

माथि उल्लेखित घटनालाई फिल्म अञ्जिलामा राख्न चाहेर पनि खिच्न मन नलागेको अनुभव निर्देशक चाम्सले यूकेमा फिल्म प्रिमियर गर्न पुगेको बेला एउटा पोट कास्ट कार्यक्रममार्फत खुलासा गर्नु भएको थियो । कप्तान एन्जिलाको भोगाइहरु कुनै फिल्मको काहानी भन्दा कम नरहेको जानकारी पनि उहाँले गराउनु भएको थियो ।

अब कुरा गरौ फिल्म र कप्तान अञ्जिला (एन्जिला) दुवैको । अञ्जिला तुम्बापो सुब्बा, नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक । इलाम जिल्लाले प्रसिद्धी पाएका ‘अ’हरु मध्ये थपिएको अर्को ‘अ’ हो अञ्जिला । सूर्योदयको नगरबाट सूर्यको किरणसँगै संघर्षको तुवालो चिर्दै उदाएकी हुन अञ्जिला । गाउँदेखि विभागिय क्लब एपिएफ हुँदै हाल उनी ग्रीसको निस अट्रोमिटौबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।

राष्ट्रिय जर्सीमा विपक्षी विरुद्ध नेपालको गोल पोस्ट समाली रहँदा लाग्छ सीमामा उभिएको सैनिक हुन् उनी । सत्रुका हरेक प्रहारहरुलाई बिफल बनाउनु छ उनले । जब उनी सहित नेपाली फुटबल टिम देशको लागि विपक्षी विरुद्ध मैदानमा उत्रिन्छन्, लगभग ३ करोड नेपालीहरु चन्द्र–सूर्य अकिंत झण्डा मुनि एकबद्ध भइसकेका हुन्छन् ।

दर्शकहरु त आखिर महाभारतका बार्बरिक न हुन्, नत्र विपक्षी विरुद्ध गोलप ोस्टमा उनीसँगै उभिदिन सक्थे । दर्शकहरु जस्तै कहिले काँही निराश हुन्छिन् उनी, देशलाई फाइनल जिताउन नसकेकोमा । उनले कप्तानी सम्हाली सकेपछि पनि अग्रजहरुले जसरी नै देशलाई फाइनलसम्मको यात्रातय गराइरहेकी छिन् । दक्षिण एसियाली हुँदै वाफसम्म पुग्दाहोस् वा मैत्रीपूर्ण खेलहरुमा फाइल अगबै घर फिर्नु पर्ने अवस्था हालसम्म आएको छैन । हिजोको दिनमा जिन्दगी जीउन र फुटबलका लागि थुप्रै संघर्ष गरेका अञ्जिला हाल देशलाई गोल्ड मेडल दिलाउन संघर्ष गरिरहेकी छिन् । उनलाई साथ दिन उनीसँगै साम्बा, रेखा पौडेल, प्रिती राई, सबिता राना मागर जस्ता थुप्रै खेलाडीहरु उनीसँगै मैदान उत्रिरहेका छन् । जसलाई दर्शकहरुले बिर्सिएका छैन र बिर्सदैनन् पनि ।

देशको गोल पोस्टमा सगरमाथा जस्तै बनेर विपक्षी विरुद्ध उभिरहने अञ्जिलाको संघर्षलाई निर्देशक मिलन चाम्सले यति बेला फिल्मी पर्दामा उतारेका छन् । अञ्जिलाले गडफादरको रुपमा सम्मान दिँदै आइरहेका प्रेमकुमार श्रेष्ठ यस फिल्मको निर्माता हुन् । दायहाङ राई, महोत्से गुरुङ, बुद्धितामाङ, बिजय बराल र सृजना सुब्बासहित चर्चित कलकारहरुले यस फिल्ममा अभिनय गरेका छन् । मुख्य भूमिकामा स्वयं कप्तान एञ्जिला छिन् भने महिला रष्ट्रिय टिमका खेलाडीहरुलाई पनि यो फिल्मभित्र देख्न सकिन्छ । कलाकार सुनिल थापालाई बलिउड फिल्म मेरीकमपछि कोचको रुपमा पुनः एकपटक चलचित्र ‘अञ्जिला’मा हेर्न पाउने छौ ।

यो चलचित्र कप्तान एन्जिलाको मात्र बायोपिकन नभएर सम्पूर्ण खेलाडीहरुले गरिरहेको संघर्ष र भोगाईहरुको हो भन्नुहुन्छ अभिनेता दयाहाङ राई । दयाको भनाइमा साथ दिँदै बिजय बराल थप्नुहुन्छ ‘देश चिनाउने खेलाडीहरुको जिवनीमा फिल्म बन्नु पर्छ र बनाइरहनु पर्छ । जब विदेशी टिम विरुद्ध मैदान उत्रिदा सबै देशवासी एउटै राष्ट्र झण्डा मुनि उभिन स्वतस्फूर्तः राजी हुन्छन्, उहाँहरुले पक्कै पनि हाम्रो कप्तान तथा गोलकिप्पर एन्जिलाको यो फिल्मलाई माया गरिदिनु हुनेछ ।’

चलचित्र अञ्जिला यही फागुन २९ गतेदेखि प्रदर्शन हँुदैछ । यस चलचित्रको प्रदर्शनबाट संकलित रकमले एन्जिलाको लागि घर निर्माण गरिदिने अभियानमा निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ । आफ्नो फुटबल एकेडेमी सञ्चालन गर्ने सपनाको सुरुवात त्यही घरबाट गर्न चाहन्छिन् कप्तान एन्जिला । जहाँबाट साम्बा, प्रिती, रेखा र सविता राना जस्ता धेरै नयाँ खेलाडीहरु भविष्य लागि उत्पादनगर्न सकियोस ।