[सन्तोष नेम्वाङ (इटबुङ्गे साइला)]
‘हैट कति ढिलो उठेको ? चाँडो गरौं न ! चाँडो गए अलिक धेरै रकम संकलन हुन्छ नि !’
‘ए…. आइपुग्यौं ? हिजो राति खोइ के भयो निन्द्रा नै लागेन । सायद चिसो बढेर होला ।’ यतिभन्दै आफ्नो दिनचर्यातर्फ तल्लीन भयो । म हेरिरहें, उ नेत्रहिन भएर पनि आफ्नो सामान कहाँ, कस्तो अवस्थामा छ ठ्याक्कै ठम्याएर प्रयोग गरिरहेको थियो । केही बेरको मौनता तोड्दै मैले जिस्क्याएँ ‘के हो, कसैसँग लभ पर्यो कि कसो ?’
‘आ… त्यस्तो कुरा पनि गर्ने हो ? म जस्तो नेत्रहिनलाई कसले मन पराउँछ र ? जानी जानी दुःख पाउनको आउँछ र ?’ उ गलल हाँस्यो । मेरो मुखबाट पनि हाँसो फुस्कियो ।
‘माया गर्नलाई आँखा देख्नै पर्दैन नि । प्रेम अन्धो हुन्छ भनेर मानिसहरुले त्यसै भन्छन् त । प्रेम आफै हुने चिज हो’ मैले भने । ‘कुरा ठीकै भन्यौ साथी, तर त्यो अन्धो प्रेम प्राप्त गर्नका लागि कसैको अस्तीत्वको पनि त आभाष हुनुपर्यो नि ! मेरो अगाडि उभिएको वस्तु भैसी हो कि मानिस हो त्यति त ठम्याउन गाह्रो हुन्छ भने कसरी मलाई प्रेमको आभाष हुन्छ र ? मेरो लागि ढुंगा मुठा र मानिस एकै प्रकारको वस्तुझैं हुन्छ । दिनभर बजारको एउटा कुनामा बसेर गीत गाउन मात्र मेरो दिनचर्या बनिसकेको छ । धन्न साथी तिमी छौं र मलाई आफ्नो गुजारा चलाउन सहज भइरहेको छ । तिमी त मेरो निम्ती भगवान सरह नै भएका छौं ।’
‘भो, भो मलाई धेरै फुक्र्याउनु पर्दैन । म पनि एउटा हात नभएको अपाङ्ग नै हुँ नि ! धन्य, तिमीलाई मलाई साथ दिइरहेको छौं । दिनभरी चोकमा बसेर गीत गाउँछौं । दयालुहरुले एक, दुई रुपैयाँ सहयोग गर्छन् । त्यही पैसाले तिम्रो घर चलेको छ अनि मेरो पनि घर चलेको छ ।’
‘साथी म महाभारतको धृतराष्ट्र होइन, जो कसैलाई काखा र कसैलाई पाखा गर्ने । म एक साधारण मानिस हुँ । त्यो पनि नेत्रहिन । म स्वार्थले अन्धो भएकोभन्दा निस्वार्थी अन्धो नै ठीक छु । मलाई कसैको सहारा चाहिएको थियो अनि तिमीलाई पनि सहारा चाहिएको थियो । कारण यति नै हो । हामी एक अर्काको परिपुरक हौ सायद । तर पनि जीवन एकनास कहाँ हुन्छ र यो साथ सदा कहाँ रहन्छ र ? समयको बेगले भोली तिमीलाई कहाँ पुर्याउला, मलाई कहाँ पुर्याउँला । तिम्रो आफ्नै सपना होला, मेरो आफ्नै सपना छ । तिमी आँखा भएका मानिस भोलि अन्य सहज बाटो देखेर मेरो साथ छाडेर जान सक्छौं । म त नेत्रहिन मेरो अगाडि तेर्सिएका बाटाहरु देख्न सक्दिन तर मेरा बन्द आँखाले ठूला सपना नदेखे पनि राम्रा सपना देख्न लालायीत हुन्छन् । स्पर्शले सबै वस्तुको आकार छुट्याउन सक्छु तर रङ्ग छुट्याउन सक्दिन । मलाई थाहा छ रगत रातो हुन्छ, आकाशको रङ्ग निलो हुन्छ । रुखको पात हरियो हुन्छ । त्यो सबै मैले सुन्ने शब्द मात्र हो । मैले छामेर रङ्ग पहिचान गर्नु भनेको असम्भव कुरा हुन्छ । फिक्कापन हुन्छ तर तिमीले देख्ने सपनाहरु सप्तरङ्गी हुन्छ होला ।’
‘तिमी नेत्रहिन भएर के भयो त, तिमीमा स्वभिमान छ । निश्चल भावना छ । कसैको सामु झुकेर पाउ मोल्न परेको छैन । छलकपट छैन । बस अरु के चाहियो र ? बरु सपाङ्ग व्यक्तिमा कपट, जालझेल हुन्छ । अरुको परिश्रममा बाँचेर खानुभन्दा तिमी आफ्नो परिश्रममा स्वभिमान साथ दुई छाक खाएको राम्रो होइन र ?’
‘अघि मैले तिमीलाई फुक्र्याएको भन्यौं अहिले मलाई नै फुक्र्याउदै छौं । म पनि त मानिस हुँ । मलाई पनि अन्य मानिसझै निर्वाध यताउता हिड्न मन लाग्छ नि । यो शितल हावाको आभाष पाउँछु तर, यो हावा कुन दिशाबाट आउँदैछ भन्ने जिज्ञासा मलाई पनि हुन्छ नि । घर बाहिर चराचुरुङ्गीहरु कराइरहेका छन् । तर यति जान्न चाहन्छु कि त्यो कुन चरा हो ? कुन रङ्गको हो ? यस्ता जिज्ञासाको चाङ्गहरु धेरै छन् । आँखामा कालो पर्दाले ढाकेको छ । कसैको सहारा बिना यताउता हिड्न असमर्थ छु । अनि विवश भई आफ्ना दुवै हात माडेर त्यो अदृश्य जिज्ञासाको पर्दा च्यात्न चाहन्छु । दिनमा तिमी साथ रहन्छौं, मन शान्त रहन्छ तर रातमा म एक्लै हुँदा कति छटपटि हुन्छ तिमीलाई कसरी भनौं ।’
‘लौ अब तिमीलाई एउटी राम्री सुशिल कन्या खोजी दिने बेला भएछ । सँधै यसरी कति दिन बस्ने ? तिमी पनि लक्का जवान भयौं अब विवाह गर्नुपर्छ ।’
‘तिमी पनि कस्तो ठट्टा गर्छौं हौं ?’ उ लजाउँदै गलल हाँस्यो ।
‘तिमी आफै भन्छौं म आँखा देख्ने मान्छे कतै दोबाटो भेटे अर्को बाटो पछ्याएर जान्छौं भनेर । सधै मेरो साथ कहाँ पाउँछौं र । मेरो पनि उमेर भयो । कहि कतै मन मिल्ने साथी भेटे भने तिम्रो साथ छाडेर जान सक्छु । तिमी बाहिरी आँखाले मात्र देख्न सक्दैनौं नि तर मनको आँखाले सबै देख्न सक्छौं । तिमीलाई एउटी जीवनसाथीको अभावको आभाष भइरहेको होला नि । चुल्हामा पकाएको भातको तातो माडले हातमा पोल्दा घाउमा फुकिदिने कोहि त होस् ।’
मेरो कुरा सुनेर विस्तारै छाम्दै कुर्सीमा थपक्क बस्यो । मैले देखें उसको अनुहारको भावहरु परिवर्तन भइरहेको थियो । सायद असमञ्जसमा रुमलिरहेको थियो । मैले उठेर एक गिलास पानी दिएँ । उसले त्यो गिलास दुवै हातले समाएर एकै सासमा स्वाट्टै पार्यो । पानी पिइसकेपछि लामो सास फेर्यो । दुवै हात बढाएर मेरो हात च्याप्प समायो । केहि बेरको मौनता पश्चात आँखाको डिलबाट झर्न लागेको आँसु पुछ्दै बोल्यो, ‘साथी तिमीले मेरो मन परिवर्तन गरायौं । म सोच्द थिएँ कि म असहाय नेत्रहिन आफ्नो आवाज पोखाएर केही पैसा जम्मा गरेर आएको पैसाले दुनियाँ सामु बिरालो झै लुकेर एक्लै पेट भरिरहेको थिएँ । ममा न उमङ्ग थियो न त सपना थियो । म लुकेर बस्नेको के समस्या हुन्छ र भन्दै एकनास जीवन डोहोर्याइरहेको थिएँ । तर, तिम्रो कुराले अन्तरआत्मा जगाइदियौं । मनमा बैचेनी जगाइदियौं । ममा पनि पुरुषत्व छ, एउटी अर्धाङ्गिनीलाई राख्न सक्छु र परिवारका साथ बस्न सक्छु भन्ने हौसला जगाइदियौं ।’
‘अनि जीवनसाथी पाएपछि तिमीलाई मेरो सहाराको आवश्यकता पर्दैन होला नि ?’
‘मित्र सहाराको आवश्यकता आँखा देख्ने हरेक मानिसहरुलाई त पर्छ भने झन म त नेत्रहिन । जीवनका प्रत्येक मोडमाहरुमा हरेक प्रकारको मित्रहरुको सहाराको आवश्यकता पर्छ । संसारमा मानिसहरुले विवाह गरेर श्रीमती भित्र्याउने बित्तिकै सबै समस्याको समाधान हुन्छ भन्ने छैन । विवाह त घर गृहस्थी बसाउने एक माध्यममात्र हो नि ! तिमी किन त्यसो भन्छौं ? आजको मितिसम्म तिमी नै मेरो सहारा हौ र आउने समयमा कुनै पनि मोडसम्म यसरी नै सहारा दिन्छौं भन्ने मलाई पूर्ण आशा छ ।’
‘म एउटा प्रश्न सोध्छु, तिमी रिसाउँछौं कि ? ‘तिमीले मलाई के नै त्यस्तो प्रश्न सोध्छौ होला र म तिमीसँग रिसाउनुपर्ने, सोधन ।’
‘तिमीलाई आफू नेत्रहिन हुँ, ममा शारीरिक कमजोरी छ भन्ने ग्लानी हुँदैन ?’
‘वास्तवमा तिमीले कठोर तर वास्तविक प्रश्न गर्यौं । संसारको हरेक मानिसमा केहि न केहि शारीरिक कमजोरी हुन्छ । कसैमा आत्मविश्वासको कमजोरी त कसैमा सोचाईको कमजोरी हुन्छ । कसैको हेराइको दृष्टिकोणमा कमजोरी हुन्छ त कसैमा अभिमानका कारण सहिष्णुताको कमजोरी हुन्छ । त्यसैले संसारमा मेरो मात्र शारीरिक कमजोरी छ भनेर आफैमा ग्लानी हुँदैन । मेरो त जन्मबाट शारीरिक कमजोरी भएको हो तर, यहाँ सपाङ्ग जन्मेर पनि आफ्नो व्यवहारले अपाङ्ग भएका धेरै छन् । यस्तोमा मैले किन पीर लिने ।’
‘वाह ! मित्र तिमीले त मलाई पनि हौसला दियौं । म एक हात नभएको अपाङ्ग भए पनि सपाङ्ग नै भएको आभाष दिलायौं । लौ साथी अब बाटो लाग्नुपर्छ । दिन धेरै बितेछ । लौ यो स्ट्रेन्जर बोक । मैले माइक बोके । अब निस्कौं ।’
त्यस पश्चात उसले समाएको लौरोको टुप्पो मैले समाएर उसलाई डोहोर्याउँदै बजारतर्फ लम्कियौं ।