सुरुङ्गा । पहिचानको आवाजमा पहिलो शब्द उठाए पनि कार्यन्वयन पक्षमा पार्टी संगठित हुन नसक्दा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ताहरु निराश बन्न पुगेको कुरा संस्थापक अध्यक्ष एमएस थापाले बताएका छन् ।
विहीबार पार्टी कार्यालय सुरुङ्गामा संस्थापक अधयक्ष थापाले पूर्वका नेताहरु पश्चिम जान नसक्नु र पश्चिमका नेताहरु पूर्व आउन नसक्नुले पार्टी कमजोर हुँदै गएको बताए ।
‘नेताले मेची–महाकाली हिड्न सक्नुपर्छ, संगठन विकासमा बल पुर्याउन सक्नुपर्छ, त्यसो गरे पार्टी आफै माथि उठेर जान्छ’ उमेर ८२ वर्ष पार गरेका संस्थापक अध्यक्ष थापाले भने, ‘त्यस्तो नेता जनमुक्ति पार्टीका लागि आवश्यक छ ।’
पश्चिम भ्रमण गरेर पूर्व इलाम, झापा हुँदै तेह्रथुमको यात्रामा निस्किएका संस्थापक अध्यक्ष थापाले कार्यकर्ताको मनोबल उठाउन आफू देश दौडाहमा निस्केको बताए ।
‘पार्टी दुई विभाजनमा देखिएको कारण पश्चिमले पूर्व नमान्नु र पूर्वले पश्चिमलाई स्वीकार गर्न नसक्ने अवस्था छ, यो पार्टीका लागि ठूलो क्षति हो’ थापाले अगाडि भने, ‘पार्टीमा कानुनी परामर्शदाता पनि भएनन्, भएकालाई पनि वास्ता गरिएन त्यसैको परिणाम हो अहिलको अवस्था ।’
उनले पार्टी बचाउने हो भने दम्भ र घमण्ड त्याग्नुपर्ने बताए । विगत ८ वर्षदेखि पार्टी एकतासँगै संगठित नहुँदा धेरै सक्रिय नेता, कार्यकर्ताहरु बाहिरिए । यो केपी जी र सूर्यवंशी जीले बुझ्न सक्नु भएन । अब एकताको महाधिवेशनबाट टुङ्ग्याउनुपर्छ । त्यो समय भनेको मंसीर महिना हो’ थापाले भने ।
कार्यक्रमपछि संस्थापक अध्यक्ष थापाले सञ्जुहाङ पालुङ्वालाई लक्षित गर्दै भने, ‘सञ्जु जी पार्टीलाई दह्रो बनाउनु तपाई मेची–महाकाली दौडिनुस् ।’ त्यसै बीच सञ्जुहाङले भने, ‘आज धेरै कुरा बुझ्ने अवसर मिल्यो अब म लाग्ने छु ।’
संस्थापक अध्यक्ष आउँदा पार्टी प्रदेश नं. १ का अध्यक्ष पर्शुराम मगर, केन्द्रीय महासचिव पदम जवेगु, प्रदेश सचिव कृष्ण थेवे, पार्टी अध्यक्ष भवानी सेलिङ, डगमाया मगर, दिलीप राई, भूपाल राना मगर लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
