सेना कमाण्डर जस्तै भएर कलम चलाउन अध्यक्ष प्रचण्डको आग्रह « Yalambar Times
१३ बैशाख २०८२, शनिबार

सेना कमाण्डर जस्तै भएर कलम चलाउन अध्यक्ष प्रचण्डको आग्रह


यलम्वर टाइम्स
१३ बैशाख २०८२, शनिबार १८:०२

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा सेना कमाण्डर जस्तै भएर कलम चलाउन आग्रह गरेका छन् ।

शनिबार प्रेस सेन्टरको पाँचौ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउँदै उक्त कुरा बताएका हुन् ।

मुलुक बेतिथिले जकडिरहेको बेला जनताको आवाज उठान गर्ने शक्ति प्रेस जगत नै भएको हुँदा राज्यलाई खबरदारी गर्दै जनताको विविध कठिनालाई उजागर गर्न आग्रह गरे ।

शिक्षकहरु आन्दोलित भएको महिना दिन बितिसक्दा पनि राज्य पक्षबाट कुनै सकारात्मक भनाइ नआएको हुँदा लोकतान्त्रिक गणतन्त्रमा शिक्षकहरुको माग र आवाज जायज भएको बताउँदै जनपक्षीय विचार र जनताले बोल्न नसकेका भावनाहरु मसिनो गरी बाहिर ल्याउनुपर्ने बताए ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचित प्रेस सेन्टरका नेताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले सेन्टरसँग नजिक फोनिजका पदाधिकारी तथा सदस्य, सञ्चारिका समूह लगायतलाई कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रवक्ता अग्नी सापकोटाले सरकारको यही चालाले धेरै दिन टिक्न नसक्ने बताउँदै जनतालाई ढाँटेर गरिने क्रियाकलाप गणतन्त्रणमा स्वीकार्य नहुने बताए ।

लोकतन्त्रमा राजावादीहरुको चलखेल कुहिरोको काग जस्तो भएको बताउँदै नयाँ पुस्ताले राजतन्त्रको अवशेष देखेको पनि बताए ।

कार्यक्रममा निर्वाचन मण्डलीलाई सम्मानपत्र प्रदान गरिएको थियो भने सपथ ग्रहणपछि केन्द्रीय समितिको बैठक बसी प्रेससँग आवश्यक विभिन्न विषयमा निर्णय गरिएको थियो ।