युवाहरुलाई व्यवसायी बन्न प्रशिक्षण जरुरी « Yalambar Times
२६ बैशाख २०८२, शुक्रबार

युवाहरुलाई व्यवसायी बन्न प्रशिक्षण जरुरी


यलम्वर टाइम्स
२३ बैशाख २०८२, मंगलवार १७:०९

मिहेनत गरे जे पनि गर्न सकिन्छ, तर मिहेनत गर्ने मन छैन भने जस्तोसुकै अवसर आए पनि बेरोजागर, लफङ्गा, आसे र नकरात्मक विचारसँगै लठुवाको पगरी भिड्न बाहेक अर्को काम हुँदैन । झापामा हिजोआज वैदेशिक रोजगारबाट फर्केका मध्ये ५ प्रतिशत युवाहरु उद्यमी र व्यापारीसँगै खेतीतर्फ फर्केर व्यवसाय गरेको देखिन्छ । उमेरले ४० पार नगरेका थुप्रै युवाहरु मिहेनती कर्ममा लम्केको हामी पाउँछौं । अर्जुनधारामा नै हेर्ने हो भने बिहानपख मौरी, दूध व्यवसाय, माछा व्यवसाय, मकै खेती र बेमौसमी तरकारी खेती गरेको पाइन्छ । उनीहरु कुन तरिकाबाट बजेट चलाए या कताबाट सहयोग प्राप्त गरे उनीहरुनै जानुन तर, दिनरातको व्यवसायले परिवारलाई सक्षम बनाएका छन् ।

कति वैदेशिक व्यवसायबाट फर्केका युवाहरु मिहेनत गर्ने तिर नलाग्ने नेताको ढोका–ढोका ढकढक्याउने, कमिशन र पेटी ठेक्का जस्ता कामको नाइके हुने अनि भनेको जस्तो फाइदा नभएपछि पार्टीलाई घुर्काउने, देशमा केही हुन सकेन र केही गरौं भने फाइदा नहुने भन्दै महंगो कफी हाउसमा गफिदै समय काट्ने फजुल खर्च बढी बडाएर निरास मन पार्ने परिपार्टीले युवा शक्ति कमजोर हुँदै गएको हामी पाउँछौं । राजनैतिक दलबाट पनि मिहेनत र कर्म गर्नुपर्छ भन्ने प्रशिक्षण नदिनुले पनि युवाहरु स्वतन्त्र भएर नकरात्मक उर्जातर्फ हिडेको विज्ञहरुको भनाई छ । पार्टी वा संगठनले मिहेनत र कर्मको ज्ञान प्रदान गर्नसके गाउँघरबाटै युवा व्यवसायी उद्यमी हुने र सक्षम युवाको परिचयसँगै अगाडि बढ्ने देखिन्थ्यो । पार्टी वा संगठनले जनतालाई नागरिक बनाउने हो कि रैति ? रैतितर्फ राख्ने हो भने बुर्जुवा शिक्षा नीति र काम नलाग्ने गफ दिएर अड्काउने, पालिका वा नगरमा आफ्नो सरकार छ भने चारो छरे जस्तै बजेट दिएर मख्ख पार्ने या टोलका नेता बनाएर घुमाउने, तिनका सन्तानहरुलाई दीगो व्यवसाय र रोजगार नदिनु ।

हैन जनतालाई रैतिबाट नागरिकतर्फ लैजाने हो भने पालिका सरकारकोतर्फबाट टोलमा विकासको छलफल गराउने, वैज्ञानिक श्रममुखी प्रशिक्षण टोलमा नै गराउने, कस्तो शिक्षाबाट आत्मानिर्भर र परिश्रममुखी हुनसक्छ भन्नेतर्फ बहस गराउने, बढीसे बढी सीपमुलक ज्ञान दिने, गाउँघरे पाखे ओखती, वैज्ञानिक कृषि ज्ञान अनि टोलका बालबच्चा कतिको पठनपाठनमा ध्यान दिएका छन्–छैनन् जस्तामा ध्यान दिए रैतिबाट नागरिकको बाटोमा जाने देखिन्छ । आफ्नो धर्म, संस्कृति र पहिचानको ज्ञान दिनसके जनता सचेत हुने थिए तर, न पार्टी त्यसरी लाग्छ न त निर्वाचित जनप्रतिनिधि । त्यसो नहुँदा जनता वा युवाहरुलाई निरास बनाउने काम दल वा तिनका प्रतिनिधिहरुबाटै भएको हुँदा जनता सचेत नभई निरासतर्फ धकेलिएको हो भन्ने देखिन्छ । निरासाबाट बचाउन र सक्रिय बनाउन वडा जनप्रतिनिधिले निष्पक्ष भएर जनताका काम गर्न सक्यो भने युवाहरु जागरुक हुने थिए । त्यसतर्फ बहस हुन जरुरी छ ।