अन्तुको मुस्कानमा रुमलिए पत्रकार र चलचित्रकर्मी « Yalambar Times
१० असार २०८२, मंगलवार

अन्तुको मुस्कानमा रुमलिए पत्रकार र चलचित्रकर्मी


यलम्वर टाइम्स
११ जेष्ठ २०८२, शनिबार ०८:२६

श्रीअन्तु । फ्याट्टफुट्ट पत्रकारहरु इलामको पर्यटकीय नगरी श्रीअन्तुमा पुगेकै थिए । आफ्नो ढंगबाट पुग्ने अनि आफ्नै तरिकाबाट फोटो खिचेर समाचार सम्प्रेषण गर्ने गरेका थिए । तर, यो पटक भने अलिक फरक ढंगबाट श्रीअन्तुलाई हेर्ने प्रयास भयो ।

कार्यक्रममा चलचित्र निर्देशक मिलन चाम्सले चलचित्रले पर्यटकलाई उच्चाल्ने गरेको छ र चलचित्र हेरेपछि प्रशस्त पर्यटकहरु आउने गरेको हाम्रो अनुभूति छ । यथार्थ पनि त्यही हो । उक्त कुरा चलचित्र पत्रकार संघको २६ औं वार्षिक कार्यक्रम अन्तर्गत ‘सिनेमा सम्वाद’ मा बसह भइरहँदा चर्चित कलाकारहरुले स्वीकार गरेका थिए । सम्वादमा नायक शिव श्रेष्ठले पनि निर्देशक चाम्सको कुरालाई स्वीकारे ।

सिनेमा सम्वादमा नायक श्रेष्ठले भने ‘यत्रो देश घुमें । विभिन्न चलचित्रमा अभिनय गरियो तर, यति सुन्दर ठाउँमा पहिलो पल्ट आइपुग्दा स्वर्गमै आएको महशुस भयो ।’ त्यसैमा निर्देशक चाम्सले थपे, ‘अब अन्तुको चित्र चलचित्रमा उतार्दा यस क्षेत्रमा नेपालका मात्र होइन विश्वका मान्छे आउने निश्चित छ ।’

खुला दिलले श्रीअन्तुको प्रशंसा हुँदा बाहिरबाट सम्वाद सुनिरहेकी गौरी मल्लले टाउको हल्लाउँदै नाम्सको भनाईलाई स्वीकारिन् । ठूलै संख्यामा सिने पत्रकारहरुको उपस्थिति थियो । सम्वाद कार्यक्रममा चलचित्रले स्थानीय पर्यटनलाई उजागर गर्छ र यस्ता लुकेका सुन्दर ठाउँलाई उठाउन चलचित्रको ठूलो भूमिका हुने कुरा छवि खतिवडाले बताए । खतिवडा पर्यटन बोर्डका प्रमुख हुन् ।

चलचित्र क्षेत्रका शान्तिप्रियले सहजकर्ताको भूमिका खेलेको सो कार्यक्रममा इलामकै रैथाने चलचित्र बोर्डका अध्यक्ष दिनेश डीसीले इलामको पर्यटन क्षेत्रलाई निकै उचाल्दै अगाडि भने, ‘दर्शकहरुलाई मनोरञ्जनसँगै स्थान देखाउन श्रीअन्तुले फिल्म निर्माता र निर्देशकहरुलाई ठूलो मद्दत पुर्याउँछ । तर, ठाउँ चिन्न पहिचान गर्न सक्नुपर्छ ।’

करिब तीन दिनसम्म अन्तु बसेका पत्रकारहरुले अन्तुमा रहेको बोटविरुवा र हावा पानीसँगै त्यहाँको वातावरणले जिस्काउँदा मौसम अनुसार फोटो खिच्दै माया प्रिती साटीरहेका थिए । अन्तुले पनि पत्रकारहरुलाई जिस्काइरहेको आभास हुन्थ्यो । पत्रकारहरुले पनि अन्तुलाई तस्वीर र शब्दमा कैद गरिरहेका थिए ।

त्यहाँ पुग्ने जो कोहीले वा… अन्त,ु वा…. इलाम भन्दै प्रफुल्ल मुद्रामा सेल्फी लिइरहेका थिए । सम्वाद कार्यक्रममा नृत्य निर्देशक तथा कोरियोग्राफर रेनाशा राईले पर्यटन क्षेत्र र सिनेमा नङ र मासुको सम्बन्ध रहने भएको हुँदा त्यहाँको भौगोलिकता अनुसार चलचित्रमा उर्तान सके दुवै लाभान्वित हुने बताइन् ।

अतिथि दीर्घमा रहेका बसुन्धारा भुषाल, निर्देशक मोहन निरौलाले पनि चलचित्र पर्यटन सम्वादमा कलाकार निर्देशक र पत्रकार बीचबाटै नयाँ चलचित्र बन्न सक्ने र जनजीवनमा आधारित चलचित्र बन्न सके देशकै नाम अन्तर्राष्ट्रियस्तरमा पुग्न सक्ने स्वीकारे ।

चलचित्र पत्रकार संघले मिडिया सम्वाद कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त सम्वादमा प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले नेपाली जनजीवनलाई छोएर आएका चलचित्रले नेपालीको मन जित्ने बताए । उदाहरण स्वरुप लिम्बू चलचित्र नुमाफुङ, जारी, गाउँ आएको बाटोको सफलतालाई लिए पुग्ने बताउँदै मिडियामा मिहेनत र अध्ययन जरुरी छ ।

आज नेपाली पत्रकारितामा अध्ययन फेसबुकले खाइदिएको हुँदा नयाँपनको खोजी हराउँदै गएको बताए । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारहरु फेसबुकको भर परेको कारण गहिराईमा पुग्न सकेका छैनन् । अनुसन्धानमुलक खोजी आजको पत्रकारिताको बाटो भएको बताए ।

विदुर गिरी र ध्रुव लम्सालले पत्रकार होस् वा अन्य अनुसन्धान र न्याय दिने पत्रकारिता आज नेपाली जनताले चाहेको बताए । चलचित्र पत्रकार संघका अधयक्ष समिर बलामीले सहजकर्ताको भूमिका निर्वाह गरेको सो कार्यक्रममा चलचित्र पत्रकारहरुले निकै चाख दिएर सुनेका थिए ।

करिब १५० चलचित्र पत्रकार सहभागि भएको सो कार्यक्रमको उद्घाटन समयमा अतिथि वक्ता सूर्योदय नगरपालिका–५ का अध्यक्ष सरन राईले आमाको काखमा बसेर शिव दाईको चलचित्र हेरेको स्मरण छ तर आज प्रत्यक्ष देख्दा भावुक हुँदै खुशी प्रकट गरे ।

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा चलचित्र विद्यामा कलम चलाउने पत्रकारहरुलाई सम्मान गरिएको थियो । सभामा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार राई, वडा नं. ४ का वडाध्यक्ष उर्गेल बेजम, गौरी मल्ल, शिव श्रेष्ठ, बसुन्धारा भुसाल, प्रदेश १ का अध्यक्ष सञ्जु राई लगायतले चलचित्र पत्रकारिताको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

इलाम अध्यक्ष अतित योङहाङले उक्त कार्यक्रममा इलामको अन्तुमा ल्याउनुपर्छ भनेर जोड दिएको हुँदा कार्यक्रम सार्थक भएको उपस्थित चलचित्र पत्रकारहरुले प्रतिक्रिया दिएका थिए ।

अन्तुमा पत्रकारहरु पुरस्कृत

चलचित्र पत्रकार संघको २६ औं वार्षिक कार्यक्रममा सात चलचित्र पत्रकारहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान ध्रुव लम्साल, विष्णु सुवेदी, नरेन्द्र बस्नेत रहेका छन् ।

उनीहरु रु. ५५ हजार राशीसहित सम्मानपत्रले सम्मान गरिएको थियो । यस्तै जीवन पराजुली, वर्षा बस्नेत ५० हजार राशीसहित प्रमाणपत्रले पुरस्कृति गरिएको थियो ।

यसरी नै चलचित्र पत्रकारिता प्रोत्साहनमा रश्मी थापा र मोफसल पत्रकारिता पुरस्कारमा झापाका तुलसी निरौला सम्मानित भएका छन् ।

उनीहरुलाई नगद रु. २५ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको संघले जनाएको छ ।