माग सम्बोधन नभएसम्म सेवा ठप्प « Yalambar Times
२५ असार २०८२, बुधबार

माग सम्बोधन नभएसम्म सेवा ठप्प


यलम्वर टाइम्स
१४ असार २०८२, शनिबार ०७:२८

गुहार माग्दै सुनचाँदी व्यवसायी

अर्जुनधारा । साहुहरुसँग ऋण काढेर व्यवसायमा हात हालेका सुनचाँदी व्यापारीहरु यतिबेला आन्दोलनमा होमिएका छन् ।

व्यवसायमा प्रायः युवाहरु भेटिन्छन् । हिउदो गर्मी नभनिकन शुक्रबार झापाभरीका सुनचाँदी व्यापारीहरु तीन सुत्रीय माग अगाडि सारेर जिल्ला प्रशासन कार्यालय नजिक नाराबाजी लगाउँदै लेखनाथ चोकमा कोणसभाको आयोजना गरेका थिए ।

सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गर, बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोबारको लागि प्रस्ट नीति निर्माण गर भन्ने मागसहित १५ दिनअघिबाट आ–आफ्नो क्षेत्रमा आन्दोलन गर्दै आएका व्यवसायीहरुले झापाको लेखनाथ चोकबाट उद्घोष गर्दै शुक्रबारबाट अनिश्चित समयसम्म व्यवसाय गतिविधि ठप्प पारिने बताएका छन् ।

कोणसभामा रत्न तथा आभूषण महासंघका झापा अध्यक्ष कृष्ण लोहारले वर्तमान सरकारले सुनचाँदी व्यवसायीमार्फत जनतालाई दुःख दिएको तर्क राखे । अध्यक्ष लोहारले अनावश्यक कर राखेर ऋण काढेर व्यवसाय सञ्चालन गरेको मार्का नबुझ्ने सरकारप्रति आपत्ति प्रकट गरे ।

यसरी नै सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य राजकुमार गुप्ताले गाउँबस्तीमा सुनचाँदी व्यवसाय गरेर बसेकामाथि कर लगाउँदै किलोको किलो रातारात सुन ओसारपोसार गर्नेहरुलाई संरक्षण गर्नु दुःखदायी कार्य भएको बताए । उनले सानालाई ऐन ठूलालाई चैन भन्दै सुन तस्करलाई बेवास्था गरेको देख्दा दुःख लागेर आएको बताए ।

जिल्ला अध्यक्ष रमेश बराइलीले नाख मुन्द्रा बनाउँदै बेच्ने साना व्यापारीको अस्तित्व मेट्न सरकार लागेको बताए । उनले शुक्रबारबाट आन्दोलनलाई सशक्त बनाउँदै लैजाने जानकारी दिए ।

बृहत रुपमा आयोजित आन्दोलनमा जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुको सक्रिय सहभागिता रहेको सुनचाँदी व्यवसायी संघ अर्जुनधाराका अध्यक्ष नरेन खातीले बताए ।