नेतृ पन्धाकको निधनले पहिचान पक्षलाई क्षति « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

नेतृ पन्धाकको निधनले पहिचान पक्षलाई क्षति


यलम्वर टाइम्स
२४ चैत्र २०८०, शनिबार ०३:०९

खुदुनाबारी । अधिकारको आन्दोलनमा अरुभन्दा सधैं दुई कदम अगाडि हुने मीना पन्धाकको निधनले पहिचानवादीहरुलाई ठूलो क्षति पुगेको छ ।

२०५० सालदेखि जातीय मुक्ति, धर्म निरपेक्षता र समान अधिकारको पक्षमा उभिदै आएकी पन्धाकको गत हप्ता निधन भएको थियो ।

लामो समयसम्म क्यान्सर रोगबाट लड्दै पहिचानमुखी आन्दोलनमा आफ्नो अभिव्यक्ति दिँदै आएकी पन्धाक पूर्वकै एक कुशल महिला योद्धा हुन् । समानुपातिक प्रतिनिधित्व बिना राष्ट्रको उन्नति हुन नसक्ने भन्दै मेची–महाकालीसम्म आफ्नो अभिव्यक्ति दिने पन्धाक राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष, किराँत याक्थुङ चुम्लुङको केन्द्रीय सदस्य भएर काम गर्दै आएकी थिइन् ।

झापाबाट राजनीति सुरु गरेकी मीना महिला हकअधिकारका विषयमा जनचेतनासँगै अधिकार प्राप्तिको आन्दोलनमा सधै सक्रिय थिइन् । जनमुक्ति पार्टीबाट पटक–पटक संसदीय चुनावमा लड्दै आएकी पन्धाक महिलाहरुको विकासका लागि आर्थिक उन्नति उत्तिकै जरुरी रहेको बताउँदै महिला उद्यमीका नामले पनि परिचित थिइन् ।

अर्जुनधारा–३ कैदले क्षेत्रमा बस्दै आएकी मीनाको अन्तिम श्रद्धाञ्जली सभामा जनमुक्ति पार्टी र किराँत याक्थुङ चुम्लुङले झण्डा ओढाएर बिदाई गरेको थियो ।

पार्टी अध्यक्ष केपी पालुङ्वाले मीना पन्धाकको विचार जनमुक्ति पार्टीका लागि मार्ग निर्देशक थियो तर आज उहाँलाई गुमाउनु पर्दा ठूलो क्षति हुन पुगेको बताए । पहिचानवादी नेता सन्जुहाङ पालुङ्वाले मृत्यु साश्वत सत्य भए पनि छोटो समयमा मीनाको मृत्युले पहिचानवादी आन्दोलनलाई क्षति भएको बताए ।

चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाकले स्वर्गीय मीना पन्धाक चुम्लुङको आँखामा नबिझाउने लालगेडी भएको बताए । उनले पन्धाकको निधनले चुम्लुङलाई ठूलो क्षति पुगेको बताए । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले स्व. मीना पन्धाकले पुर्याएको योगदानलाई सम्झिरहने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका झापा सचिव पदम कन्दङ्वाले सञ्चालन गरेको शोक सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जातीय संगठनका अगुवा, सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पुरुषभन्दा आदिवासी महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको हुँदा मीना पन्धाक जस्ता महिला पूर्वले पाउन कठिन हुने श्रद्धाञ्जली सभामा औल्याएका थिए ।