गिरी अध्यक्षमा आउँदा अर्जुनधारावासी हर्षित « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

गिरी अध्यक्षमा आउँदा अर्जुनधारावासी हर्षित


यलम्वर टाइम्स
२४ चैत्र २०८०, शनिबार ०३:१६

अर्जुनधारा । राजनीतिक क्षेत्रबाटै दीगो विकास सम्भव छ भन्दै मसिनो गरी संगठन हाक्दै आएका प्रेमबहादुर गिरी नेकपा एमाले झापाको ११ औं अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

संविधानसभाका सदस्य समेत भइसकेका गिरीमा विकास के हो ? कसरी गर्न सकिन्छ ? भन्ने पूर्ण ज्ञान छ । सर्वसाधारण जनताको भावनालाई ठेस पुर्याए त्यसको असर व्यक्ति हुँदै पार्टीसम्म पुग्नेछ भन्ने उनलाई राम्रो हेक्का छ । त्यसैले उनले अध्यक्षको सपथ ग्रहण गरेपछि आँत हास्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सामान्य परिवारमा जन्मेर खुदुनाबारी गाउँ विकास समितिको अध्यक्ष भई ग्रामिण जनताको पीडा र गर्नुपर्ने विकासका बारे राम्ररी बुझेका प्रेमबहादुर एमालेको अध्यक्ष पदमा छनौट भएपछि उनको गाउँ खुदुनाबारीका जनतामात्र होइन, अर्जुनधारा नगरबासीहरु पनि हर्षित देखिन्छन् ।

उनको घर अर्जुनधारा–३ कैदले वन नजिक पर्छ । ग्रामिण क्षेत्रबाटै विकासका लागि जिल्ला, प्रदेश र संघीय राजधानी दौडिदै आएका छन् । राजनीति होस् या सामाजिक परिवेश होस् हिजोका दिनभन्दा आजका दिन हरेक कुरामा पेचिलो बन्दै गएको छ । त्यसलाई उनले कसरी सम्बोधन गरेर हिंड्ने हुन्, त्यो भविष्यले बताउने छ ।

११ औं अधिवेशनबाट उपाध्यक्षमा शिव ढुंगेल, सचिवमा तुलसी काकी, उपसचिव असारु राजवंशी र अनिता कन्दङ्वा निर्विरोध भएका छन् ।

५ पदाधिकारी र १५ वटा पालिकाबाट ११०, खुल्ला सदस्य १५, आदिवासी जनजाति ५, दलित ५, अल्पसंख्यक मधेसी ३, मजदुर ५ र अपाङ्गबाट एक गरी १४९ सर्वसम्मत निर्वाचित भएका छन् । १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।

बिहीबार भएको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा एमाले नेता हिक्मत कार्की, रविन कोइराला, देवेन्द्र दाहाल, विशाल भट्टराई, रोमनाथ ओली, जसमाया गजमेर, मेनुका काफ्ले, जलवर्षा राजवंशी, इन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अर्जुनधाराबाट को–को भए जिल्ला सदस्य

नेकपा एमालेको जिल्ला सदस्यमा अर्जुनधाराबाट बलदेवसिंह गोम्देन, हरिबहादुर वाग्ले, एकदेव खनाल, खगेन्द्र इङ्नाम र कमल गुरागाई निर्वाचित भएका छन् ।

महिलाहरुमा तुलसा पोखरेल, बिमला मैनाली, कमला भण्डारी चयन भएका छन् । यसरी नै युवाहरुबाट दिवाकरलाल चौधरी, मुना बास्कोटा रहेका छन् ।