जनताले फ्याँकेको अवशेष मौलाउन दिन नहुने मन्त्री शर्माको भनाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जनताले फ्याँकेको अवशेष मौलाउन दिन नहुने मन्त्री शर्माको भनाई


यलम्वर टाइम्स
२९ चैत्र २०८०, बिहीबार १०:२२

बिर्तामोड । सञ्चारमन्त्री रेखा शर्माले अहिलेको व्यवस्थालाई अझ राम्रो बनाउन सबैको सहयोग आवश्यक भएको बताएकी छिन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको झापा जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आउँदा धेरै कुराको परिवर्तन गर्ने कार्यमै समय गएको तर त्यसभित्र नातावाद, भ्रष्टाचार र अनयमितताको जग बढ्दै गएको हुँदा त्यसको अन्त्यको लागि सरकार लागि परेको बताइन् ।

२०७२ को संविधान बनाउन कति कष्ट आइपर्यो, त्यो त गणतन्त्रसम्म ल्याउने नेतृत्वलाई थाहा छ । भर्खरै आएका केही दलले विगतलाई नकेलाई आरोपमात्र लगाएर आउनु वाञ्छनीय नहुने बताइन् ।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले यो गज उभ्याउनका लागि नेपाली महिलाको योगदान बिर्सनु नहुने बताइन् ।

कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरुको हक, अधिकार र समान सहभागिता बिना गणतन्त्र फस्टाउन नसक्ने ठोकुवा गरे । उनले हिजोआज जनताले फ्याँकेका पुराना अवशेषहरु देखा पर्दै गएको हुँदा त्यसप्रति खबरदारी आवश्यक रहेको बताइन् ।

अनेम संघ क्रान्तिकारी झापाकी अध्यक्ष बन्धना झाँगड ‘अनिसा’को सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ले जनताको पीडा बगरेल्ती भएको महशुस छ, तर काम गर्दै जाँदा केही छेकबार भए पनि नेकपा माओवादी केन्द्र सरकार चलाउने यन्त्रमा पुग्न सके मल्हम पट्टी लगाउन सकिने बताए ।

नेता आङ्बोले वास्तविक किसान, व्यवसायीको पीडा प्रति दल सचेत रहेको हुँदा जनताले चाहेको सेवा सुविधा पुरा गर्न पछि नपर्ने बताउँदै जनताकै भावना अनुसार अगाडि बढ्ने बताए ।

महिला नेतृ तथा पार्टी केन्द्रीय सदस्य धर्मशिला चापागाईंले नारी मुक्तिको आन्दोलनमा महिलाको भूमिका जति व्याख्या गरे पनि पुरा नहुने बताउँदै हिजोको दिनलाई सम्झेर गर्न सकिने काममा माओवादी केन्द्र पछि नहट्ने बताइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य झलकसिंह दर्लामी, होमकुमारी खापुङ, लक्ष्मी न्यौपाने ‘सरु’, मणिकुमार साम्पाङ, ज्योतिसिंह दर्लामी लगायतको आतिथ्य रहेको थियो ।

यसअघि प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले गरेको काम पारदर्शी मात्र होइन, यसअघि भएका कामभन्दा अझ सशक्त र जनताले चाहेको जस्तो कार्यहरु गर्दै अगाडि बढेको बताइन् । उनले मिडिया काउन्सिल खोलेर सबै मिडियालाई सम्मान गर्ने बताइन् ।

सेन्टरका झापा अध्यक्ष राजु पाठकको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन पुष्प खड्काले गरेका थिए ।