जनमुक्ति विचारको आन्दोलन गर्दै निर्वाचनमा जाने: उपाध्यक्ष पन्धाक « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जनमुक्ति विचारको आन्दोलन गर्दै निर्वाचनमा जाने: उपाध्यक्ष पन्धाक


यलम्वर टाइम्स
१२ चैत्र २०७३, शनिबार १०:४४

1
अर्जुनधारा / राज्यले शनिअर्जुन र खुदुनाबारीलाई गाभेर अर्जुनधारा नगरपालिका घोषणा गरेपछि दुई छुट्टाछुट्टै कार्य समितिको रुपमा काम गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी शनिअर्जुन र खुदुनाबारी एक भएको छ ।

शनिबार शनिश्चरे बजार स्थित सामुदायिक भवनमा प्रथम नगर अधिवेशनको आयोजना गर्दै नगर कमिटी शनिअर्जुन र गाउँ कमिटी खुदुनाबारी औपचारीक रुपमा एक भएका हुन् । नगर अधिवेशनको उद्घाटन गर्दै पार्टी उपाध्यक्ष मीना पन्धाकले राज्यले पहिचानवादीहरुको मागलाई बेवास्ता गर्दै स्थानीय निर्वाचनको मिति तोकिरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टीले विचारको आन्दोलन गर्दै निर्वाचनमा जाने बताए । राज्यको हरेक तह र तप्कामा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, संघीयता लगायतका विषयलाई मूल मुद्दाको रुपमा उठाउँदै आएको र वैचारिक रुपमा पार्टी सक्षम र योग्य भएको हुँदा अधिराज्यका ७५ वटै जिल्लामा राष्ट्रिय जनमुक्तिको उम्मेद्वार रहने बताईन् । अधिवेशनको प्रमुख अतिथि समेत रहेकी पन्धाकले राज्यबाट ३ जना महिलाले अधिकार प्राप्त गरे भन्दैमा समग्र महिलाहरुले अधिकार नपाएको बताइन् । उपाध्यक्ष पन्धाकले एकात्मकवादी चिन्तन र एक जातीय शासन प्रणालीले मुलुकमा जरो गाढेको हुँदा आदिवासी जनजाति, दलित, पिछडा वर्ग सबै एक भएर त्यसको विरुद्धमा लाग्नु पर्ने बताइन् ।

अर्का वक्ता विशिष्ट अतिथि उपाध्यक्ष मोहन धिमालले ठूला दलहरुले राष्ट्रिय जनमुक्ति पार्टीको सिद्धान्तलाई बेवास्ता गरे पनि कालान्तरमा लागू भएर जाने बताए । का3र्यक्रममा बोल्दै उपाध्यक्ष धिमालले अहिलेको चर्चामा रहेको थ्रेसहोल्ड आदिवासी, जनजाति, अल्पसंख्यक र तिनीहरुको प्रतिनिधित्व गर्दै आएका पार्टीको बाधकको रुपमा रहेको बताए । धिमालले पार्टीसँग १८ वटा साना दल समावेश हुने तर्खरमा रहेको समेत जानकारी दिए । त्यस्तै गरी लिम्बूवान राज्य परिषद सचिव कृष्णकुमार थेवेले नेकपा एमालेको मेची–काली अभियान निभ्न लागेको बत्तिको उज्यालो भएको बताए । कार्यक्रममा बोल्दै थेवेले जबसम्म एक जाति नीति र एकात्मक सोचको अन्त्य हुँदैन तबसम्म जातीय र वर्गीय मुक्ति हुन नसक्ने बताए ।

शनिअर्जुन नगर कमिटी अध्यक्ष तेज योङहाङको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य शिव आचार्य, महिला मोर्चा अध्यक्ष रिना थापा मगर लगायतले आ–आफ्नो विचार राखेका थिए भने भूपू सैनिक संगठन केन्द्रीय उपाध्यक्ष दुर्गाबहादुर कटुवाल, झापा जिल्ला अध्यक्ष पर्शुराम मगर, संघीय सभा सदस्य बलिराज इङनाम, नारायण चोङवाङ, लक्ष्मी इङ्नाम, जिल्ला सचिव पदम कन्दङ्वा, तोपगाछीका मानबहादुर थापा, कनकाईका डकमाया थापा, शिवसतासीका खड्ग सम्वाहाम्फे, बुद्धशान्तिका नन्द इधिंगु, किसान मोर्चा अध्यक्ष सुमन राई, विद्यार्थी मोर्चाका सुमन मगर लगायतको आतिथ्य रहेको थियो ।

खुदुनाबारी अध्यक्ष झलक याम्फूले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठन सचिव भुपाल राना मगरले गरेका थिए भने कलाकारद्वय आशिस मगर र मुना मगरले नृत्य प्रस्तुत गरेका थिए ।