सिंहदरबार सफा गर्न पहिचान उम्मेद्वार आवश्यकः सूर्यवंशी « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

सिंहदरबार सफा गर्न पहिचान उम्मेद्वार आवश्यकः सूर्यवंशी


यलम्वर टाइम्स
७ बैशाख २०८१, शुक्रबार १३:४७

मंगलबारे । आसन्न उपनिर्वाचनका लागि पहिचान पक्षधरलाई जनमत जुटाउन विभिन्न राजनीतिक दल तथा मानव अधिकारवादीहरुले सम्बोधन गरिरहेको अवस्था छ ।

इलाम बजारमा यसअघि कानुन व्यवसायी स्वागत नेपाल, मानवअधिकारवादी युग पाठक लगायतले सम्बोधन गर्दै पहिचान सबैको साझा मुद्दा भएको बताएका छन् ।

चार राजनीतिक घटकको साझा उम्मेद्वार इलाम क्षेत्र नं. २ का डकेन्द्रसिंह थेगिम भएको हुनाले उनको विजयपछि सबै पहिचानवादीहरुको विजय हुनेमा विश्वास दिलाए । पहिचान जनजातिको मात्र हुँदैन, सबैको नेपालीहरुको हुने भएको हुँदा खुलेरै पहिचानवादी उम्मेद्वारको पक्षमा मत जाहेर गर्न आग्रह गरे ।

यसरी नै शुक्रबार इलामको मंगलबारेमा पनि पहिचान पक्षधर नेताहरुले सिंहदरबार सफा गर्न डकेन्द्रको आवश्यकता भएको हुँदा मुढामा मतदान गर्न आग्रह गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले अन्तरिम संविधान २०६३ को धारा १३७ मा सबै वर्ग सम्प्रदायको सम्मान पहिचान हुनेछ भन्दै २०७२ को संविधान बनिसक्दा पनि ठूला दलले आदिवासी जनजातिमात्र होइन, सर्वसाधारणको हकलाई कुण्ठित गरिएको हुँदा डकेन्द्रको विजयले १३७ धारा बिउझाउँदै सबैको जीत हुने बताए ।

विशेष अतिथिको रुपमा सम्बोधन गर्दै सूर्यवंशीले भ्रष्टाचार र नातावादको बेथितिले नदीनाला मात्र होइन, देश नै विदेशीलाई बन्धक लगाउने काममा ठूला दल लालयीत भएको हुँदा बैशाक १५ को सूर्य ग्रहणप्रति सचेत रहन रुख देखा परे पनि त्यसभित्र रहेको अजिंगरप्रति विश्वास नगर्न आग्रह गरे ।

उनले घण्टी कि मन्दिरमा बजेको राम्रो कि जंगलमा चराउन लगिएको गाईगोरुलाई लगाएको राम्रो तर घण्टी बजाउँदै सिंहदरबार जाने शोभा राम्रो नहुने बताए । चुनावी सभामा आङकाजी शेर्पा, आरबी मंगोल, राकेश राई, भीम राई, याशेली योङहाङ र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले सम्बोधन गरेका थिए ।

कार्यक्रममा गंगा फियाक, देवेन्द्र लिम्बू, सुनिता थेगिम लगायतले सांगीतिक प्रस्तुति दिँदै मुढामा मत जाहेर गर्न आग्रह गरे । कार्यक्रममा जसपा, नाउपा र मञ्च सम्बद्ध नेताहरुको उपस्थिति रहेको थियो । यता सञ्जुहाङ पालुङ्वाको नेतृत्वमा हाक्पारे साम्लोमार्फत डकेन्द्रलाई मत माग्दै गाउँ पसेका छन् ।