पहिचानवादीलाई चारैतिर आक्रमण « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

पहिचानवादीलाई चारैतिर आक्रमण


यलम्वर टाइम्स
८ बैशाख २०८१, शनिबार ०२:४१

इलाम क्षेत्र नं. २को उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई चारैतिरबाट आक्रमण देखिन्छ । पहिचान पक्षधरका साझा उम्मेद्वार थेगिमको संगठानिक संरचना नभएको कारण उनी आक्रमणको सिकार हुन पुगेका हुन् । थेगिमको पक्षमा जनमुक्ति, जसपा, मञ्च सम्बद्ध लिम्बूवान र नागरिक उन्मुक्ति पार्टी भए पनि ति दलहरुका संगठन संरचना कमजोर भएकाले उनलाई चुनौति बनेको हो । थेगिमलाई पहिचानको एकमात्र साझा उम्मेद्वार भनेर पहिचान पक्षधरहरुले राम्रो सम्मान गरेको पाइन्छ तर मतदान हुँदासम्म ठूला दलका सांगठानिक संरचनाले पहिचानवादीहरुको मत बटारिदिने हुन कि भन्ने आशंका छ ।

प्रदेश १ लाई हिक्मत सरकारले कांग्रेस र माओवादीलाई फकाएर कोशी प्रदेशको नाम राख्दै गर्दा पूर्वका तमाम आदिवासी जनजातिले कोशी नाम सच्याउन आन्दोलन गरेका थिए । आन्दोलनमै एक लाजेहाङ नाम गरेका योद्धाको ज्यान समेत गएको थियो । त्यसपछि देशी विदेशी पहिचानवादी योद्धाहरुले ‘नो कोशी’ भन्दै शान्तिपूर्ण आन्दोलन गर्दै लगातार विरोध प्रदर्शन गरेपछि नाम सच्याउने वा पुनः मुल्याङ्कन गरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो त्यही छलफलमा नाईके डकेन्द्रसिंह थेगिमलाई पहिचान पक्षधरका साझा उम्मेद्वार खडा गरी आज पहिचानवादीहरु इलाम क्षेत्र नं. २ मा मत माग्दै हिंड्दै गरेको अवस्था छ । उभार राम्रो छ, समर्थन सबैतिरबाट छ तर, संगठन संरचना भावनात्मक भएको कारण त्यतिकै पिरलो पनि देखिन्छ ।

ठूला दल एमाले, नेपाली कांग्रेसको संगठन संरचना व्यापक छ तर विगतका दिनमा ति दलहरुले जनतामा पारेको निराशले जनता आजित छन् । संगठन राम्रो बनेको एमाले पनि पहिचानवादीसँग आत्तिएका छन् । नेपाली कांग्रेस पनि रास्वपासँग त्रसित देखिन्छ । स्व. नेम्वाङसँग झिनो मतले पराजय भोगेका कांग्रेसका डम्बरलाई आफ्नै दलबाट क्षति होला कि भन्ने आशंका देखिन्छ । आजका मितिसम्म मुढा, सूर्य, घण्टी र रुख प्रतिस्पर्धाकै बाटोमा पाइन्छ । तर निर्वाचन प्रतिस्पर्धामा कुटनीतिको ठूलो भूमिका हुन्छ । कसलाई कहाँ कसरी मत प्रभावित पारेर जित्न सकिन्छ भन्ने विषयमा चतुर रणनीति नबनाएसम्म जीत हात पार्न सकिदैन । त्यसमा पहिचानवादी हौं भन्ने जनमुक्ति, जसपा, नाउपा र मञ्च सम्बद्ध लिम्बूवान पार्टीका चतुर नेताहरु ७ दिनभित्र साम, दाम, दण्ड र कुटनीति निर्माण गरेर टोल–टोलमा हिंड्न सक्नुपर्छ । अर्थात् कालो बादल पहिचानपक्षमा मडारिएर बर्सिनेवाला छ । तर बादलभित्रको पानीलाई सत्तासिन हावाले उडाइ लग्यो भने पहिचानपक्षमा गम्भीर असर पर्न जान्छ । त्यसतर्फ सचेत हौं ।