मित्रताको अन्तिम रात « Yalambar Times
२ श्रावण २०८१, बुधबार

मित्रताको अन्तिम रात


यलम्वर टाइम्स
८ बैशाख २०८१, शनिबार ०४:३०

दिनभरको कार्य व्यस्तताका कारण थकित हात र शरीर बोकेर पायक पर्ने मधुशालामा केही बेर अल्मलिएर तिर्खाएको सुख्खा ओठमा टर्रो भए पनि एक दुई गिलास रक्सी पिएर थाकेका शरीरका साथ थाकेका मस्तिष्क पनि पुनः दुरुस्त पार्न आज पनि म मधुशालाको दैलोको ठेली नाघेर भित्र पुगें । व्यस्त रहेका साहुजीलाई हातले इशारा गरेर म सधैंको टेवल थचक्क बसें । कान बिझाउने चस्मा खोलेर पसलभित्रका दृश्यहरु निहारे । केही बेरमा मेरो टेबलमा सितनका साथ एक बोतल रक्सी ल्याइदियो । गिलासमा खन्याएर आफ्नो धुनमा पिउन लागें ।

अचानक छेउको टेबलमा दुई जना मानिसहरु आएर बसे र उनीहरु गफिन थाले । ‘आउँभित्र, आजको अन्तिम रात हामी मित्रताको जाम चलाऔं । यतिका वर्ष हामी एक आपसमा सुख, दुःख बाँड्दै काँधमा काँध मिलाई एकै आत्मा सरह रहेका थियौं । तिम्रो घरको जन्ति पनि गएको हो । मर्दा मलामी पनि गएको थिएँ । तिम्रो खुशीमा रमाएको थिएँ अनि तिम्रो दुःखमा रोएको थिएँ । अब भोलिको मिर्मिरेको आगमनका साथ तिमी आफ्नो कर्ममा हुन्छौं र म आफ्नो कर्ममा । त्यसैले साथी आउँ आजैको रात हो हाम्रो मित्रताको अन्तिम रात । खुशी साथ पिउँ तिम्रो मनमा रहेको तुष खोलेर सुनाउ । म पनि मेरो मनमा भएको द्वेष सबै पोखौंला ।’

‘यस्तो के हुने हो र ? यतिका वर्षसम्मको हाम्रो मित्रतामा चट्याङ पर्ने हो ? तिमी जस्तै राजनीतिक पार्टीको कार्यकर्ता म पनि हुँ । जति तिमीलाई आफ्नो पार्टीको अपनत्व जाग्छ, त्यति नै मलाई पनि मेरो पार्टीको माया लाग्छ । म राजनीतिज्ञ होइन राजनीति योद्धा हुँ । एक योद्धाले आफ्नो राज्य बचाउनका लागि हरसम्भव प्रयत्न गर्छ । चाहे छिमेकीको घर नै किन भत्काउन नपरोस् ।’ अर्कोले बोल्यो ‘साथी तिमीलाई नशा चढ्न थालेछ । अहिले नशामा यो शब्द बोल्दैछौं । तर, भोलि नशा उत्रिए पश्चात तिमीले आजको शब्दहरु सबै भुल्नेछौं ।’

साथी म मातेको छैन । आदेशमा बोल्दैछु । आजभन्दा ५ वर्ष पहिला पनि यस्तै अवस्था आएको हो । तिमीलाई थाहै छ । चुनावको चटारो सुरु भएको छ । चुनावको राँको सल्किसकेको छ । त्यो राँकोको रापले के–के जल्ने हो । कहाँ–कहाँ त्यही राँकोको उज्यालो छरिने हो । अनि त्यही राँकोको रापमा चिसो हातहरु सेक्न आउनेहरु पनि धेरै हुन्छन् । तर मैले त चुनावलाई यति गम्भीरताका साथ निहारेको छैन मित्र । गोप्य मतदान हो । चुपचाप जाने हो । लाइन बस्ने हो । भोट हाल्ने हो, अनि चुपचाप फर्कने हो ।

मित्र तिमीलाई झुट बोल्न आउँदैन या आफ्नो व्यक्तित्व लुकाउन खोजेको हो ? मलाई थाहा छ तिमी पनि कुनै एक पार्टीको सदस्य हौं । भलै हामी एक पार्टीको सदस्य होइनौं । चुनाव लागेको छ तिमी भोलिबाट आफ्नो पार्टीको वर्चश्व बचाउन चुनावी दौडमा भाग लिन्छौं । म पनि भोलिबाट नै मेरो पार्टीको वर्चश्व बचाउन त्यही दौडमा होमिन्छु । म तिम्रो पार्टीलाई गाली गर्छु, तिमी मेरो पार्टीलाई गाली गर्छौं । भोटर्सका आँखामा लोभका मसला पिसेर दल्छौं । तिमीहरु त्यहाँबाट हिंड्छौं अनि हामी त्यहाँ पुगेर हामी पनि झुटका सपना साबुन पानीले पखाल्छौं । तिमीहरुले सुनाएका मीठामीठा आश्वासनका शब्दहरु हामीले दिएका द्रव्यका अगाडि सबै फिक्का भएर जानेछ ।

‘यसमा देशको दुर्भाग्य भनौं या मतदाताको दुर्भाग्य ?’ अर्को बोल्यो ‘यसमा दुर्भाग्यको कुरा कहाँबाट आयो र मित्र ? निर्वाचन एक लडाई हो । त्यसमा साम, दाम, दण्ड, भेद प्रयोग हुन्छ । यो एक क्षणिक युद्ध हो । आ–आफ्नो पावरले सक्ने, शक्ति प्रयोग गर्ने हो । इतिहास जित्नेको हुन्छ । लाज, घिन सबै ताकमा राखेर चुनावमा होमिएपछि त्यस्ता झुटको खेतीहरु कति गरिन्छ र कुन सीमासम्म गरिन्छ, त्यसको टुंगो हुँदैन ।’ त्यो त मलाई थाहा छ, राजनीति के हो भन्ने । निर्वाचन समय किसानलाई असारको १५ झैं नेता र कार्यकर्ताहरुलाई चटारो हुन्छ । मानो खाएर मुरी फलाउने चटारो त किसानहरुलाई मात्र हुँदैन । वर्षौ बेरोजगार भएर बसेका हरेक कार्यकर्ताहरु पनि ओठमा चिप्लो दलेर जिब्रोमा गुलियो मह चाटेर गाउँका हरेक झोपडीमा काका–काकी, मामा–माईजु भन्दै साइनो गाँस्दै भोको बाख्राको अगाडि हातमा अलिकति हरियो घाँस बोकेर दुनो सोझ्याउन आउँछन् ।’

तिमीलाई सबै थाहा छ मित्र । यो महायुद्धमा सबै पार्टी र पार्टीका कार्यकर्ताहरु आ(आफ्नो कित्तामा बाँडिन्छन् । एउटा पार्टीका कार्यकर्ताले अर्का पार्टीका कार्यकर्ताको जीवनभरका खोटहरु संकलन गरेर समाजका सामु छरपष्ट पारिदिन्छन् । हरेक नजर सत्रुताले भरिएका आँखाले हेर्छन् । तर चुनाव सम्पन्न भए पश्चात उम्मेद्वार विजयी भएर आफ्नो गन्तव्य पुग्छन् । त्यस पश्चात हिजोको झोले कार्यकर्ताहरु फेरी आफ्नो दिनचर्या सहज रुपमा फर्कन्छन् । यस्तोमा चुनावताका पलाएका दुश्मनीको औचित्य के ? मित्र, दुश्मनीको औचित्य के भन्छौं ? भनिन्छ नि राजनीतिमा स्थायी सत्रु कोही पनि हुँदैन । त्यस्तै स्थायी मित्र पनि हुँदैन । निर्वाचन दशैं तिहार जस्तो चाड हामी जस्तो झोले कार्यकर्ताका लागि त्यस्तै महान चाड नै मान्नुपर्छ । यो चाडमा के पाइदैन र ! मासु भात, रक्सी, पैसा अनि उम्मेद्वारको अघिपछि गजक्क परेर हिंड्दाको गौरवता । आहा ! हामी जस्ता कार्यकर्ताका लागि यस्तो चाड प्रत्येक २ वर्षमा आइरहे अरु काम गर्नै पर्थेन ।

भो मित्र राजनीतिक पार्टीको यत्तिको झोले कार्यकर्तापन पनि राम्रो होइन । यस्तै झोलेपनको आशक्तिका कारण नेताहरु हामी जस्ता कर्मठ कार्यकर्ताहरुलाई सदा प्रयोग गरिरहेको हुन्छन् । उनीहरुले गरेका गल्तीहरुलाई ढाकछोप गर्ने हामी जस्ता झोले कार्यकर्ता रहेसम्म खबरदारी गर्नेहरु पनि मौन रहन बाध्य भइरहेका छन् । अनि देशमा विकास होस् या नहोस् प्रत्येक चुनावमा उनीहरुले विजय प्राप्त गरिरहन्छन् । चोक्टा उनीहरुले खान्छन्, हामीलाई झोलमा डुबाइरहन्छन् ।

त्यो त स्वाभाविक कुरा हो मित्र । नेपाली उखान नै छ नि ! जसले मह काड्छ, उसले हात चाट्छ । मह काट्ने आँट गर्न सक्नुपर्छ । ल साथी कुरा यही हो । आजको यो टेबलको खर्च मेरो तर्फबाट भयो । अबको १ महिना तिमी आफ्नो कित्तामा अनि म आफ्नो कित्तामा । मानिसले जसको नुन खान्छन्, त्यसप्रति इमान्दारीता देखाउनु मेरो कर्तव्य हो । त्यसकारण भोलिको सूर्योदय पश्चात हामी केवल प्रतिस्पर्धी मात्र रहन्छौं । चित्त नदुखाउन मित्र यो संसारको ऋत नै हो । मेरो मनमा तिमीप्रति स्नेह रहनेछ र तिम्रो मनमा मप्रति पनि स्नेह रहनेछ । तर तिमी र म अलग–अलग पार्टीको कार्यकर्ता भएको कारणले आ–आफ्नो जिम्मेवारी सम्हालौं । मनमा किञ्चित द्वेष नराखी आजको रात मित्रताको अन्तिम रात सम्झिनु । चुनाव सकिएपछिका दिनहरु फेरी फर्केर आउनेछ । त्यस पश्चात तिम्रो र मेरो मित्रता फेरी निरन्तर चलिरहनेछ ।

यति सुनेपछि अर्को मित्र लामो श्वास फेर्दै छततर्फ हेर्न लाग्यो । उसले केही नबोली टिस्यु पेपर निकालेर हात मुख पुछ्दै साथीसँग हात मिलाएर निशब्द टेबलबाट उठेर सरासर आफ्नो बाटो लाग्यो । उ चाही कुटिल मुस्कान छर्दै सिगरेट सल्काएर फुरुरुरु… धुँवा छाड्यो । अनि टाउको हल्लाउँदै काउन्टरतर्फ लाग्यो ।

म देशको युवाहरुको सोचाइ र झोलेपनको हद नाघेको देखेर मन पिरो भएर आयो । मञ्चमा पसिना तर्तर तर्तर चुहाउँदै सांसदको जागिरको अन्तर्वार्ता दिइरहेको नेताहरुलाई यस्तै झोले प्रवृत्तिका कार्यकर्ताले बुई चढाएर कुर्सीमा आसिन गराए पश्चात बिरालोले बच्चा जन्माएर झाडीमा फ्यालेको जस्तो अवस्था आउँदा पनि नचेत्ने यस्ता कार्यकर्ता जबसम्म रहन्छन् तबसम्म देश खोक्रो भइरहने कुरा मनमनै सोचे । लाग्यो जनताले जबसम्म आफ्नो चेत खोल्दैन नि तबसम्म नेताले आश्वासनको छाला तन्काएर मादल झै बजाइरहन्छ ।

रात धेरै छिप्पे जस्तो लाग्यो, हातमा रहेको गिलासको रक्सी अन्तिम घुट्को स्वाट्ट पारेर म पनि आफ्नो बाटोतर्फ लागें ।