साधुटार तपाईको मन लोभ्याउने स्थल « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

साधुटार तपाईको मन लोभ्याउने स्थल


यलम्वर टाइम्स
१० बैशाख २०८१, सोमबार १०:५५

[बिजय बोध लावती]

पाँचथर । चिसो मौसमसँगै हिम श्रङ्खलाका सुन्दर दृश्यले मनमोहक बनाउने साधुटारमा पर्यटकहरुको घुईंचो लाग्ने गरेको पाइन्छ ।

उच्च पहाडको चुचुरोमा अवस्थित साधुटारमा पर्यटटकको जमघट बाक्लै हुन्छ । त्यहाँ भएको पोखरीसँगै नजिकै देखिने कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका लोभलाग्दा दृश्यले जो कोहीलाई आकर्षित गर्ने हुँदा पर्यटकका लागि रोजाईको गन्तव्य बन्दै गएको हो ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ८ मा पर्ने साँधुटारमा दैनिक सयौं पर्यटकहरु पुग्ने गरेको स्थानीय बताउँछन् । पर्यटकहरुको प्राथमिकतामा पर्दै गए पनि आवश्यक पूर्वाधारको अभाव हुँदा भने जस्तो हुन नसकेको बताउँछन् ।

‘सरकारबाट रकम विनियोजन गरेर थप आकर्षण बनाउन सके लोभलाग्दो पर्यटन क्षेत्र हुन सक्छ’ पूर्व वडाध्यक्ष शेरबहादुर नेम्वाङले भने, ‘तर त्यसो हुन नसक्दा जति हुनुपर्नेथ्यो त्यति हुन सकिरहेको छैन ।’ नेम्वाङले साधुटारमा अधिकांश जग्गा निजी भएको र निजी स्वामित्यवमा रहेको जग्गाहरुमा सरकारी लगानी गर्ने प्रावधान नहुँदा पनि विकासमा पछि परेको सुनाए ।

विगत सात वर्ष अघिबाट पर्यटकीय स्थलको रुपमा विकसित साधुटारमा सानो पोखरी भए पनि हिमालको मनमोहक छाँया देखिनु त्यस स्थानको प्रमुख आकर्षण र विशेषता हो ।

फाँटिलो खुल्ला चौरबाट अन्य जिल्लाको रोचक तथा अनौठो भुगोल र मनै लोभ्याउने हिम श्रृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । हिउदको समय हिउ परेर त्यस स्थान थप आकर्षण बढाउने हुँदा पर्यटकको घुईंचो लाग्ने गर्छ ।

त्यसै आसपास अन्य धार्मिक स्थल तथा पर्यटकीय लबे्रकुटी र सिलौटी, सुकेपोखरी लोहाकिल क्षेत्रहरु छन् । यी क्षेत्रलाई जोड्ने गरी पर्यटकीय कोरिडोर बनाउन सके राम्रो हुने होटल व्यवसायी टाँसी शेर्पाले बताए ।