अर्जुनधारा धामको उचाइमा समितिको कर्तव्य « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारा धामको उचाइमा समितिको कर्तव्य


यलम्वर टाइम्स
१८ बैशाख २०८१, मंगलवार ११:४०

पूर्वको प्रसिद्धी कमाएको ऐतिहासिक धार्मिक स्थल मध्ये अर्जुनधारा जलेश्वर धाम एक हो । यसको इतिहास त्यतिधेरै लामो छैन तर यस क्षेत्रका जनमानसले गोडमेल र संरक्षण गरेकै कारण प्रसिद्ध छ । मन्दिर परिषदमा बोटविरुवा र सुपाडी लगाउने अग्रजहरु धामलाई छाडेर बैकुण्ठमा बास बसेका धेरै होलान् । तिनका सन्ततीले दान र संरक्षण अझै पनि गरिरहेका छन् । धामलाई केही आइपर्यो भने काँध हाल्ने धर्मानुरागीहरु पनि प्रशस्तै छन् । त्यसैले अर्जुनधारा जलेश्वरधामको उचाई सगरमाथा जस्तै उच्च बन्दै गएको छ ।

यस्तो अवस्थामा अगाडि बढ्दै आएको अर्जुनधारा जलेश्वरधाम नेपालमा हेर्न लायक, घुम्न लायक र धार्मिक पर्यटकीयको सय गन्तव्य सूचीमा परेको छ । हिजो जलेश्वर धामलाई धाम बनाउने पूर्वजहरुलाई सम्मान गर्दै सम्झनै पर्छ । आज अर्जुनधारा धाम हेर्न लायक गन्तव्य सूचीमा परेको कारण । अझ किरात धर्मका अग्रणी गुरु आत्मानन्दज्यूले भन्नु भएको छ, महाभारत कालखण्डको कथासँग जोडिएको स्थान र सबै जातजातिहरुले सम्मान स्वरुप मान्दै आएको मठ अर्जुनधारा जलेश्वरधाम भएको कारण यस धार्मिक क्षेत्रको उचाई अझ चुलिएर जाने विश्वास छ ।

यतिका विश्वास रहेको अर्जुनधारा जलेश्वर धामलाई अझ लोकप्रिय बनाउन बहुधार्मिक आकारतर्फ जान जरुरी छ । ओमकार परिवारको उर्भर थलो र सबै वर्ग र सम्प्रदायलाई समेट्ने कार्यक्रमहरु गर्नु र देखाउनु पर्ने अवस्था देखिन्छ । विश्वमा रहेको चारधाम सबै ओमकारहरुको मुटु हो भनेर दर्शन गर्न र हेर्न पुग्छन् । त्यस्तै धाम समितिले त्यसतर्फ ख्याल राख्न जरुरी छ । पुराण तथा धार्मिक कार्यक्रम गरेर जम्मा भएको रकमले धामलाई प्रभावकारी बनाउन सक्दैन । त्यो त वार्षिक चाँड पर्व जस्तो हुन जान्छ । त्यसैले धाम परिषदभित्र सबैको आस्था देखिने स्वरुप आवश्यक छ । त्यसो हुँदै धामको गरिमा अझ बढेर जाने देखिन्छ । त्यसतर्फ ध्यान पुग्न जरुरी छ ।