अभिभावकको अर्जुनदृष्टिमा शनिश्चरे मावि « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

अभिभावकको अर्जुनदृष्टिमा शनिश्चरे मावि


यलम्वर टाइम्स
८ जेष्ठ २०८१, मंगलवार ०७:५२

अर्जुनधारा । कुनै विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरी रेणु आफ्नो आमासँग भर्ना हुन शनिश्चरे माविमा आएकी थिइन् । ४ महिने नानी च्यापेर छोरीको भर्ना गर्न विद्यालय आएकी देविकाले कक्षा ६ मा नाम लेखाइदिन निक्कै अनुरोध गर्दै प्रधानाध्यापकसँग भन्छिन्, ‘मेरी छोरी फेल भए पनि होस्, तर कक्षा ६ मा नाम लेखाइदिनु सर ।’

सामान्य विद्यालयबाट शनिश्चरे माविमा नाम लेखाउन जाँदा अभिभावकको यो आग्रह निकै बेर चलेको थियो ।

अभिभावकको आग्रहलाई विद्यालयका प्रअ विनोदकुमार गौतमले अनुरोध गर्दै शनिश्चरे मावि यति बेला अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुन्छ । तपाईको छोरीले राम्रोसँग सामान्य शब्दहरु उच्चारण गर्न नसक्दा कक्षा उत्तीर्ण हुन सकिनन् भने दोष हामीलाई आइपर्ला ? भन्दा रेणुकी आमा देविकाले भनिन्, कक्षा छिचोल्न नसक्दा के भयो त ? विद्यालयको अनुशासन, सरसफाई र विद्यार्थीको पोशाक हेर्दा लोभलाग्दो बनेको छ । त्यसैले पनि छोरीलाई अयन्त्र नलगि यही विद्यालयमा नाम लेखाउन आएकी हुँ ।’

दूधे बालक च्यापेर उत्साहि हुँदै शनिश्चरे माविमा प्रवेश गरेकी देविकाले अरु विद्यालयमा नाम लेखाउन सक्थे तर शनिश्चरे माविको विद्यार्थीहरुको अनुशासन र पोशाक लोभलाग्दो देखे । त्यसैले आएकी हुँ सर ! भन्दै व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालसँग पनि त्यही शब्द राखिन् ।

व्यवस्थापन समितिका अध्यक्ष र प्रअ गौतम बीच छलफलपछि रेणुको नाम लेख्ने काम भयो । उनकी आमा देविका लामो सास फेर्दै घर फर्किन् ।

विगत शनिश्चरे माध्यमिक विद्यालयको अवस्था नाजुक थियो । पछिल्लो पटक चेतामणि खनाल हुँदै विनोद गौतमसम्म आइपुग्दा विद्यालयले आफ्नो गुणस्तर फराकिलो पार्दै आएको पाइन्छ ।

कक्षा ८, ९ र १० मात्र अंग्रेजी माध्यमबाट अध्यापन गराइन्थ्यो । तर केही वर्षयताबाट नर्सरीबाटै सेक्सन निर्माण गरी अंग्रेजी माध्यमलाई प्राथमिकता दिएको हुँदा विद्यालयको लोकप्रियता बढ्दै गएको अभिभावक संघका अध्यक्ष गंगाप्रसाद अधिकारी बताउँछन् ।

शनिश्चरे मावि कक्षा १२ सम्म अध्ययन हुन्छ । अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरु सामान्य परिवारकै छन् । अंग्रेजी माध्यमसँगै रहनसहन र पोशाकलाई विद्यालयले प्राथमिकता दिन थालेपछि हाल विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या १२ सय नाघेर आएको छ ।

विद्यालयका वातावरण पनि सन्तुलन देखिन्छ । पुस्तकालय, कम्प्युटर कक्षा पनि बन्दै गएको छ । निजी विद्यालयका जस्तै सुविधा भएपछि हिजोआज निजी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरु भर्ना भएका छन् ।

प्रधानाध्यापक गौतमका अनुसार निजी विद्यालयले दिने अतिरिक्त क्रियाकलाप हामीले प्रदान गर्दै आएका छौं । एथलेटिक्स, चित्रकला, गीतसंगीत साथै अवलोकन भ्रमण पनि विद्यालयले गर्दै आएको हुँदा पूर्व प्रअ मोहन जोशीको पालामा हुने अनुशासन हाम्रो पालामा आमअभिभावक र विद्यार्थीहरुलाई देखाउँदै प्रदान गर्दै आएका छौं ।

विशेष गरी हिजोआज सम्पन्न परिवारका छोराछोरीहरु रोजाई पनि शनिश्चरे मावि हुन पुगेको छ । त्यसैले गत वर्षभन्दा यो वर्ष विद्यार्थीको चाप बढेको हो । प्रअले अगाडि भने, ‘शिक्षकहरुमा राजनीतिक छाप त छ, तर विद्यालयभित्र शिक्षकहरु जिम्मेवार भएको हुँदा विद्यालयको गुणस्तरमा सुधार आएको छ ।’

व्यवस्थापन समितिका अध्यक्ष दाहालका अनुसार अरु विद्यालयमा शिक्षकहरुले के गर्छन् थाहा छैन तर हाम्रो विद्यालयमा शिक्षकहरु कक्षाकोठामा प्रवेश गरेपछि मोवाइल प्रयोगमा निषेध गरिएको छ ।