दोमुखालाई पूर्वकै धार्मिक पर्यटन हब बनाइने « Yalambar Times
२ असार २०८१, शनिबार

दोमुखालाई पूर्वकै धार्मिक पर्यटन हब बनाइने


यलम्वर टाइम्स
९ जेष्ठ २०८१, बुधबार ११:५९

दोमुखा । विश्व दूरसञ्चार दिवसको अवसर पारेर दोमुखामा आन्तरिक पर्यटनका लागि अन्तरक्रिया सम्पन्न गरिएको छ ।

सताक्षी प्रेस क्लबको आयोजना तथा दोमुखा धार्मिक तथा पर्यटकीय व्यवस्थापन विकास समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रेस क्लबको तर्फबाट १४ जना सञ्चारकर्मी र दोमुखा पर्यटन बोर्डका पदाधिकारी, सदस्य तथा स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा दोमुखाको विकास, आन्तरिक तथा बाह्य पर्यटनको व्यवस्थापन, भावी योजना र रणनीति, पर्यापर्यटन, प्राकृतिक चिजवस्तुको उपभोग, दुरुपयोग जस्ता विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

कार्यक्रममा दोमुखामा निर्माण भएको भौतिक संरचना, प्राकृतिक स्थलको संरक्षणको विषयमा पर्यटन बोर्डका अध्यक्ष धनप्रसाद लिम्बूले पत्रकारहरुलाई बुँदागत रुपमा स्पष्ट पारेका थिए ।

उनले दोमुखालाई पूर्वकै धार्मिक पर्यटन हबको रुपमा विकास गर्न चालेका कदम र प्रयासहरुको बारेमा बोल्दै दोमुखा पुरानो अवस्थाबाट माथि उठेको बताएका छन् ।

अध्यक्ष लिम्बूले ‘हाम्रो दोमुखा, राम्रो दोमुखा’ बनाउनको लागि सबैको रचनात्मक सहयोग आवश्यक भएको भन्दै तत्काल दोमुखालाई इन्टरलक ब्लकमय बनाउने र निकट भविष्यमै आफ्नो निजी वेबसाइट सञ्चालन गर्ने जानकारी दिएका छन् ।

त्यस्तै दोमुखा पर्यटन बोर्डले सम्पन्न गरेको कामको प्रगति विवरणसमेत सार्वजनिक गरेका छन् । उनले नदीनालाहरु मानिसको सभ्यता भएको उल्लेख गर्दै आधा शताब्दी अघि मानवबस्ती बस्ने अवस्थामा नदी किनार हुँदै दोमुखामा बसोबास बसोबास गरेको र नेपालकै धार्मिक महत्वको नदी कन्काई नदीले कन्काई माईको रुपमा स्थापित भई धार्मिक मान्यता दोमुखा धार्मिक पर्यटनको रुपमा रहनुपर्ने अडान राखेका छन् ।

अध्यक्ष लिम्बूले दोमुखा धार्मिक पर्यटन बोर्डको पहल र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र आन्तरिक आयस्रोतले अहिलेको विकास सम्भव भएको प्रष्ट रुपमा बताए ।

दोमुखामा वनभोज स्थल, चिल्ड्रेन पार्क, स्विमिङ पुल, दोमुखा पार्क, राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्णकदको प्रतिमा, विभिन्न जातजातिका चित्रकला, हात्ती, जेब्रा लगायतका डमी, मठमन्दिर, मौलिक घर, विभिन्न भेषभुषाको स्टल, शौचालय, खानेपानी, बिद्युत, रात्रीकालीन सेवा, होटल व्यवसाय, आई लभ दोमुखा, शिरीषको फूल, झोलुङ्गे पुल, स्काई ब्रिज लगायतका पर्यटक भित्र्याउने पूर्वाधारहरुको विकास भइसकेकोले दोमुखामा पर्यटक भित्र्याउन सबैलाई पहल गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा पर्यटन बोर्डका न्यायिक समिति संयोजक लिलाप्रसाद भट्टराईले स्थानीयहरुले दोमुखाको सौन्दर्यता र आफ्नोपनलाई सबैसामु चिनाउन नसकेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट दोमुखालाई पर्यटनको हब बनाउन लाग्न अनुरोध गरेका छन् ।

त्यस्तै पर्यटन बोर्डका सल्लाहकार संयोजक भाष्कर सिटौलाले दोमुखालाई प्रचारप्रसारको अभाव भएको भन्दै त्यसमा सबै लाग्न अनुरोध गरेका छन् । उनले दोमुखामा पर्यटक कम आउनुको कारण पुराना गतिविधिको छाप परेको औंल्याए ।

बोर्डका प्रथम उपाध्यक्ष चुडामणी तिम्सिना रमेशले मठ मन्दिरले दोमुखालाई धार्मिक बनाएको र यसलाई व्यवस्थापन गर्न पर्यटन बोर्ड पूरै लागेको बताए । उनले माईधारको दोमुखा प्रवेशद्वारदेखि दोमुखाको साढे चार किलोमिटर यात्रामा रातको समयमा पोललाइट र निजी सुरक्षाकर्मीसमेत राखिएको जानकारी गराए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारको तर्फबाट सरोज भट्टराई, मञ्जिल नेपाल, पवन चाम्लिङ राई लगायतले समस्या र समाधानका लागि प्रश्न गरेका थिए । उनीहरुले व्यवसायीहरुले प्राकृतिक खोलामा ढल मिसाएको, स्विमिङ पुल र चिल्ड्रेन पार्क अव्यवस्थित भएको, शौचालय व्यवस्थापन हुन नसकेको, दोमुखाको ब्राण्ड खाना यकिन गर्न नसकिएको जस्ता प्रश्न राखेका थिए भने त्यसको जवाफ अध्यक्ष लिम्बूले दिएका थिए ।

उनले औंल्याइएका सबै विषयप्रति आफू र पर्यटन बोर्ड गम्भीर भएको भन्दै सबै विषयलाई समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

बोर्डका अध्यक्ष धनप्रसाद लिम्बूको अध्यक्षतामा भएको अन्तरिक्रिया कार्यक्रमको सहजीकरण प्रेस क्लबका अध्यक्ष सेलिङ केसीले गरेका थिए ।