उत्साहित हाइवा ट्रक, निरही अर्जुनधारा वडा नं. ४ र ७ का जनता « Yalambar Times
११ असार २०८१, सोमबार

उत्साहित हाइवा ट्रक, निरही अर्जुनधारा वडा नं. ४ र ७ का जनता


यलम्वर टाइम्स
९ जेष्ठ २०८१, बुधबार १२:४३

अर्जुनधारा । धेरै वर्षपछि गाउँमा कालोपत्रे बन्दा सडक नजिक घर भएका मानिसहरु मात्र होइन छेउछाउकाहरु पनि हर्षले प्रफुल्ल हुन्थ्ये । त्यसबेला ‘आहा ! हाम्रो क्षेत्रमा पनि कालोपत्रे हुँदैछ’ भनेर रमाउँदै स्थानीय सरकारलाई धन्यवाद भन्नसम्म भ्याएका थिए ।

तर, कालोपत्रे सडक बन्दै गर्दा कतिको टिकाउ बन्छ ? कति माटो, गिटी, बालुवा लगाइयो ? कालोपत्रे सडकलाई टिकाउ बनाउन प्राविधिकहरुले ध्यान दिएका छन् कि छैनन् ? वडा सरकारको निगरानी र सरोकारवालाको नजर कतिको छ ? यी विषयहरु महत्वपूर्ण हुने गर्छन् ।

यी सबै थोकले निगरानी भएको सडक वर्षौ टिक्न सक्छ । तर गाउँघरमा कमसल सामग्रीले कालोपत्रे सडक बन्नु, त्यसमा पनि ठूलो वजनमा सामग्री बेकेर १० चक्के हाइवा गाडीहरु उत्साहित रुपमा खोलाजन्य सामग्री बोकेर चलाउँदा कतिको थेग्न सक्छ ? यो प्रश्न पनि जनताले गर्न सक्दैनन् ।

बर्खाको समयमा खोलाजन्य सामग्री हाइवा ट्रकबाट ओसारपोसार गर्दा कमसलमा निर्माण भएका कालोपत्रे १५ देखि २० दिनमा भत्कने प्रचुर सम्भावना हुन्छ । त्यसको निगरानी वडा सरकारले नगरिदिँदा ग्रामिण भेगमा बनेको सडकको दुरदशा बिग्रेर जाने निश्चित छ ।

प्रसंग वडा नं. ७ को रमाइलो बस्तीमा निर्माण भएको कालोपत्रे बाटोको हो । प्रथम स्थानीय निर्वाचन भएपछि तत्कालिन वडाध्यक्ष नविन ढुंगानाको पालामा उक्त सकडलाई कालोपत्रे बनाइयो । यसरी नै पछिल्लो पटक वडा नं. ४ मा वडाध्यक्ष अम्बर कटुवालको पालामा जरुवाबस्ती क्षेत्रमा कालोपत्रे निर्माण हुँदै आएको छ ।

करिब एक हप्ता भयो वडा नं. ४ को जरुवाबस्ती हुँदै वडा नं. ७ को रमाइलो बस्तीको कमसल कालोपत्रे सडकमा २० देखि २५ वटा ठूला ट्रक पानीसरीको खोलाजन्य निर्माण सामग्री बोकेर हिंड्ने गरेको छ ।
खोलाजन्य सामग्रीसँगै पानी चुहाउँदै सडकमा तीव्र गतिमा कुदाउँदा कालोपत्रे सडक यति बेला भत्कने अवस्थामा पुग्दैछ ।

सडकलाई सुरक्षित राख्न मेचीनगर, कनकाई नगरपालिकामा मात्र होइन छिमेकी जिल्ला मोरङमा पनि खोलाजन्य सामग्री बोक्ने गाडी खोला क्षेत्रलाई नै प्रयोग गरी सडक सुरक्षित गरेको पाइन्छ ।

त्यही नीति अर्जुनधारा वडा नं. ७ र ४ ले गर्दा राम्रो हुने देखिन्छ । चेतना जागोस् ।