साग बेचेर छाक टार्दै, छोराछोरीलाई साक्षर बनाउँदै « Yalambar Times
२ असार २०८१, शनिबार

साग बेचेर छाक टार्दै, छोराछोरीलाई साक्षर बनाउँदै


यलम्वर टाइम्स
११ जेष्ठ २०८१, शुक्रबार १२:३५

पथरी । सावित्री (नाम परिवर्तन) दिनमा ४ घण्टा पथरी बस स्टेण्डमा साग बेच्न लेटाङबाट आउँछिन् । उनी आउँदा सागको भारी बोकेर आउँछिन् र फर्कदा हातभरी पैसाको मुठो बोकेर उत्साहित हुँदै घर फर्किन्छिन् ।

उर्लाबारीकी अरूणा पनि सावित्री जस्तै कर्म गर्न पथरी स्टेण्डमा आउँछिन् । गाउँमा भएका सागसब्जी लिएर आउँने उनी साँझ परेपछि घरमात्र फर्किन्छिन् । गाउँबाट किनेर ल्याएको सागलाई दुई भाग बनाएर बेच्दा राम्रै आम्दानी हुने उनले सुनाइन् ।

अन्य ठाउँमा भन्दा उनीहरुले कम मूल्यमा बेच्ने गरेको पनि उनले बताइन् । उनले भनिन्, ‘हामीले बेचेको सागको मुठा अन्य ठाउँमा सय भन्छन्, हामी ५० रुपैयाँमै दिन्छौ ।’

पथरीमा सिमसाग पाइन्छ भन्ने सबैको मन–मनमा छ । तर रायो, कुरिलो र जरिङ्गोसँगै निगुरो पाइन्छ भन्ने चाही कमैलाई थाहा होला । पूर्व–पश्चिम यात्रा गर्ने जो कोहीले सुरुसुरुमा सिमसाग खोज्थे र लैजान्थे भने हिजोआज पहाडे रायो साग, जरिङ्गो लगायत पाउन थालेपछि व्यवसाय झन फैलिएको देखिन्छ ।

सवित्री र अरुणा जस्तै अन्य महिलाहरु पनि आफ्नो व्यवसाय लिएर आउँछन् । गाउँलेसँग साग किनेर गाडी–गाडीमा बेच्दा राम्रैसँग छाक टर्दै आएको र छोराछोरीलाई पनि राम्रै विद्यालयमा पढाउन सकिएको उनीहरु बताउँछन् । घाम–पानी, गर्मी जस्तो सुकै अवस्थामा पनि साग बिक्री हुने भएकाले व्यापार राम्रो छ ।

कसै कसैले कोशेलीको रुपमा पथरीको सिमसाग लाने गरेको साबित्रीको भनाइ छ । तर, हिजोआज पहाडे रायो साग खोज्नेहरु धेरै भएकाले रायोको माग बढ्दो छ । सवित्रीले दिनमा एक हजार ५ सयदेखि २ हजारसम्म नाफा निकालेर बेलैमा घर फर्किन्छिन् ।