गोर्खा सैनिकको इतिहासदेखि वर्तमानसम्म –पानी पतिया « Yalambar Times
९ असार २०८१, शनिबार

गोर्खा सैनिकको इतिहासदेखि वर्तमानसम्म –पानी पतिया


यलम्वर टाइम्स
१७ जेष्ठ २०८१, बिहीबार ०७:४१

[मन थेगुबा]

नेपाली लेखनको क्षेत्रमा थोरैले मात्र कलम चलाउने क्षेत्र हो इतिहास लेखन । इतिहास लेखनको लागि जति अध्ययन र अनुसन्धान चाहिन्छ त्यति नै खतरा पनि मोल्नु पर्ने हुन्छ । यसैले इतिहास लेखनमा जो कोहीले कलम चलाउन गाह्रो मान्ने गर्छन् । तर नेपाली साहित्यिक क्षेत्रमा युद्धकविको रुपमा छुट्टै पहिचान बनाइसकेको काङमाङ नरेश राईले इतिहास लेखन क्षेत्रमा कलम चलाउन आट मात्र गरेका छैनन्, इतिहासलाई निबन्धात्मक र कथानात्मक बनाएर पाठकहरुलाई भिन्नै स्वाद पस्केका छन् – ‘पानी पतिया’ मार्फत ।

टेम्के मैयुङ –४, भोजपुरमा बुबा कृष्णबहादुर र आमा कृष्णकुमारी राईको कोखबाट जन्मिएका काङमाङ नरेश राई पनि आम जनजाति युवाहरु जस्तै उमेर पुग्नासाथ गोर्खा भर्ती केन्द्रमा छाती नपाउन पुगेका थिए । धरानबाट आईएसम्मको पढाइ सकेका उनको थोरै मध्येमा लाहुरे बन्ने सपना सन्–२००० मा पूरा हुनासाथ ब्रिटिस राज्यको चम्किलो बन्दुक चलाउन सात समुन्द्रपारि पुगेका थिए । बन्दुकसँगै कलम चलाउने मास्टर मित्रसेन थापा, प्रतिमान थापा, शेरसिंह राना, रणसुर लिम्बू हुदै हालआएर रक्षा राई, जगत नवोदित, मिजास तेम्बे, आदि जस्ता सीमित लाहुरेहरु मध्ये कलम चलाउन रुचाउने काङमाङको ‘पानी पतिया’ (निबन्धात्मक इतिहास–२०८१) समेत दशवटा विभिन्न विधाका कृतिहरु प्रकाशित भइसकेको पाइन्छ । जसमा ‘फियरलेस वरिवर’ (सन्–२०१५) बेलायबाट अंग्रेजी भाषामा समेत कृति प्रकाशित रहेको छ । नेपाल र वेलायतमा गरी ११ वटा नेपाली र अंग्रेजी भाषमा पत्रपत्रिकाहरुको सम्पादन गरिसकेका उनले नेपालकै प्रतिष्ठित पहिचान पुरस्कार स्थापना गर्नका साथै अन्य संघसंस्थाहरुमा पनि प्रत्यक्ष संलग्न रहेको पाइन्छ । उनले गरेको साहित्यिक योगदानको उच्च मूल्याङ्कन स्वरुप कवि विमल गुरुङ कृति पुरस्कार–२०७८ लगायत देश तथा विदेशमा गरी एक दर्जनभन्दा बढी पुरस्कार तथा मानसम्मान प्राप्त गरेका छन् । धर्मपत्नी सीमा र दुई सन्तान स्वाप्निल–स्वार्निमका साथ बेलायत र नेपाल ओरदोहोर गरी रहने लेखक नरेश काङमाङ राई खोज, अनुसन्धान र लेखनमा सम्पूर्ण समय लगाई रहेको भेटिन्छ ।

गोर्खा सैनिकको इतिहासदेखि वर्तमानसम्म समेटेको ‘पानी पतिया’ले लाहुरेहरुको बारेमा बुझ्न इच्छा राख्ने पाठकहरुलाई अति राम्रो खुराक दिन सक्ने कुरामा कुनै सङ्का गर्नु पर्दैन । लेखक स्वयं गोर्खा सैनिक भएकोले यस विषयमा अति संवेदनशील भएर अध्यन अनुसन्धान गरी लेखिएको पाइन्छ । हिन्दु संस्कारअनुसार ठूलो जात भनिनेहरुले छुवाछुत भएमा सुनपानीले छर्किएर चोख्याउने चलनलाई ‘छोइछिटो’ भनिन्थ्यो । राणा शासकहरु हिन्दु संसकारको छुवाछुत जस्तो प्रथाहरुमा अति कट्टर रहेका थिए । म्लेच्छ वा गैरहिन्दु धर्मालम्बीहरुको देशबाट फर्किएर आउनेहरुले जानआन्जानमा गरिएको अधार्मिक कार्यको प्रायश्चित स्वरुप पतिया गर्नु पर्दथ्यो । यसरी पानीचल बनाउन गरिने संस्कारलाई लेखकले केन्द्र बनाएर ‘पानी पतिया’ तयार गरेको भेटिन्छ । यस ऐतिहासिक संग्रहलाई लेखकले भने जस्तै १५ वटा निबन्धात्मक इतिहासका विभिन्न शीर्षकहरुमा लेखहरु रहेकाछन् भने शीर्षकहरु भित्र पनि अनेकौ उपशीर्षकमा बाँडिएका छन् । यस कृतिलाई भौतिक रुपमा हेर्ने हो भने टायम्स क्रिएसनको आवरण कलाले गैरहिन्दु जनजाति लाहुरेहरुलाई तत्कालिन शासकहरुले कसरी मनुस्मृति जस्ता धर्मग्रन्थले बाधेर हिन्दुकरण गर्थे भन्ने इतिहास प्रष्ट बुझ्न सकिन्छ । फिनिक्स बुक्सले प्रकाशन गरेको १९२ पेज रहेको यस पुस्तकको बनावट पक्षमा प्रश्न गर्ने ठाउँ राखेको छैन । अन्तिम आवरणमा लेखकको फोटो सँगै रहेको ‘परिचायक’ (भनाइ कस्को हो पाठले जान्न पाए राम्रो हुने थियो ।)ले पुस्तकको समग्र पक्ष बोलेको पाइन्छ ।

एउटा विशुद्ध पाठकको आँखाले ‘पानी पतिया’ पुस्तकको भाव पक्षलाई नियाल्दा देखिएका कुराहरु यो लेख मार्पmत कोट्याउने जमर्को गर्दा ‘गोर्खा भर्तीको वास्तविकता’मा अंग्रेज सेनामा वि.स्.१८४७ सालदेखि नै नेपालीहरु सहभागी भएको पाइन्छ भने वि.सं. १८७३ सालमा अंग्रेजसँगको सुगौली सन्धि हुनुभन्दा एकसाल अघिनै गोर्खाली काजी अमरसिंह थापा र अंग्रेज जर्नल अक्टोरलोनीको समझदारीबाट गोर्खा पल्टन (सिरमोर वटालियन) खोलिएदेखि तत्कालिन गोर्खाली शासकहरुले भर्ती हुन दिएको इतिहास भेटिन्छ । नालापानी किल्लामा लडिरहेका बलभद्र कुवँरलाई अंग्रेजसँगको सन्धि मन नपरी उनीहरुसँग बदलाको भावना बोकेर पञ्जावी सेनामा सामेल हुन लाहोर पुगेका थिए । अंग्रेजसँगैको लडाइँमा उनले वीरगति प्राप्त गर्न पुगे भने त्यसपछि अन्य नेपालीहरु पनि लाहोरसम्म पुगेर ‘लाहुरे’ बन्न थालेको इतिहास पाइन्छ । यस लेखमा लेखकले ‘गोर्खा’ को अर्थ ‘गाईको रक्षा गर्नु’ भन्ने दावि प्रस्तुत गरेकाछन् । सुरुवातका दिनमा मगर र गुरुङ मात्र भर्ती लाग्दै आएकामा विभिन्न युद्धको क्रमसँगै अन्य जनजातिहरुलाई पनि अंग्रेजले आफ्नो सेनामा थप्दै लगेको इतिहास पाइन्छ । राणा शासकहरुमा अत्यन्तै चलाख जंगबहादुर राणा अंग्रेजहरुको देश घुमेर आए पनि उनीहरुको गुलाम हुनुपर्छ भन्ने मानसिकताबाट अलगै थिए । त्यसैले राष्ट्रको लागि अहितकर अंग्रेज सेनामा भर्ती हुन बन्देज मात्र लगाएनन् भर्ती लागेकाहरुलाई पनि निरुत्साहित गर्ने काम गरेका थिए । यसको उपशीर्षक ‘रकरुट छनोट प्रक्रिया’मा जंगबहादुर पछिका राणा शासकहरुले गोर्खालीहरुलाई अंग्रेज सेनामा जान रोक लगाउनका बदलामा हातहतियारसँग साट्नका साथै आफ्नो शासन लम्ब्याउने माध्यम बनाएको प्रमाण भेटिन्छ । यहाँ नेपाली युवाहरुलाई अनेकौ उपाया अपनाएर अंग्रेज सेनामा भर्ती लगाउन राणा शासकहरुले गरेका कार्यहरु सविस्तार पढ्न पाइन्छ । यसैगरी ‘बेलायत नेपाल सम्बन्ध’मा लेखकले पहिलो विश्वयुद्धमा नेपालका राणा शासकले आफ्नो सत्ता जोगाउन आफ्नो जनताहरुको आवश्यकता प्रवाह नगरी बेलायतलाई सैनिकका साथसाथै आर्थिकदेखि हातहतियार, सखुवासिसौका काठ, लताकपडा, दालचिनी आदिजस्ता सामग्रीहरु सहयोग गरेको कुरा ‘बेलायतलाई सहयोग’ उपशिर्षकमा उल्लेख गरेका छन् । हाल आएर डीएफआइडी लगायत अनेकौ परियोजनाहरु मार्फत नगदका साथै शिक्षा, स्वास्थ्य, पिउनेपानी जस्ता कार्यमा ठूलो मात्रामा बेलायतले नेपाललाई सहयोग गर्दै आइरहेको कुरा ‘नेपाललाई सहयोग’ उपशीर्षकमा समेटिएको भेटिन्छ ।

‘युद्धकथा’मा पाँचवटा उपशीर्षकहरु रहेका छन् । ‘पहिलो विश्वयुद्धको कहानी’ मा पहिलो विश्वयुद्धमा लड्नेहरुको यथार्थ विवरण पाउन गाह्रो रहे पनि सुनिएका र भेटिएका कथाव्यथाहरु अति हृदयविदारक रहेका छन् । ‘पहिलो विश्वयुद्धमा गोर्खालीहरुका चिठी’ मा त्यसबेला आफ्ना आफन्तहरुलाई गोर्खा सैनिकहरुले लेखेका ५ थान चिठी र लेखोटहरु नक्कलप्रति समेत समेटिएको छ । ‘दोश्रो विश्वयुद्धको कहानी’ मा युद्धको अधिक विवरणहरु पाउन सकिने र त्यस युद्धमा सहभागी भएका गोर्खा सैनिकहरु समेत लेखकले प्रत्यक्ष भेटेर उनीहरुको भनाई प्रस्तुत गरेका छन् । हाम्रो देशको कमजोरी र अंग्रेजको बेवास्ताका कारण तथ्याङ्कगत पूर्ण विवरण नभेटिए पनि दोश्रो विश्वयुद्धमा धेरै गोर्खा सैनिकहरुले युद्धमा सहभागिता जनाएका थिए । तिनीहरु मध्ये अधिकांश मात्रामा मारिए, कति हराउन पुगे भने थोरै मात्र आफ्नो देश फर्कन सकेको र युद्धमा भोगेका दुःखकष्टहरुलाई लेखकले जसमान राई, शान्तमाया लिम्बू जस्ता भेटिएका योद्धा सैनिक र सैनिकका आफन्तहरुको अनुभूतिहरु संगालेको भेटिन्छ । गोर्खा सैनिकलाई अंग्रेजले भाडाको सेना मानेका थिए । अंग्रेजले जहाँ लड्न पठाउँथे गोर्खा सैनिकलाई त्यतै लडन जानु पथ्र्यो । मलेसिया र ब्रोनियोमा लड्दाका दर्दनाक कथाहरु भीसी रामबहादुर लिम्बू, दिलबहादुर गुरुङ, दिलबहादुर पुन, ज्ञानेन्द्र राई जस्ता योद्धाको कथाव्यथाहरु ‘कुरा मलेसिया र ब्रोनियोको’ उपशीर्षकमा पढ्न पाइन्छ । फोक्ल्यान्डको युद्ध सकेपछि १११ जना गोर्खा सैनिकहरुलाई खाली हात देश फर्काएको हवाई काण्डबारे शिवधन राईको कुरा पढ्दा रगत उम्लेर आउछ । यस्तै पछिल्लो पल्ट गोर्र्खा सैनिकले अफगानिस्तानमा लडेको कथा ‘कथा नयाँ पुस्ताको’ मा समेटिएको छ ।

‘आदिवासी गोर्खा सैनिक र अटुट हिन्दुकरण’ निबन्धात्मक इतिहासभित्र तत्कालिन शासकले आफ्नै भाषा, संस्कृति र धर्म भएका आदिवासी जनजाति गोर्खा सैनिकहरुलाई कसरी हिन्दुधर्म मान्ने बनाए भन्ने सप्रमाण लेखकले प्रष्ट पारेका छन् । वि.सं. १९१० मा जारी भएको मुलुकी ऐनको मुख्य आधार हिन्दु धर्मशास्त्र, नीतिशास्त्र, मनुस्मृति आदि जस्ता ग्रन्थहरु भएकोले हिन्दुधर्मलाई कति पनि असर पर्ने क्रियाकलाप बन्चित थियो । अनेकौ युद्धहरुमा धेरै भन्दा धेरै गोर्खा सैनिकहरु मारिएका, हराएका र अंगभग बनिएकाले गोर्खा सैनिकमा भर्ती हुने कसैको पनि चाहाना हुँदैन थियो । जसले गर्दा गोर्खा भर्ती हुन आउने रिक्रुटहरु अंग्रेजले चाहेको भन्दा कम भएकोले चन्द्रशमशेरले इस्तिहार नै जारी गरेका थिए । जंगबहादुर राणाको धार्मिक कट्टरताबारेमा जारी भएको मुलुकी ऐनबाट नै प्रष्ट हुन्छ । अझ उसले ब्रिटेन यात्राको क्रममा गरेको नाटक पढ्न लायक छ जुन ‘धार्मिक कट्टरवादी जङ्गबहादुर’ उपशीर्षकमा पढ्न पाउदा आनन्द आउछ । उपशीर्षक ‘पानी पतिया/प्रायश्चित’ यस कृतिको केन्द्र हो । हिन्दु धर्मको कट्टरताका कारण कुनै पनि गैरहिन्दुले पकाएको वा छोएको खान नहुने तर खाई हालिएमा छोइछिटो गरेर चोखिनु पर्दथ्यो । अझ म्लेच्छले छोएका खाएमा पतिया नै गर्नु पर्दथ्यो । गोर्खा सैनिकहरुले त अनिवार्य पतिया गर्नुपर्ने जसमा पालना गर्नुपर्ने कडा नियम समेत समेटेर चन्द्रशमशेरको समयमा तत्कालिन बडागुरुज्यू तर्कराज पाण्डेले गोर्खा सैनिकलाई वि.सं. १९७७ सालमा पत्र नै लेखेका थिए । पत्र अनुुसार पानी पतिया गर्न पहिलो दिन मण्डन गरी माटो, खरानी र पञ्चगव्य (गहुँत, गोबर, दुध, दही र घिउ) शरीरमा लेपन गरी नुहाएर शुद्ध खाना १५ गाँस खानू पथ्र्यो । दोश्रो दिन १२ गाँस र तेश्रो दिन नमागी कसैले खाँनु भनेर दिएमा २४ गाँस खानु पथ्र्यो । यो क्रम ३ पटक गर्दा १२ दिन हुन्थ्यो भने १३ दिन पञ्चगव्य खाई ब्राह्मणलाई सिदा दक्षिण दिएर चोखिएर प्रायश्चित गर्नु पथ्र्यो । राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले वि.सं. १९८२ सालतिर पानी पतियाको अन्त्य घोषणा गरे पनि वि.सं. २०१७ सम्म गोर्खा सैनिकहरुलाई भैरहवाको पक्लिहवा, ब्रिटिस क्याम्पमा चोख्याउने गरिन्थो । नेपाल धर्मनिरपेक्ष राज्य घोषणासँगै गोर्खा पल्टनमा पनि परिवर्तनका निम्ति आवाज उठ्न थाल्यो । जसको परिणाम अनुसार ३ जना लामाको व्यवस्था गरियो । गोर्खा पल्टनमा अधिकांस आफ्नै धर्मसंस्कार भएका आदिवासी जनजातिहरु मात्र रहे पनि अनिवार्य मन्दिरमा पूजा गर्न जानुपर्ने चाडपर्वमा हिन्दु संसकार अनुसार गर्नुपर्ने, सुरुमा कसम समेत हिन्दु पुरोहितले खुवाउनु पर्ने साथै सम्झौतामा नै हिन्दुहरुसँग युद्ध गर्नु नहुने नियमहरु लागु गरेका थिए । तर नेपाल धर्मनिरपेक्ष भएपछि गैरहिन्दुहरुले अनिवार्य मन्दिर जानु नपर्ने भएको कुरा पढ्न पाइन्छ ।

लेखकको शब्द सापटी लिने हो भने रोयल्टी शब्द नराम्रो होइन । तर ‘नेपाललाई रोयल्टी’ भन्ने लेखमा ब्रिटिसले नेपाललाई गोर्खा सैनिकमा भर्ती भए बापत हातहतियारका साथ नगद समेत दिने गर्थे । यसरी प्राप्त भएको रकम तत्कालिन शासकहरुले पाउने गरेको यथार्थ प्रमाण र रकमको डाटा पनि उल्ले भएको पाइन्छ । त्यस समयमा भर्ती हुनेहरुलाई नगदको प्रलोभन दिंदा पनि भर्ती हुन नगएपछि शासकलाई नै प्रयोग गरेर गोर्खालीलाई भाडाका शैनिक बनाएको प्रष्ट उल्लेख गरेको भेटिन्छ । यसैगरी ‘युद्धबाट नफर्किएकाहरु’ लेखमा पहिलो र दोश्रो विश्वयुद्धमा मारिएका र हराएका गोर्खा सैनिकहरुको सप्रमाण तथ्याङ्क पेस गरिएको छ । पहिलो विश्वयुद्ध लडेका मन बहादुर राईको युद्धकथामा ६ सय ४० जनामा मात्र ५ जना बाँचेको भनाइले मर्नेहरुको बास्तविक सङ्ख्या अनुमान गर्न सकिन्छ । घर नफर्किएका भीसीहरुमा थमन गुरुङ र शेरबहादुर थापाले इटलीमा वीरगति प्राप्त गरेका थिए । उनीहरुसँगै इटलीको सान मारिनो राज्यमा ८०० गोर्खा सैनिकको चिहान अहिले पनि रहेको छ भने इटली कै टाभोलेटो भन्ने सहरमा ‘गोर्खा’ नामक सडक रहेको पाइन्छ । जुन ‘गोर्खा’ सडक दोश्रो विश्वयुद्धमा जर्मनहरुबाट इटलीयनलाई मुक्त गरिएकोले सम्मान स्वरुप नामकरण गरिएको हो भन्ने प्रमाण भेटिन्छ ।

‘गोर्खा सैनिक: हेराइ र हालत’ मा गोर्खा सैनिकले विभिन्न युद्धहरुमा देखाएको वीरताले बहादुरको पहिचान मात्र बनाएनन् आफ्नै देशमा पनि प्रजातन्त्र प्राप्तिको लडाईका साथै शिक्षा, राजनीति, साहित्य, कला, संगीत, व्यपार आदिका क्षेत्रमा उत्तिकै योगदान दिएको कुरा उल्लेख गरेको पाइन्छ । बादलसिंहको बहादुरी, भीसी पदक पाउनेहरुको नामवली, दिल्ली विद्रोह दबाउन गोर्खाली सैनिकको भूमिकाहरु मात्र समेटिएको छैन बहादुरको विविध अर्थ जस्तै लडाकु, पराक्रमी र साहसी एकातिर लगाइन्छ भने अर्कोतिर होटल, घर, कार्यालयको सुरक्षा गार्ड वा सहयोगी जस्ता अर्थ पनि लगाइने कुरालाई जस्ताको त्यस्तै राखिएको भेटिन्छ । मृत्युसँग पटकै नडराउने गोर्खालीको स्वभाव ‘कातर हुनुभन्दा मर्नु बेस’मा छ भने ‘आयो गोर्खाली’मा गोर्खा सैनिकले निकालेको आवाजमा जति ओज पाइन्छ त्यतिनै गोर्खाली सैनिकहरुको पारिवारिक पीडा मिसिएको छ । गोर्खालीलाई बहादुर भन्ने व्यक्तिहरुले गोर्खालीको वीरताको अनेकौ प्रशंसाहरु गाएको पाइन्छ भने अर्कोतर्फ मन नपराउनेहरुले दुस्मनको रगत र मासु खानेसम्मको गोर्खा सैनिकबारे घृणित र नकारात्मक भनाइहरु पनि फैल्याएका थिए भन्ने बुझ्न सकिन्छ । गोर्खालीहरु सैनिकमा भर्ती हुन विभिन्न मापदण्ड अनिवार्य उत्तिर्ण गर्नु पर्दथ्यो तर पहिलो र दोश्रो विश्वयुद्धमा धेरै मात्रामा सैनिक आवश्यक परेकाले त्यस्तो कुनै मापदण्ड नै नहेरी भर्ती लगाएका थिए । उमेरदेखि उचाइसम्मलाई वेवस्था गरी ‘वोई’ (बालकहरुलाई भर्ती गर्ने) मा भर्ती लगाएको प्रमाण इटलीमा वीरगति प्राप्त गर्ने १६ वर्षीय मनबहादुर राई, ५ फिट समेत उचाइ नभएका भीसी लछिमान गुरुङ र एकिन नामठेगाना नै नखुलेका भीसी गञ्जु लामालाई ‘मापदण्डविपरित भर्ती’ मा प्रमाणका रुपमा पाइन्छ ।

बेलायती सेनाका नाममा चिनिएर हरेक युद्धको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्यका निम्ति आफ्नो खुनपसिना बगाउन मात्र नभएर ज्यान समेत आहुति गरेका गोर्खालीले कहिल्यै तलबभत्ता र सेवासुविधा ब्रिटिस सैनिक समान पाएका थिएनन् । बदलामा भाडाको सैनिकको मान्यता दिएर राखेका थिए । त्यसमाथि अझ १८ महिना जापानले बन्दी बनाएका पृथ्वीमान सुनुवारलाई तलव नै आधा घटाइ दिएर युद्धबन्दीलाई गरेको अन्याय, मलेसियामा प्रत्येक गोर्खालीले पाउने ४ सय ५० डलर मध्ये मात्र ४२ डलर दिएर दोहोरो मारमा पारेको पीडा, नेपाल सरकारसँग बिनासम्झौता ब्रुनाई र सिङ्गापुरमा गोर्खालीलाई भाडाको सिपाही बनाइनुु, गोर्खा सैनिकको नाम बेचेर रकम जम्मा गर्नु, अवकाश प्राप्त गोर्खा सैनिकलाई नाम मात्रको पेन्सन दिनु आदि कारणहरुले गोर्खा सैनिकहरु आन्दोलित हुन थालेका थिए । गोर्खा सैनिक नारदमुनि थुलुङले गोर्खा पल्टनमा दिउसै लालटिन बालेर पहिलो पल्ट विद्रोह गरेको भेटिन्छ भने त्यसपछि जिन्स काण्ड, हवाई काण्ड, जीआरयु ब्रुनाई काण्ड, जस्ता आन्दोलनकै परिणाम स्वरुप हालआएर ब्रिटिस सैनिक समान तलवभत्ता र पेन्सन प्राप्त गर्न सफल भएको कुरा उल्लेख गरिएको छ ‘गोर्खा आन्दोलनको चुरो कुरो’ लेखभित्र । गोर्खा सैनिकले आप्mनो हक र अधिकार पाउनका लागि अनेकौ आन्दोलन साथै पटकपटक आमरण अनशनसमेत बस्नु परेको सम्पूर्ण नालिबेली ‘गोर्खा आन्दोलन……’ भित्र समेटिएको छ ।

अन्तर्राष्ट्रिय सम्झौता एकातिर छाडेर गोर्खा सैनिकले भाडाका सिपाहीका रुपमा १ सय ७५ वर्ष लामो असमान व्यवहार भोग्नु परे पनि ३४ वर्ष अघिदेखि संस्थागत रुपमा एकबद्ध भई समानताका लागि लड्दै आएको कुरा ‘भूपू गोर्खा संगठनको नालीबेली’ मा पाइन्छ । हालसम्म स्थापना भएका गोर्खा भूपू सैनिक संघसंगठनहरु र तिनले गरेका कार्यहरु समेत सप्रमाण अध्ययन गर्न सकिन्छ । तर गोर्खा भूपू सैनिकको हकअधिकारका निम्ति गठन भएका संघसंगठनहरु पनि पार्टीको लोगो लागेको कुरा पढ्नु पर्दा नमिठो अनुभव हुन्छ । गोर्खा सैनिकले आर्थिक रुपमा मात्र आफ्नो देशलाई सवल बनाएका छैनन् । राजनैतिक, शैक्षिक, सञ्चार, साहित्य, संगीत र समाज परिवर्तनमा समेत गोर्खा सैनिकले पुर्याएको प्रमुख भूमिकाहरु सविस्तार ‘नेपालमा लाहुरेको योगदान’ मा पढ्न सकिन्छ ।

‘हारेको कथा, राष्ट्रिय कथा’ भित्र लेखकले हिजोका भगौडा सेनाहरुलाई देशभक्ति, राष्ट्रप्रेमिको ट्याक भिराएर गोर्खा सैनिकहरुलाई राष्ट्रले अपहेलना गरेकोमा असन्तोष पोखेको पाइन्छ । भूपू गोर्खा सैनिक संघसंगठनले गरेको आन्दोनले गोर्खा सैनिकहरु बेलायतमा परिवार समेत आवासको सुबिधा पाउन सफल हुनुमा अभिनेत्री ‘जोवन्ना लुम्ली’ लगायतका बेलायती नागरिकहरुको समेत योगदान भुल्नु नहुने हुन्छ । बेलायतले गोर्खा सैनिकको सम्मानमा रेल सेवा समेत सञ्चालन गरेको तथ्य ‘भीसी तुलबहादुर पुन रेल’ मा पढ्न पाइन्छ । ‘पुछारको पातो’ मा कृति ‘पानी पतिया’ तयार पार्नुका कारण, तयार पार्दाका अवस्थाहरु उल्लेख गरेका छन् भने अन्त्यमा लेखक आफूले यस निबन्धात्म इतिहास तयार गर्न अध्ययन गरेका लेखरचना र पुस्तकहरुको सूची ६ पेज भन्दा धेरै पेजमा समेटेका छन् –सन्दर्भसामग्रीमा ।

यस ‘पानी पतिया’ कृति भित्रका निबन्धात्मक इतिहासले गोर्खा भर्तीको समग्रह इतिहास समेटेको पाइन्छ । हुनत भिन्नाभिन्नै लेखहरुलाई न्याय दिने प्रयासले हुनसक्छ घटना र विषयबस्तुहरु निकै ठाउँमा दोहोरिएर आएको पाइन्छ । सन्दर्भसामग्रीको पर्याप्त अध्यायन र प्रयोगले लेखहरुलाई गहन बनाउन सहयोग गरेको छ । लेखसँग सान्दर्भिक फोटो र विभिन्न कागजपत्रहरुको प्रतिलिपिले सुनमा सुगन्ध थपेको पाइन्छ । यस कृतिले लेखक काङमाङ नरेश राईलाई इतिहासकारका रुपमा पनि स्थापित गर्न सफल भएको कुरामा दुई मत छैन भने लेखकको भनाइ जस्तै एउटा छुटै बहसको निमन्त्रणा गर्न सफल रहेको छ –‘पानी पतिया’ ।

अन्त्यमा कृति सफलताको शुभकामना साथ लेखकबाट आगामी दिनहरुमा अझ अन्य कृतिहरु पढ्न पाउने आशा राख्दै यस लेखको बिट मार्न चाहान्छु ।

सन्दर्भ सामग्री:

१) पानी पतिया (निबन्धात्मक इतिहास २०८१ –काङमाङ नरेश राई )

२) कान्तिपुर दैनिक (लाहुरेलाई पानी पतिया शुद्ध खाना १५ गाँस खानु २०७६ –राजकुमार दिक्पाल)