मनमाया प्रतिष्ठानबाट नरेश सम्मानित, अभागीको ‘सपनाको बही’ चर्चा « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

मनमाया प्रतिष्ठानबाट नरेश सम्मानित, अभागीको ‘सपनाको बही’ चर्चा


यलम्वर टाइम्स
१८ जेष्ठ २०८१, शुक्रबार १२:०९

धरमपुर । कला, साहित्य र संगीतमा समर्पित मनमाया वान्तवा स्मृति प्रतिष्ठानले यो वर्ष युद्ध कवि तथा पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईलाई सम्मानसहित नगद पुरस्कारले अभिनन्दन गरेको छ ।

झापा शिवसताक्षी–१ स्थित नवसाहित्य प्रतिष्ठानको सभाहलमा स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत प्रतिष्ठानले काङमाङलाई पुरस्कृत गरेको हो । लामो समयदेखि पहिचानको विषयमा शब्द सञ्चालन गर्दै आएका युद्ध कवि काङमाङलाई प्रमुख अतिथि वरिष्ठ कवि तथा लेखक जसराज राईले उक्त पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृति प्रतिभाको जीवनी प्राज्ञ मुनाराज शेर्माले वाचन गरेका थिए भने सम्मानित प्रतिभालाई अग्रज पत्रकार दिपीन राई, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’, समाजसेवी चन्द्रबीर नेम्वाङ, नवसाहित्य प्रतिष्ठानका दिलीप घिमिरे, गणेश लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष निहाङ किराँतीको सभापतित्वमा भएको कार्यक्रममा सहित्यकार सेलिङ केसी, कुमार भट्टराई, गगन येक्पाङ्देन, राजकुमार सुब्बा, कमल मिश्र, तिलक राई, आदित्य राई, दिल भुटानी, आशा राई, नवराज श्रेष्ठ, मनिला राई, कमल राई, पूर्ण फेजोङ, युवराज भट्टराई, दुर्गा नेम्वाङ लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन विबश बलिभद्र कोइरालाले गरेका थिए । सोही दिन सपनाको बही पुस्तकको बिमर्श गरिएको थियो ।

बिमर्शमा अग्रज साहित्यकार कृष्ण बराल, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’, साङसेन पन्धाकले नयाँ आयमेली ढंगबाट सिर्जना आएको बताउँदै नयाँ र पुराना पुस्ता बीचका लागि सपनाको बही कोशे ढुंगो हुने बताएका थिए ।

कार्यक्रममा लेखक थेगुबालाई खुलेर कलम चालउन समेत सुझाव दिएका थिए । कार्यक्रमका सहजीकरण गंगन येक्पाङ्देनले गरेका थिए ।