इलाम लिगः उपाधि भिडन्तमा रेडहर्स र त्रिवेणी « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

इलाम लिगः उपाधि भिडन्तमा रेडहर्स र त्रिवेणी


यलम्वर टाइम्स
१९ जेष्ठ २०८१, शनिबार ००:५४

इलाम । एन्फा इलाम जिल्ला लिगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् ।

इलामको ठूलो टुडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पु¥याउन गोलरक्षक निशम दनुवारले निर्णायक भुमिका खेले । उनले एमएफसीको २ टाइब्रेकर प्रहार बचाएका थिए ।

खेलको सुरुवाती अग्रता रेडहर्सले लिएको थियो । दोश्रो हाफको १४ औ मिनेटमा प्रिन्स शेर्पाले हेडर मार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा शुसान्त गुरुङले बराबरी गरे ।

दोश्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिप माथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोश्रो हाफको ११ औ मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए ।

अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससँग उपाधि भेट पक्का गरेको हो । फाइनल खेल आज शनिबार हुनेछ ।