अर्जुनधारामा ‘मारीखोलाको ढुंगा’को चर्चा « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

अर्जुनधारामा ‘मारीखोलाको ढुंगा’को चर्चा


यलम्वर टाइम्स
१९ जेष्ठ २०८१, शनिबार ०१:१४

अर्जुनधारा । अर्घाखाँचीका युवा साहित्यकार जेबी दर्लामी मगरले ‘मारीखोलाको ढुङगो’ उपन्यास संग्रह लिएर कोशी प्रदेशको यात्रामा निस्किएका छन् ।

तत्कालिन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्दको पेरिफेरीमा आधारित रहेर लेखिएको उपन्यासले पाठकको मन जित्न सक्ने विश्वास दर्लामीले लिएका छन् । सानैदेखि साहित्यप्रति आकर्षित दलामीले लेखन यात्रालाई निरन्तरता दिने बताएका छन् ।

अर्जुनधाराको सरगम होटलमा आयोजित एक कार्यक्रममा दर्लामीको मारीखोलाको ढुङगो पुस्तक चर्चा गरिएको थियो । अग्रज गीतकार तथा साहित्यकार शिवशंकर थापाको प्रमुख आथित्यतामा पुस्तक चर्चा गरिएको हो ।

थापाले मगर समुदायमा लेखन संस्कृति बिरलै मात्र रहेको बताउँदै दर्लामीको सहित्य यात्रा उच्च रहने धारणा राखे । उनले कतिपय अश्लील भनिने शब्दहरु मगर समुदायमा सामान्य मानिने भन्दै त्यसलाई जीबन्त राख्नुपर्ने धारणा राखेका थिए ।

अग्रज पत्रकार दिपीन राईले सञ्चालन गरेको कार्यक्रममा लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई, सामाजिक व्यक्तित्व जगतबहादुर मगर, पर्शुराम मगर, चन्द्र राना मगर, भुपाल राना मगर र लेखकी अर्धांगिनी तारा पुन, गायक विनोद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

लेखक तथा सर्जक दर्लामीले पुस्तकको चर्चा दमक, धरान र इटहरीमा गरिएको पनि बताए । नेपालयले प्रकाशन गरेको उक्त पुस्तक पठन योग्य भएको चर्चा चलाएका थिए ।