अर्जुनधारामा चैते धान खेतीबाट कृषकहरु उत्साहित « Yalambar Times
१४ असार २०८१, बिहीबार

अर्जुनधारामा चैते धान खेतीबाट कृषकहरु उत्साहित


यलम्वर टाइम्स
२२ जेष्ठ २०८१, मंगलवार ०६:५१

अर्जुनधारा । यो वर्षको चैते धान खेतीबाट कृषकहरु उत्साहित बनेका छन् ।

मकै खेतीभन्दा तुलनात्मक रुपमा धेरै धान फलेपछि उनीहरु उत्साहित बनेका हुन् । मकै छरेर पुड्कापुड्की फलाउँदै आएका कृषक मोहन थापाले नौ कठ्ठा माटोमा चैते धान रोपेपछि ४० मनभन्दा बढी उत्पादन हुने अनुमान गरेका छन् ।

परम्परागत तरिकाबाट मकै लगाउदा धेरै दुःख हुने पटक–पटक गोडमेलपछि मल र पानीको समस्या त्यतिकै आउने गरेको तर यो वर्ष चैते धान रोपेपछि मकैलाई जस्तो मिहेनत गर्नु नपरेको कृषक थापाले बताए । अर्जुनधारा–७ रमाइलो बस्ती निवासी थापाले आउने साल पनि चैते धान नै लगाउने विचार गरेका छन् ।

कृषकहरुका लागि विगत ५ वर्षदेखि उत्पादनमा सहयोग पुर्याउँदै आएको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीले यो वर्ष अर्जुनधारा वडा नं. २, ४, ७ र १० मा चैते धान लगाउने कृषकहरुलाई प्रोत्साहन प्रदान गरेको छ ।

हर्दिनाथ चैते ५ नाम गरेको धानको बीउ सप्तरी, सिराह जिल्लाबाट ल्याएर नगरका कृषकहरुलाई पहिलो पटक वितरण गरी धान उत्पादनमा सहयोग पुर्याउँदै आएको हो । सहकारीले उत्पादित ती धानलाई खरीद गरी बीउ उत्पादनको लक्ष्य लिएको जनाएको छ ।

‘वर्षाको समयमा उत्पादन भएका धानलाई बीउमा उत्पादन गर्न सकिन्छ कि सकिदैन समस्या छाएको छ’, नगर विकास सहकारीका अध्यक्ष प्रत्युष रानाले भने, ‘यद्यपी चैते धान लगाउने कृषकहरुलाई मल, बीउ र केही प्राविधिक सहयोग गरेकै कारण यो वर्ष चैते धान राम्ररी उत्पादन भएको देखिन्छ ।’

अध्यक्ष रानाका अनुसार अर्जुनधारामा ७० हेक्टर जमिनमा चैते धान रोपिएको छ । अध्ययन अनुगमनले सबैतिर धान राम्रै फलेको पाइन्छ । तर उत्पादित धानलाई चटाल (खलो) मा सुकाएर बीउको रुपमा विकास गरिने लक्ष्य रहेको हुँदा मौसमले कतिको साथ दिने हो, हेर्न बाँकी नै छ ।

अध्यक्ष रानाका अनुसार अर्जुनधारामा यो वर्ष छ सय मेट्रिक टन चैते धान उत्पादन हुने निश्चित छ । यही तरिकाबाट कृषकहरुलाई प्रोत्साहित गर्दै लगियो भने कृषकहरुकै कारण अर्जुनधारा नगरको स्तर उस्केर जाने निश्चित छ ।

अगुवा कृषक तथा नगरका सदस्य खेम काफ्लेका अनुसार बर्खे होस् या हिउँदे धान विस्कुन लगाएर सुकाउन प्रत्येक वडा–वडामा चटाल आवश्यक रहेको देखियो । त्यसतर्फ नगर विकास सहकारीले ध्यान दिँदै अगाडी बढ्नुपर्ने देखिन्छ ।

हुन पनि त्यस्तै अवस्था छ । २०४०-०४२ साल तिर अर्जुनधारा शनिश्चरे क्षेत्रमा ठूलाठूला राइस मिल हुँदा ठूलाठूला चटाल (खलो) भएकै कारण हुने खाने कृषकहरु ती मिलमा धान सुकाएर राख्ने गरेका थिए । पछि राइस मिल हराएर गएपछि अहिले धान उत्पादन गर्ने कृषकहरुलाई वडा–वडामा चटालको आवश्यकता महशुस भएको कृषक मोहन थापाले जोड दिए ।

पहिलो पटक चैते धान उत्पादनमा अर्जुनधारा नगर कृषि शाखाबाट चार लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट ९४ हजार, जुट विकास संस्था इटहरीबाट एक लाखसहित नगर विकास सहकारीले थपेर चैते धान रोपणमा टेवा पुर्याएको थिो । त्यसैको सहयोगबाट कृषकहरु उत्साहित भएर लहलह धानको वाला झुल्दै गरेको अध्यक्ष रानाले यलम्वर टाइम्सलाई बताए ।

सहकारीका अध्यक्ष राना भन्छन्, ‘पहिलो पटक वडा–वडामा चटाल र अन्न भण्डार गर्ने टहरा निर्माण गरी नगर क्षेत्रबाटै स्ट्रिम चामल उत्पादन गरेको खण्डमा कृषकहरुको आर्थिक स्तर छिटो उठ्ने थियो । हामी प्रयासमा छौं ।’