नयाँ बसपार्क सरकारी स्वामित्वमा नरहेको निष्कर्ष « Yalambar Times
१० श्रावण २०८१, बिहीबार

नयाँ बसपार्क सरकारी स्वामित्वमा नरहेको निष्कर्ष


यलम्वर टाइम्स
२२ जेष्ठ २०८१, मंगलवार ०७:०२

अर्जुनधारा । अर्जुनधारा वडा नं. ११ अन्तर्गत रहेको नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको निष्कर्ष निकालिएको छ ।

मंगलबार अर्जुनधारा नगरपालिकाको सभाकक्षमा कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मी बीच भएको अन्तरक्रियामा यस्तो निचोड निकालिएको हो ।

करिब एक महिनाअघि गिरीबन्धु टि–स्टेटभित्र उक्त जग्गा रहेको भनी कानुनले व्याख्या गरेर वडा नं. ११ को (५१ बिगाह जमिन) नयाँ बसपार्कका बासिन्दाहरुलाई त्रासदित बनाइरहेको बेला त्यसैलाई समातेर केही युट्युबर र मिडियाले समाचार लेखिदिएपछि आज यथार्थ के हो ? भन्दै अर्जुनधारा नगरपालिकामा छलफल भएको थियो ।

छलफल कार्यक्रममा बसपार्क समन्वय समितिको अध्यक्ष सुजन शिवाकोटीले तथ्य कुरा अर्कै भए पनि केही मिडियाहरुले हंगामा चलाइदिएर बसपार्कबासीहरुलाई आतंकित बनाइदिएको हुँदा तथ्य खोज्दै समाधानको बाटोमा जान नगर प्रमुख बलदेवसिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

छलफलमा ज्ञापनपत्र वाचन गर्दै बसपार्क समन्वय समितिका सहसचिव शिव पौडेलले ११४३ कित्ताभित्र चार सयभन्दा बढी घर बनिसकेको र केही व्यवसायीक कर्जा र शैक्षिक कर्जा लिएर प्रगति गर्ने बेलामा गिरीबन्धु टि–स्टेटको जग्गाको विषयमा बसपार्कलाई जोडेर गरेको हल्लाले बसपार्कबासीहरुलाई मर्कामा पारेको उल्लेख छ ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता टंक उप्रेतीले अदालतले जारी गरेको निर्णय पत्रमा बसपार्कलाई छोएको पाइदैन तथापी यथार्थमा पुग्न नगरले सम्बन्धित निकाय र यसै क्षेत्रका सांसद तथा सभामुख देवराज घिमिरेमार्फत प्रस्ट्याउन आवश्यक भएको बताए ।

पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले समाचारमा आएका विषयलाई लिएर गम्भीर हुनुभन्दा यथार्थतामा पुग्न जरुरी रहेको उल्लेख गरे ।

सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले अदालतले गरेको फैसलाभित्र बिर्तामोड बसपार्क नरहेको बताउँदै उक्त बसपार्कको उन्नतिका लागि गुरु योजना पारेको जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुलाई प्रस्ट्याउँदै नगर प्रमुख बलदेवसिंह गोम्देनले मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारीसँग फोन सम्पर्क गर्दा प्रमुख भण्डारीले सहजताका लागि आफू तयार रहेको बताए ।

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम तथा केही सरोकारवालाहरुले आ–आफ्नो विचार राखेका थिए ।