जात र त्यससँग सम्बन्धित पेशा « Yalambar Times
९ असार २०८१, शनिबार

जात र त्यससँग सम्बन्धित पेशा


यलम्वर टाइम्स
२६ जेष्ठ २०८१, शनिबार ०३:११

आफ्नो जात अनुसारका पेशालाई अंगीकार गर्दै साहुको वालीघरे भएर आफू र आफ्नो परिवारको गुजरा गरिरहेको सीमित व्यक्तिहरुलाई आज समयभन्दा केही वर्ष पहिलेसम्म देख्दै आएको हो । लुगा सिउने कल बोकेर साहु महाजनको आँगनको एक कुनामा बसेर साहुको कपडा सिलाउने, बिहे कार्यमा सहनाई ट्याम्का बजाएर जन्ती जाने अनि मुलघरको एक छेउमा धुँवाले ध्वाँसो बुनिएको छाप्रोमा आरन थापेर गुजरा चलाउनेहरु समाजको नजरमा सबैभन्दा सानो जातको गनिन्थ्यो । त्यतिमात्र कहा हो र काँचो छालाको स्याहार गरेर जुत्ता बनाउने जातलाई पनि छिछि र दुर्दुर शब्द वाण हानिन्थ्यो ।

त्यस पश्चातका अन्य जातहरु पनि दोस्रो दर्जामा गनिन्थ्यो । जस्तो घरघरमा जाँडरक्सी बनाउने, आफै पिउनेदेखि साहु महाजनको खेतबारी जोत्दै अन्न उब्जाइदिने व्यक्तिहरु पनि तल्लो जातमा नै गनिन्थ्यो । यसरी शदीयौंदेखि आफ्ना जात अनुसारको पेशा गरेर अहिलेको युगसम्म आईपुग्दा पनि उनीहरुलाई हेर्ने नजरमा केही परिवर्तन भएको छैन । यस्तोमा आफ्नो जात अनुसारको व्यवसाय गर्नेहरुलाई केही गलत हो जस्तो लाग्दैन उनीहरु त आफ्नो पेशा गरेर परिवार पाल्नका लागि प्रत्येक दिन समाजको नजरमा इमान्दारीका साथ कर्म क्षेत्रमा तल्लिन हुन्छन् ।

तर अबको समय यो रहेन कि जात अनुसारको पेशा गर्नैपर्छ भन्ने । विदेशी संघसंस्था र सरकारबाट प्रत्येक विषयका तालिमहरु गराइरहेका हुन्छन् । मोटर ड्राइभिङ, सिलाई कटाई जस्ता तालिमहरु निरन्तर हुँदैछ । त्यस्तोमा जातलाई पन्छाएर प्रत्येक जातका महिलाहरु तालिममा सहभागि भइरहेका छन् । कोही तालिम सम्पन्न गरे पश्चात बजार र गाउँका चोकमा टेलर्सका बोर्ड टाँसेर निरन्तर आफ्नो व्यवसाय चलाइरहेका देखिन्छन् । त्यतिमात्र कहाँ हो र महिलाहरुको समूह बनाएर पञ्चे बाजा बजाउँदै देशविदेशमा आफ्नो चर्चा बटुलिरहेका छन् ।

अनि घरघरमा बनिने लोकल रक्सीको भट्टीहरु पनि जात विशेषको ख्याल नगरी प्रत्येक जातका व्यक्तिहरुले चलाइरहेका छन् । मदिरा पिउने विषयमा त नलेखे पनि हुन्छ । तर आजको पुस्तासम्म आइपुग्दा आरनमा बसेर पसिना चुहाउँदै भाटी चलाउँदै मेहनत गर्नेहरुको हातमा आधुनिक औजारहरु आए पनि अब आइन्दा पुस्ताले यो पेशालाई अंगाल्छन् जस्तो लाग्दैन । यो पेशामा मात्र होइन छालाको जुत्ता बनाउने जात अनुसारको व्यवसाय पनि संकटमा पर्न थालेको जस्तो देखिन थालेको छ । यसमा पनि दोस्रो पुस्ताले यो व्यवसायलाई निरन्तरता देला जस्तो देखिन छाडेको भान हुँदैछ ।

आखिर किन आफ्ना पुर्खाले निरन्तरता दिइरहेको यो पेशालाई नयाँ पुस्ताले नजर अन्दाज गरिरहेका छन् त । के यो पेशालाई अंगाल्दा अपमान सहनुपर्छ र ? यदि यो पेशालाई यसरी नै नजरअन्दाज गरेर अगाडि बढ्ने हो भने अब आइन्दा यो पेशा सम्हाल्न दोस्रो देशको नागरिकहरु आएर उनीहरुले आफ्नो वर्चश्व जमाउने छन् । समाजको बिचमा रहेर आफ्नो आरन र काँचो छालाको पेशा गर्दा समाजले हेर्ने दृष्टिकोण त्यति खराब त हुँदैन तर आउने नयाँ पुस्ताले यो पेशालाई अपहेलित पेशा ठानेर होला अबको युवाहरुले यो पेशा अंगाल्न हिचकिच्याइरहेका छन् । समय जति आधुनिक भए पनि प्रत्येक घरको कृषि औजार आवश्यकता नै हो । यस्तोमा अन्य देशका नागरिक आएर आफ्नो व्यवसाय फैलाउने मौका पाउँछन् र यो समाजको लागि आवश्यकता पनि हो ।

परापूर्वकालमा मानिसको जात कर्म विभाजन हुँदै गर्दा मानिसमा चेतनाको विकास हुँदै गर्दा आफ्नो भागमा परेको कर्मलाई पेशालाई त्यही अनुसारको जात पनि भिडाइदिएको हुन सक्छ । सायद त्यो समयमा त्यही जायज थियो होला । तर आज दुनियाँमा सबैले सबै प्रकारका पेशा अंगाल्न आवश्यकता अनुसार सही हो । अहिलेको समयमा पनि जात अनुसारको पेशा सम्हाल्न कोही बाध्य हुनेछैन । त्यसैले चाहे आरन नै किन चलाउन नपरोस, चाहे सहनाइ नै किन बजाउन नपरोस्, यस्तो पेशालाई जातसँग मेल गराउनु कदापी हुँदैन । किनकी पेशा केवल कर्म हो । जसले जुन पेशा पनि अंगाल्न स्वतन्त्र छ । यसलाई जातमा दाँजेर तिखो औला तेर्साउन छाडौं । स्वतन्त्र रुपमा आफूलाई मन परेको पेशा अंगाल्न दिऔं ।