सालबारीमा सुम्निमा पारुहाङको प्रतिमा स्थापित « Yalambar Times
१३ असार २०८१, बुधबार

सालबारीमा सुम्निमा पारुहाङको प्रतिमा स्थापित


यलम्वर टाइम्स
३० जेष्ठ २०८१, बुधबार १२:४१

अर्जुनधारा । किराँत राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राईले सांस्कृतिक आन्दोलनबाटै सत्तापक्षलाई खबरदारी गर्न सकिने बताएका छन् ।

नेपालको परिचय विविध जाति र त्यसभित्र मनाइने पर्वले विश्वलाई दिलाएको छ । तर नेपालको सत्ताधारी दल हाम्रो विविधतालाई विदेशमा बेचेर राज गरिरहेको छ । त्यस्ता व्यक्ति वा दलप्रति सचेत रहन आग्रह गरेका छन् ।

आदिवासी थातथलो भएको किराँत प्रदेशमा यति बेला उभौली चाड घन्किरहेको छ । प्राकृतिक पुजक भएको कारण यो बेला धर्तीलाई पूजा गरेर अन्न उत्पादन र आफन्तलाई मीठो मसिनो खुवाएर संस्कृति बचाउनुपर्ने भएको हुँदा सत्ता पक्ष प्रकृति पुजकहरुको उन्नतिमा सकरात्मक नदेखिएको हुँदा ढोल, झ्याम्टामार्फत आवाज घन्काउँदै अधिकार माग्नुपर्ने दिन आएको बताए ।

लोकतन्त्रमा सबै सम्मान र सबै उन्नतिको बाटोमा राज्यले डोहोर्याउनुपर्ने हुन्छ तर, ब्राम्हणवादी सत्ता आदिवासी माथि सकरात्मक नदेखिएको अवस्था छ ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अध्यक्ष गणेश राईले पहिचानवादी शक्ति भनेकै आदिवासी हुन् । तिनको उन्नति र प्रगतिको लागि एक हुन बाहेक अर्को विकल्प नरहेको बताए ।

किराँत राई यायोक्खा अर्जुनधारा समितिले पर्यटकीय क्षेत्र मुन्धुमी पार्क सालबारीमा आयोजना गरेको साकेला उभौली चाडमा अन्य विशिष्ट अतिथि पूर्व प्रशासक गीताकुमारी राई अग्रज पत्रकार दिपीन राई, जिल्ला सहसचिव चिजा राई लगायतले उभौली पर्वका विषयमा आ–आफ्ना भनाई राखेका थिए ।

यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भूपा राईले गरेकी थिइन् भने सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए ।

सुम्निमा पारुहाङको प्रतिमा अनावरण

किराँत राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तथा खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई र निर्माण कर्ता समाजसेवी कुसुम राईले संयुक्त रुपमा मुन्धुमी पार्कमा रहेको सुम्निमा पारुहाङको प्रतिमा अनावरण गरेका थिए ।

अनावरण कार्यक्रममा प्रमुख अतिथि युवाराज राईले सुम्निमा पारुहाङको प्रतिमा स्थापित गर्न सहयोग गर्नुहुने डा. उज्वल राई, कुसुम राई, भर्तबहादुर राईप्रति धन्यवाद प्रदान गर्दै यहाँहरुलाई इतिहासले मूल्याङ्कन गर्ने बताएका थिए ।

सोही दिन मुन्दुमी पार्कमा रहेको खुवालुङलाई पूजा गर्दै मुन्दुमी थलो साल्पा पोखरीलाई सम्मान गर्दै सुम्निमा पारुहाङको प्रतिमामा पूजापाठ समेत गरिएको थियो ।

पुजारी सुशिला राई ‘खुशे’ले तीन चुल्हामा पूजा गर्दै उपस्थित साकेला टोली, अन्य पाहुना र अतिथिहरुलाई बल शक्ति मागिदिएका थिए ।

झापा जिल्ला भरिका २४भन्दा बढी साकेला नृत्यको सहभागिता रहेको थियो भने प्रतिमा निर्माणकर्ता डा. उज्वल राई र कुसुम राईलाई प्रमुख अतिथि युवराज राईले सम्मानपत्रले अभिनन्दन गरेका थिए ।

कार्यक्रममा खाम्बातिम अर्जुनधाराका अध्यक्ष तथा पूर्व उपाध्यक्ष क्या. शिवकुमार राईले मुन्दुमी ग्रन्थलाई समातेर तयार पारिएको बाँसुरी धुन प्रस्तुत गरेका थिए ।

उनको धुनले उपस्थित यायोक्खा प्रेमीहरुलाई एकछिन भए पनि आनन्दित तुल्याएको थियो । कार्यक्रममा बोर्ड सदस्य नरेन्द्र राई, जिल्ला सदस्य हर्कराज खालिङलाई, मानबहादुर राई, गौरीमान राई, अर्जुन राई लगायत यायोक्खा नेताहरुको सहभागिता रहेको थियो ।

समापन हुन लाग्दा बर्सिएको पानीको प्रवाह नगरी साकेला सिलीका नेतृत्व सिली माङ्पा लगायत कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सहभागि कलाकार टोलीहरुलाई प्रमाणपत्र र गाडीभाडाको व्यवस्था गरिएको सचिव सिंहबहादुर राईले बताए ।