बीज वृद्धिका लागि अर्जुनधारामा धान बालीको निरीक्षण « Yalambar Times
१२ असार २०८१, मंगलवार

बीज वृद्धिका लागि अर्जुनधारामा धान बालीको निरीक्षण


यलम्वर टाइम्स
३१ जेष्ठ २०८१, बिहीबार ११:१०

अर्जुनधारा । चैते धानको बीज वृद्धि गर्ने उद्देश्यले बीज वृद्धि कार्यक्रम अन्तर्गत नगरका विभिन्न क्षेत्रमा लगाइएको धान बालीको अनुगमन तथा निरीक्षण गरिएको छ ।

धान बाली कटाई अघि धानको अवस्था कस्तो छ, मूल बिउ उत्पादनका लागि कहिले कटाई गर्दा उपयुक्त हुन्छ भन्ने जानकारी गराउन कृषि विज्ञहरुको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरिएको बताइएको छ ।

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था, जुट बाली अनुसन्धान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण, अर्जुनधारा कृषि शाखा र कृषकहरुको समन्वयमा अर्जुनधारा नं. वडा २, ४, ५, ७ र १० को एक सय हेक्टर क्षेत्रफलमा चैते धान बाली लगाइएको संस्थाका अध्यक्ष प्रत्युस आजाद रानाले बताए ।

उनले चैते धान बाली बीज वृद्धि कार्यक्रम अन्र्तगत चैते धानको मूल बीज चैते–५ र हर्दिनाथ–१ धान लगाएको बताए ।

अध्यक्ष रानाले अनुगमनको क्रममा धान बालीको अवस्था राम्रो भएको बताउँदै एक लाख ५० हजार केजी उन्नत बीउ र ५० हजार केजी प्रमाणित बीउ उत्पादन गर्ने बताए ।

सहकारीसँगको समन्वयमा बीज वृद्धि कार्यक्रमको लागि अर्जुनधारा कृषि शाखाले ४ लाख ५० हजार, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीले एक लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३५ बोरा धानको बीऊ तथा नगद उपलब्ध गराएको बताइएको छ ।

अनुगमनमा संस्थाका अध्यक्ष रानासँगै जुटबाली अनुसन्धान कार्यक्रम प्रमुख सन्तोष त्रिपाठी, धान बाली विज्ञ सुजन कार्की, बीऊ विजन प्रयोगशाला झुम्काकी खडा बाली निरीक्षक फूलकुमारी चौधरी, संस्थाका सदस्य खेम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

टोलीले अर्जुनधारा–४ र ७ का कृषकहरु केदार खड्का, लीलाबहादुर कटुवाल, रीतादेवी कार्की, मदनराज भट्टराई लगायतको धान बालीको अनुगमन तथा निरीक्षण गरेको थियो ।