ताप्लेजुङः पछिल्लो तीन वर्षमा पहिरोमा परी १४ को मृत्यु « Yalambar Times
१२ असार २०८१, मंगलवार

ताप्लेजुङः पछिल्लो तीन वर्षमा पहिरोमा परी १४ को मृत्यु


यलम्वर टाइम्स
१ असार २०८१, शुक्रबार १२:४४

[प्रयास लिम्बू]

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दु टोलमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ४८ वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरु गङ्गा र जमुनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरु रहेका छन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार बिहीबार राति करिव १ः३० बजेतिर घरभन्दा करिव दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पत्ती र जुम्ल्याहा छोरीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे खबर भएपछि तत्काल नजिकै रहेको सिँवा प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थल पुगेर पहिरोबाट शव निकाल्नेलगायत उद्धारको काम गरेको प्रनाउ रावलले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो ।

खेजेनिमकै गढीडाँडा टोलका योगेन्द्र साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको छ । बिहीबार राति नै करिव १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको हो ।

घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् । भाग्ने क्रममा साम्रा र उनकी चार वर्षीया छोरी घाइते भएकी छिन् । घाइते बाबु छोरीको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता बिहीबार राति खेजेनिममा गएको पहिरो र मङ्गलबार राति र बुधबार बिहान जिल्लाको विभिन्न ठाउँमा गएको बाढी पहिरोले ५५ वटा पशुचौपाया परेका छन् । अविरल वर्षापछि बुधबार बिहान मात्र तमोर नदीसहित विभिन्न खोलामा गएको बाढी पहिरोले काठेपुल बगाउनुका साथै सडकहरुमा क्षति पुग्दा फक्ताङ्लुङ गाउँपालिकाको विभिन्न वडामा यातायात अवरुद्ध भएका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २३.६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा बाढी पहिरोका कारण १० जनाले ज्यान गुमाइसकेका छन् ।

विपद् व्यवस्थापन समितिको तथ्याङ्कले आव २०७७-७८ मा पाँच जना, आव २०७८-७९ मा दुई जना र आव २०७९-८० मा तीन जनाको मृत्यु भएको छ भने हाल बिहीबार भएको पहिरोमा परी ४ जना गरी १४ जनाको ज्यान गुमेको छ ।