गजाधरले माग्यो हेड सरको परिचय « Yalambar Times
२ श्रावण २०८१, बुधबार

गजाधरले माग्यो हेड सरको परिचय


यलम्वर टाइम्स
२ असार २०८१, शनिबार ०१:५७

[दिपीन राई]

उमेरले पाको हुँदै जाँदा जो कोहीलाई बिरक्त त चल्छ नै । गजाधरलाई त्यस्तै भएर नेपाल आएको हो रे ! पत्रकार काजीसँग बिदा मागेर लुरुलुरु पश्चिम आउँदै गर्दा सालबारी स्थित बलिराज इङनामको घर छेउमा आईपुग्छन् । त्यस चोकमा एक अर्धकदको मूर्ति उभिएको देख्छन् र मनमनै सम्झन्छन्, हरे हरे मान्छेहरुले मान्छे मारेपछि यसरी उभ्याएर सम्मान पनि गर्दा रहेछन् ।

त्यो मूर्ति ०२८ सालमा राजनीतिक किचलोबाट मारिएका बुटन चौधरीको हो । चौधरीको मूर्ति हेरिरहेका बेला गजाधरसँग मनबहादुर लिम्बूसँग भेट हुन्छ । यसै बीच मनबहादुर नजिक पुगेर भन्छन्, ‘हैट ! दिउँसैमास लुरुलुरु हिंड्नु हुन्छ ? डर लाग्दैन हजुर !’

यसरी प्रश्न तेर्साएपछि गजाधरले राम्ररी मनबहादुरलाई हेर्छन्, अनि भन्छन् –‘हैन ! तपाईको आँखा र मेरो आँखा उस्तै छ । तपाईको नाक र मेरो नाकमा अलिक फरक छ । तपाई संसार देख्नु हुन्छ, म पनि देख्छु । फरक तपाईको दुइ वटा खुट्टा छ, मेरो ४ वटा । रात र दिन तपाईलाई पनि लाग्छ, मलाई पनि । तपाई घर बनाएर बस्नु हुन्छ हामी जंगलमा त्यति त फरक हो नि ! त्यसैले हामी दिउँसै हिंड्दा अचम्म मान्नुपर्ने के छ र ?’

‘हैन हजुर ! दिउँसोमास हिंड्दा मान्छेले तपाईहरुलाई आक्रमण गर्छन् । है है र हुई हुई गरेर अत्याउँछन् अनि तपाईहरुलाई पनि रिस उठ्दो हो । तपाईहरु पनि सहेर बस्न सक्नु हुन्न त्यही बीच द्वन्द्व चर्किएर अझ कोलाहल हुन्छ होला भनेर सम्झाएको नि !’

सानो कद झुस्स दाह्री पालेको देखेर गजाधरले प्रश्न गरे, ‘तपाईको पूरा परिचय पाउँ त बाबु ।’

‘हजुर म लेखक, साहित्यकार पनि हुँ । मेरो नाम मनबहादुर लिम्बू, साहित्यमा ‘अभागी थेगुबा’ पनि भन्छन् । यही पर्तिर महारानीगञ्ज मावि छ, त्यही विद्यालयको प्रधानाध्यापक भएर काम गर्दैछु ।’

‘त्यसो भए पत्रकार मोहन काजीलाई चिन्नु हुन्छ ?’ गजाधरको प्रश्नमा हेड सरले भने, ‘चिन्छु–चिन्छु, अरु पत्रकार साथीहरुसँग पनि चिनजान छ ।’

ल म को हुँ ? काजीलाई फोन गरेर सोधे हुन्छ है ! भन्दै पश्चिम सालबारी जंगलतर्फ लम्कन्छन् । त्यतिकैमा हेड सरले अनुरोध गर्न पुग्छन्, ‘हजुर ! दिउँसोमास शनिश्चरे बजार नपसिदिनु होला । त्यहाँ नराम्रो हुनसक्छ ।’

‘हेड सर यो धर्तीमा प्राणी जातिहरु मध्ये तपाईहरु जस्तै हामी पनि हौं । भगवानले यति फरक बनाईदिए तपाईहरु मानव हामी जनावर । के जनवारहरुको बाँच्न पाउँने, हिंड्न पाउँने, खान पाउँने, रमाउन पाउँने कुनै अधिकार छैन ?’

उनको अनुरोधप्रति सम्मान जनाउँदै सालबारी जंगलमै बस्ने मनसाय राखे र भने, ‘हेड सर यो धर्तीमा प्राणी जातिहरु मध्ये तपाईहरु जस्तै हामी पनि हौं । भगवानले यति फरक बनाईदिए तपाईहरु मानव हामी जनावर । के जनवारहरुको बाँच्न पाउँने, हिंड्न पाउँने, खान पाउँने, रमाउन पाउँने कुनै अधिकार छैन ?’

हेड सरले गजाधरको प्रश्न पूरा हुन नदिँदै सबै अधिकार हजुरहरुलाई छ तर मानव र तपाईहरु बीचको सम्बन्धलाई भगवानले टाढा बनाईदिएपछि बीच–बीचमा एकले अर्कालाई हेर्ने दृष्टिकोण फरक बनाएकै कारण द्वन्द्व सिर्जना भएको होला ।

हुन सक्छ हेड सर । तर तपाईहरु जस्तो शिक्षकशिक्षिकाहरुले विद्यार्थीहरुलाई शिक्षा दिँदा हामी जस्ताको राम्रा गुन र हेर्ने दृष्टिकोण सकरात्मक राखिदिनुभए भोलिका ती कर्णधारहरुले मानव र हात्तीको सम्बन्ध प्रगाढ बनाउने थिए होलान् । तर हात्ती यस्तो र त्यस्तो, हात्तीले मान्छे मार्छ, सबैको घर, गोठ भत्काइदिन्छ भनेर नकरात्मक भ्रम छरि दिएपछि यसरी दिउँसो हिंड्दा बालकदेखि वयस्कहरुले हामी माथि आक्रमण गरेका हुन् ।

हेड सर ! तपाईलाई पनि थाहै होला उहिले उहिले हामीले सेवन गर्ने आहारविहार जंगलमा प्रशस्तै हुने गरेको थियो । हामी जंगलबाट बाहिर निस्केर मानवहरुले उत्पादन गरेको अन्न कहिल्यै सेवन गरेनौं । जंगलमै हामीले खाने कोला, थाक्कल, जमुना, बाँस, अंगेरीहरु थिए । प्रशस्तै घाँसहरु थियो । हामी त्यही खान्थ्यौं । उतै रमाउँथ्यौं । तिरतिरे धारा, पोखरी तिर पानी खाने गरेका थियौं । तर पछि मानवहरुले गाई चरण गरेर हामीले खाने आहारहरु मासी दिए । अनि घरपालुवा गौरी (गाई), साँढे (गोरु) र अन्य जनवारहरुलाई ल्याई मासी दिएपछि हाम्रा सन्तानहरु पनि मानव जातिले उत्पादन गरेको खानेकुरा खोजी खान खेतबारीमा आउने गरेका हुन् ।

हेड सर तपाई आफै भन्नुहोस्, ‘हामी बस्ने कित्तामा मानव जातिले उपद्रो नगरी दिने हो भने हामी तपाईहरुसँग द्वन्द्व गर्न आउँदैनौं । तपाईहरुले नानीहरुलाई पढाउने पाठ्यक्रममा हाम्रा पीडा र मार्काबारे पुस्तक लेखिदिएर पढाई दिनु भयो भने मानव र हाम्रो सम्बन्ध सुमधुर भएर जाने निश्चित छ । म ठोकुवा गर्छु ।’

गजाधर बाको कुरा सुनेर हेड सर गम्भीर भएर मनमनै सम्झन्छन्, यिनीहरुले खाने आहार त सामुदायिक वनहरुले वन जंगल संरक्षणको ठेक्का लिएर चलाएका छन् । सानो अंश बजेट निर्माण गरेर प्रत्येक सामुदायिक वन तथा वन महासंघले जंगलमा हात्ती तथा जनावरहरुले खाने बोट विरुवा लगाइदिए राम्रो हुनेरहेछ । सरकारी निकायमा रहेका वन कार्यालय अन्तर्गत ठाउँ–ठाउँका सवडिभिजन वन कार्यालयले हात्ती वा जनावरहरुले खाने बोट विरुवा सामुदायिक वन समितिलाई रोप्ने र हुर्काउने काममा अनुरोध गरेका भए अलिक राम्रो पनि हुने थियो । त्यतिमात्र होइन, जंगलको शोभा पनि हुने थियो । वन सुरक्षामा खटिएका कर्मचारीहरुले का पनि पाउने थिए र सरकारको लगानीको प्रतिफल पनि हुने थियो ।
अलमलिएका हेड सरलाई गजाधर बाले भने, ‘के सोच्नुभएको भाई !’

‘होइन–होइन बा मेरो विद्यालयको समय भयो म लागे तपाई आज यही जंगलमै रहनु होला रात परेपछि मात्र लाग्नु है ।’ यति भनेर हेड सर विद्यालयतर्फ लागे ।

हेड सरको सुझावलाई सम्झेर दिउँसो भरी गजाधर सालबारी जंगलमै रहे । जंगलमा कान हल्लाउँदै पुच्छर चलाउँदै उभिएर रहेको बेला स्थानीय बृख प्रधानले दिउँसोमास घुम्दै आउँदा गजाधरलाई देख्छन् । गजाधरको आँखा पनि बृखमाथि पर्छ । तर बृखले गजाधरलाई केही नभनी नचलाई हतार–हतार आफ्नो घरतर्फ लाग्छन् ।

सालबारी जंगल आदिवासी जनजातिहरुको दाहसंस्कार गर्ने थलो पनि हो । एक हुल मानिस मान्छेको लास बोक्दै रुदै कराउँदै जंगलतर्फ आएको गजाधरले देख्छ र सम्झन्छ । यो जंगलमा त बितेका मान्छेहरुलाई दबाउने थलो पनि रहेछ । हेर मानवहरु कति सुरक्षित ‘बाँच्दा शहरमा, मर्दा जंगलघारीमा’ । जंगलघारीमा दबाएको चिहानमाथि कसैले झण्डा गाडेको, कसैको फोटो, कही सिमेन्टले बारेको देख्छन् ।

उहिले उहिले शनिश्चरे, बुधबारे पाराखोपी क्षेत्रमा भिजिटर काम गरेका नवल फाइवालीको चिहानमाथि झार उम्रेको कारण सफा पार्दै गरेको दृश्य पनि देख्छन् । जंगलमा दिउँसो भरीको बसाईसँगै देखिएका दृश्यमा मृतक मानिसलाई दबाएर घर फर्केका बेला दबाइएको मृतकको चिहान माथि फलफूल तथा केराका विरुवा रोपिदिएको भए कसै कसैलाई राम्रो हुने थियो । त्यो कुरा वन सुरक्षामा रहेको सामुदायिक वनले भूमिका खेले आज जंगलमा कंक्रिट चिहानको शहर हुने थिएन । सम्झदै जाँदा समयले नेटो काट्छ । दिउँसो भरी जंगलमै समय बिताएका गजाधर साँझ झपक्कै परेपछि बिहानपख पश्चिम शनिश्चरे बजारतर्फ निस्कन्छन् ।