भेलाले दलको आवश्यकता महशुस गरे पार्टी निर्माण गर्नेछौंः पहिचानवादी मोर्चा « Yalambar Times
१४ असार २०८१, बिहीबार

भेलाले दलको आवश्यकता महशुस गरे पार्टी निर्माण गर्नेछौंः पहिचानवादी मोर्चा


यलम्वर टाइम्स
६ असार २०८१, बुधबार ०७:१७

अर्जुनधारा । पहिचानवादी मोर्चाका केन्द्रीय अध्यक्ष डा. महेन्द्र लावतीले अहिले पहिचानवादी समूह गठन गर्ने र त्यसले आवश्यकता महशुस गरे पहिचानवादी पार्टी निर्माण गरेर जाने बताएका छन् ।

अर्जुनधारामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डा. लावतीले अमेरिकी शैलीबाट निर्वाचनमा जान सकिएन भने यो देशमा आदिवासी जनजातिको उन्नति हुन नसक्ने भन्दै सो कुरा बताएका हुन् ।

‘पहिलो चरणमा हामी पहिचान चाहनेहरुको समूह निर्माण गर्नेछौं’ अध्यक्ष डा. लावतीले भने, ‘त्यसपछि पहिचानवादीको आम भेला गर्नेछौं, त्यसले दलको आवश्यकता महशुस गरे पार्टी निर्माण गरेर जानेछौं ।’

उनले पहिचानवादी मोर्चा गठनसँगै निर्वाचन आयोगमा दर्ता गरेर एउटै चुनाव चिन्हमा ढ्वाङ थाप्ने र बढीभन्दा बढी प्रतिनिधित्व गराएमात्र उद्देश्य अनुरुप आदिवासी जनजातिले हक प्राप्त गर्ने बताए ।

कार्यक्रममा गोपाल किराँतीको समेत उपस्थिति रहेको थियो । उनले भने यस विषयमा बोल्न चाहेनन् ।

कार्यक्रममा बुद्धिजीविको तर्फबाट देशु वनेम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट दिपीन राई, लिम्बूवानी क्षेत्रबाट खेसेहाङ खजुमले प्रश्न राखेका थिए ।

अन्तरक्रियामा आएका प्रश्नको जवाफ दिँदै अध्यक्ष डा. लावतीले आदिवासी जनजातिको उन्नति र प्रगतिको एकमात्र बाटो पहिचानवादी मोर्चा भएको बताए ।

कार्यक्रममा अग्नीमाया मेचे, कोपिला लावती, भरत श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ लगायतले डा. लावतीलाई प्रश्न राखेका थिए ।

डा. लावती मुकुम्लुङको २ दिने वृक्षरोपन कार्यक्रमसँगै प्रत्येक जिल्लामा मोर्चाका विषयमा सम्वाद गर्दै झापा आइपुगेका थिए ।