भजन गायक याम भण्डारीले तयार पारे रामायणको भक्तिमय भजन « Yalambar Times
१६ असार २०८१, शनिबार

भजन गायक याम भण्डारीले तयार पारे रामायणको भक्तिमय भजन


यलम्वर टाइम्स
१३ असार २०८१, बुधबार १०:४७

अर्जुनधारा । आदिकवि भानुभक्त आचार्यको रामायणलाई भजन गायक याम भण्डारीले श्रव्य दृश्यसहित संगीतमय ढंगबाट बजारमा ल्याएका छन् ।

युवा पिढीहरुलाई रामायणका कथा, त्यसभित्र रहेका शब्दले दिन खोजेको सन्देशलाई भजनबाट ल्याएको बताउँदै बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि व्यासाचार्य गुरु छन्दुराम भण्डारीले भक्तिमय तरिकाबाट ल्याइएको रामायण कथा सर्वसाधारणका लागि कर्णप्रिय रहने बताए ।

अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुबेर सुवेदीको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा भजन गायक भण्डारीले दिन खोजेको सन्देश समाजको लागि अत्यन्तै उपयोगी र उदाहरणीय भएको चर्चा गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा डा. पुण्यप्रसाद सिग्देल, प्रा. कोमलप्रसाद पोखरेल, साधुटारका व्यासाचार्य गुरु लक्ष्मी खतिवडा, साहित्य चौतारीका संस्थापक तथा भजन गायक देवीभक्त श्रेष्ठ, होमनाथ खत्री लगायतले महाभारत कथा बुझ्नका लागि भक्तिमय संगीतबाट प्रशारित गरिएको रामायणलाई ध्यान दिए राम्रो हुने बताएका थिए ।

आचार्य विष्णुदेव खतिवडाले सञ्चालन गरेको कार्यक्रममा कवि खगेन्द्र खुशीले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त श्रव्य दृश्यसहितको रामायण याम भण्डारीको युट्युब च्यानल र धर्म दर्शन च्यानलबाट असार २९ गते बिहान प्रशारण गरिने समेत आयोजकले जनाएको छ ।

अर्जुनधारा जलेश्वर धामको श्रवण कक्षमा भएको कार्यक्रममा साहित्यकार कृष्ण पौडेल, गीतकार हस्त परियार, महिला नेतृ चन्द्रकला भण्डारी, राधा बुढाथोकी, रमा चापागाई, सञ्चारकर्मी दिपीन राई, केशव भट्टराई, पिनाकी कोइराला लगायतको आतिथ्य रहेको थियो ।