रोङ गट ट्यालेन्टः फाइनलमा विभिन्न विधाका १५ प्रतिस्पर्धी « Yalambar Times
२१ असार २०८१, बिहीबार

रोङ गट ट्यालेन्टः फाइनलमा विभिन्न विधाका १५ प्रतिस्पर्धी


यलम्वर टाइम्स
१९ असार २०८१, मंगलवार ०९:५२

रोङ । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् ।

गायन, नृत्य र कविता विधामा पाँच–पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीन वटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर, अनिस राई, तिलकराज कोइराला, तेजकुमार चौलागाईं र सुस्मा राई रहेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ ।

यस्तै, गायन विधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास, एलिना राई, अर्जुन खड्का र देवधन राईले फाइनलको यात्रा तय गरे ।

नृत्य विधामा निरुता राई, प्रज्ञा भुजेल, आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।

‘रोङ गट ट्यालेन्ट’ को फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार फाइनल रोङ–३ स्थित पाम्कोल सहकारी भवनमा हुनेछ । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने छन् ।

‘यस वर्षको प्रतिस्पर्धामा रोङ गाउँपालिकाका विभिन्न प्रतिभावान कलाकारहरूले भाग लिएका छन् । फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीन वटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ’ अध्यक्ष स्याङ्बोले भने ।

आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।

रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

‘सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहेनत गर्न आग्रह गर्दछु । साथमा स्थानीय सरकार हुनेछ’ उनले भने ।