कुलतकै कारण बढ्दैछ चोरीका घटना, ६ प्रहरी नियन्त्रणमा « Yalambar Times
२२ असार २०८१, शुक्रबार

कुलतकै कारण बढ्दैछ चोरीका घटना, ६ प्रहरी नियन्त्रणमा


यलम्वर टाइम्स
२० असार २०८१, बुधबार १२:१७

अर्जुनधारा । छिटो धन कमाउने माध्यमलाई समातेर कुलतमा फसिकेकाहरु यतिबेला चोरी, डकैती केशमा देखा परेका छन् ।

आर्थिक अभावले लागूऔषध ओसारपोसारको कारोबारसँगै सेवन गर्न सुरु गरेपछि नजानिदो तरिकाबाट कुलतमा फसेर छिमेकी तथा कमजोर परिवारमा आक्रमण गर्न थालेका देखिन्छन् ।

विशेष गरी शहरीया बस्ती तिर चोरी, डकैती बढेको पाइन्छ भने गाउँबस्ती तिर पनि त्यसको असरले छोएको पाइन्छ । गाउँबस्तीमा रहेर कुलतमा फसेका अधिकांश युवाहरु यति बेला छिमेकीको बासको तामा चोरेर हैरान गरेका छन् ।

तामा प्रति केजी १२० रुपैयाँ पर्छ भने तामा चोरेर ल्याउनेहरुले रु. ६० मा बेच्ने गरेका छन् । यतिबेला गाउँबस्तीमा तामा चोरले हैरान पारेको समाज कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंको भनाइ छ ।

कुलतमै फसेका केही युवाहरुले बिर्तामोडमा वृद्ध महिलामाथि गरेको हत्या एउटा नमूना हो । यस्ता घटना अन्य ठाउँमा नदोहोरिएलान् भन्न सकिन्न ।

यस्ता समस्यालाई न्यूनिकरण गर्नका लागि स्थानीय सरकार, प्रहरी प्रशासन, सचेत नागरिक र पीडित अभिभावक बीचको समिति निर्माण गरेर फसिकेका युवाहरुलाई एक ठाउँमा उभ्याई पुनर्ताजगी तालिमसँगै रोजगारको व्यवस्था मिलाउन सके न्यूनिकरणको बाटो खुल्न सक्छ ।

हालै अर्जुनधारा र बिर्तामोड क्षेत्रमा विभिन्न मितिमा चोरीका घटनामा संलग्न रहेका छ जनालाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कमल–३ का सुस्मन थापा (२२), कृष्ण थापा (२७), अर्जुन विश्वकर्मा (४३), नितेश बराईली, मेचीनगर–१० का सुरेशकुमार दास (४०) र अर्जुनधारा–११ का सुनिललाल राजवंशी (५१) रहेका छन् ।

प्रहरीका अनुसार कमल–३ का कृष्ण थापा चोरीको सुनको औठी बिक्री गर्ने कार्यमा संलग्न प्रतिबादी हुन् । त्यस्तै सोही स्थानका अर्जुन विश्वकर्मा र नितेश बराईली सुनको औठी खरिद गर्ने प्रतिबादी हुन् । उनहरुले श्री पाथिभारा बराइली ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।

त्यसैगरी सुनको औठी खरिद गर्ने प्रतिबादीमा मेचीनगर–१० का सुरेशकुमार दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले प्रतिक्षा भेराईटी किराना पसलका सञ्चालन गर्दै आएका छन् भने अर्जुनधारा नगरपालिका वडा नं. ११ गिरी बन्धु टिस्टेटमा काम गर्दै बगानको क्वाटरमा बस्ने सुनिल राजवंशी सुनको औठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गर्ने प्रतिबादी भएको प्रहरीले जनाएको छ ।

यसअघि अर्जुनधारा ११ मा दुर्गादेवी श्रेष्ठ, उमा श्रेष्ठको घरमा गत जेठ १८ गते र बिर्तामोड ५ नयाँ नमुना टोलमा गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो ।

घटनाको सूचना इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा प्राप्त भएपछि उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरुलाई गत असार १७ गते चोरीका सामानहरुसहित नियन्त्रणमा लिएको थियो ।