दुर्गा–चन्द्र मेमोरियल ट्रष्टको सचेतनामूलक कार्यक्रम ४० हजार दृष्टिबिहीन कुरिरहेका छन् नेत्रदान « Yalambar Times
११ श्रावण २०८१, शुक्रबार

दुर्गा–चन्द्र मेमोरियल ट्रष्टको सचेतनामूलक कार्यक्रम ४० हजार दृष्टिबिहीन कुरिरहेका छन् नेत्रदान


यलम्वर टाइम्स
१५ श्रावण २०७४, आईतवार ०८:४७

 

मेचीनगर / नेपालमा ४० हजार मानिसहरु आँखामा फुलो परेर संसार हेर्नबाट वञ्चित छन् । तर अरु कसैले नेत्रदान गरिदिने हो भने उनीहरुले फेरि संसार हेर्न पाउने सम्भावना छ ।

यो कुरा विराटनगर आँखा अस्पतालका आँखा बैङ्क प्राविधिक शिवचरण मेहताले बताएका हुन् ।

मेची नेत्रालयको सभाहलमा दुर्गा चन्द्र मेमोरियल ट्रस्टले शनिवार विहान आयोजना गरेको नेत्रदान सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्राविधिक मेहताले उक्त जानकारी दिएका हुन् ।

नेपालमा आँखाको कर्निया (नानी) प्रत्यारोपण सेवा सुरु भइसकेको तर नेत्रदानको अभावमा माग भएका सबैलाई प्रत्यारोपण गर्न नसकिएको उनले बताए । त्यसका लागि नेत्रदानको सङ्ख्या बढाइनु पर्ने उनको सुझाव छ ।

नेपालमा नेत्रदान गरेका व्यक्तिहरुबाट मरणोपरान्त आँखाको कर्निया (नानी) झिकेर आँखा बैङ्कमा राख्ने र अति आवश्यकताको आधारमा दृष्टिहीनहरुमा प्रत्यारोपण गरिने सेवा सुरु भइसकेको छ ।

यसका लागि काठमाडौँमा तिलगङ्गा अस्पताल र पूर्वमा विराटनगरको विराटनगर आँखा अस्पतालमा आँखा बैङ्कको सुविधा रहेको छ ।
नेत्रदान गर्नेहरुले जीवित छँदा एउटा इच्छा पत्र भर्नु पर्ने र उनको मृत्यु पश्चात परिवारबाट खबर पाएपछि आँखा बैङ्कबाट प्राविधिकहरु आएर आँखाको नानी झिकेर लैजाने मेहता बताउँछन् ।

हालसम्म विराटनगरमार्फत ६ हजार ५ सयले इच्छापत्र भरेको उनले जानकारी दिएका छन् । नेपालमा वार्षिक ८ सय ५० वटा कर्निया सङ्कलन हुने गरेको छ ।


मेची नेत्रालयका प्रमुख तथा दुर्गा चन्द्र मेमोरियल ट्रस्टको अध्यक्ष डा. शरदचन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा ट्रस्टकी उपाध्यक्ष पुनम प्रधानले ट्रस्टको स्थापना र उद्देश्यका बारेमा अवगत गराएकी थिइन् । कार्यक्रमको सञ्चालन नेत्रालयकै परशुराम भट्टराईले गरेका थिए ।

सोही अवसरमा मेचीनगरका समासजेवी कृष्णप्रसाद उप्रेती, मेदनी खरेल लगायतले नेत्रदानका लागि इच्छा पत्र बुझाएका छन् ।

समाजका विभिन्न लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा मेची नेत्रालयका कर्मचारी एवम् पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।
भविष्यमा ट्रस्ट आफैले नेत्रदान गरेकाहरुको मरणोपरान्त कर्निया सङ्कलन गर्ने योजना बनाएको छ ।